काठमाडौं। लक्ष्मी टेक्नो प्लास्ट लिमिटेडले १०० अंकित दरका १४,००,००० कित्ता प्रारम्भिक निष्कासनका लागि नेपाल एसबिआई मर्चेन्ट बैंकिङलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ। कम्पनीले १४ करोड बराबरको अंकित मूल्यमा प्रिमियम रकम थप गरी साधारण सेयर जारी गर्नेछ।
सम्झौतापत्रमा लक्ष्मी टेक्नो प्लास्टका प्रबन्ध निर्देशक अञ्जनीनन्दन मारु र नेपाल एसबिआई मर्चेन्ट बैंकिङका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले हस्ताक्षर गरे।
लक्ष्मी टेक्नो प्लास्ट २०७२ असोज १८ मा प्रालिको रुपमा स्थापित भई कम्पनी ऐन, २०६३ बमोजिम पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको हो। कम्पनीले प्लास्टिकजन्य सामग्री सिपिभिसी÷पिभिसी पाइप्स तथा फिटिंग्स्, प्लास्टिक फर्निचर, प्लास्टिक पानीट्यांकी, औद्योगिक तथा घरायसी प्रयोजनका प्लास्टिक बाल्टिन उत्पादन गर्दै आएको छ।
यस्तै, प्लास्टिकजन्य घरेलु उत्पादन डस्टबिन, एयर टाइट जार, साबुन बार बक्स, फ्रिज स्ट्यान्ड, मेलामाइन टेबुल वेयर (प्लास्टिकका थाल, कचौरा, चम्चा) लगायत सामग्री उत्पादन गर्दै आएको छ।
यसले सिपिभिसी÷पिभिसी पाइप र फिटिंग्सका लागि मुख्यतया ओमशिवम् पाइप्स एन्ड फिटिंग्स् तथा फर्निचर र अन्य घरेलु सामग्रीका लागि मेरिगोल्ड नामक ब्रान्डमा देशव्यापी रुपमा आधिकारिक वितरकमार्फत उत्पादन बिक्री वितरण गर्दै आएको छ।