काठमाडौं। विगत साता लगातार सात कारोबार दिन घटेर क्रमशः उकालो लागेको सेयर बजारमा दोस्रो कारोबार दिन सोमबार दोहोरो अंकको सुधार भएको छ। यसअघि माघ ३ देखि गत बिहीबारसम्म कारोबार घटेको सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार सुधार आएको थियो।
आइतबार आएको उक्त सुधारले सोमबार पनि निरन्तरता पाएको छ। सोमबार नेप्से १०.२६ प्रतिशतले बढेर २ हजार १ सय ४.७२ को बिन्दुमा कायम भएको छ। अघिल्लो दिन आइतबार पनि नेप्से १०.३७ अंकले बढेर २ हजार ९४.४६ बिन्दुमा रोकिएको थियो।
नेप्से बढेसँगै कारोबारमा आएको सुधारले पनि निरन्तरता पाएको छ। सोमबार कुल ४ अर्ब ५६ करोड रुपैयाँ बढीको कारोबार भएको छ।
अघिल्लो दिन आइतबार कुल ३ अर्ब ८३ करोड रुपैयाँ बढीको कारोबार हुँदा गत बिहीबार ३ अर्ब ७६ करोड बढीको कारोबार भएको थियो। सोमबार कारोबारमा आएका १५० कम्पनीको सेयर मूल्य बढ्दा ८६ कम्पनीको सेयर मूल्य घटेको छ। यस्तै, ११ कम्पनीको सेयर मूल्य स्थिर छ।
सोमबार युनियन हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्टको सेयर मूल्य ९.९९ प्रतिशत र मिड सालु हाइड्रोपावरको सेयर मूल्यमा पनि ९.९९ प्रतिशत वृद्धि भएको छ।
आज सर्वाधिक सेयर मूल्य बढेका १० कम्पनीमध्ये ९ कम्पनी जलविद्युत् समूहका रहेका छन्। जलविद्युत् समूहमा सोमबार १.०८ प्रतिशतको सुधार आएको छ, जुन अन्य समूहको भन्दा बढी हो।
जलविद्युत् क्षेत्रको सेयर मूल्य बढ्दा बैंकिङ समूहमा ०.०६, माइक्रोफाइनान्स समूहमा ०.०५ र निर्जीवन बिमा कम्पनी समूहमा ०.११ प्रतिशतको गिरावट आएको छ। सोमबार गरिमा डिबेन्चर, २०८५ को सेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ।