काठमाडौं। देश र जनताका लागि शहादत प्रदान गर्ने सहिदको सम्मानमा विभिन्न कार्यक्रमका साथ आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी सहिद दिवस मनाइँदै छ।
इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतको सम्मानमा आज विविध कार्यक्रमका साथ देशभर सहिद दिवस मनाइने परम्परा छ।
विगत वर्षमा जस्तै यस वर्ष पनि सहिदको योगदानको चर्चा गर्दै माघ १० देखि १६ सम्म सप्ताहव्यापी दिवस मनाउने कार्यक्रम जारी छ। २०१२ देखि नै तत्कालीन काठमाडौं नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ मा सहिदको सम्झनामा दिवस मनाउन थालिएको हो।
देश र जनताका लागि प्राण आहुति दिने सहिदको विशेष सम्झना गरिने दिनका रुपमा सहिद दिवसलाई लिइन्छ।
प्रजातन्त्र, नागरिक अधिकार र स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा सहिद शुक्रराज शास्त्रीलाई माघ १० मा काठमाडौंको टेकुस्थित पचलीमा, माघ १३ मा धर्मभक्त माथेमालाई सिफलमा र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ मा शोभाभगवतीमा तत्कालीन राणा शासकले मृत्युदण्ड दिएका थिए।
आज सहिद दिवसका अवसरमा बिहान शान्तिवाटिका रत्नपार्कदेखि सहिद स्मारक लैनचौरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ।
कार्यक्रममा प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्यान्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरी सहिद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेको काठमाडौं महानगरले जनाएको छ।
सहिदलाई प्रत्येक वर्ष माघ १६ मा सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो सर्वत्र सुनिन्छ। यस दिन हुने औपचारिक कार्यक्रममा जिम्मेवार अधिकारीबाट सहिदको सपना पूरा गर्न लागिपरेको प्रतिबद्धता निरन्तर आउने गरेको छ। पछिल्लो समय स्पष्ट परिभाषा नगरी सहिद घोषणा गरिएको भनी जनस्तरबाट टिप्पणी हुने गरेको छ। नेपालमा पहिलो सहिद लखन थापालाई मानिन्छ।
यसैबीच राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओलीलगायतका नेताहरुले प्रजातन्त्रका लागि जीवन आहुति दिने सहिदप्रति श्रद्धाभाव अर्पण गरेका छन्।