काठमाडौं। लामो समयको रक्साकस्सीपछि अन्ततः हिमालय एयरलाइन्सले सेल्फ ग्राउन्ड ह्यान्डलिङ अनुमति पाएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले २०७७ असोजमै हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ अनुमति दिए पनि विरोध आएपछि तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले स्थगन गर्न निर्देशन दिएका थिए।
प्राधिकरणले २०७२ मा जारी गरेको ‘नेपाल नागरिक उड्डयन प्राधिकरण वायुयानको ग्राउन्ड ह्यान्डलिङ तथा अन्य भूमिस्थ सेवा सञ्चालन निर्देशिका २०७२’ मा सातामा कम्तीमा ३५ नियमित उडान गर्ने कम्पनीले आफैं ग्राउन्ड ह्यान्डलिङ गर्न पाउने व्यवस्थाअनुसार अनुमति पाए पनि सरकारले रोकेको भन्दै हिमालय एयरलाइन्स सर्वोच्च अदालत पुगेको थियो।
माघ १२ मा सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको संयुक्त इजलासले हिमालय एयरलाइन्सलाई ‘सेल्फ ग्राउन्ड ह्यान्डलिङ’ दिन प्राधिकरण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नाममा परमादेश जारी गरेको हो। योसँगै अब हिमालयन एयरलाइन्सले आफ्नो प्रक्रिया पूरा गरेर सेल्फ ग्राउन्ड ह्यान्डलिङ पाउनेछ।
सर्वोच्चबाट जारी भएको परमादेश पत्र नाइनसकेकाले आवश्यक प्रक्रिया अगाडि नबढाइएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए। प्राधिकरणको पत्र आएसँगै तत्कालै कार्यान्वयनका लागि हिमालयनलाई अनुमति दिन्छौं, सूचना अधिकारी भुलले भने।
हिमालयले सेल्फ ग्राउन्ड ह्यान्डलिङ गर्दा नेपाल वायुसेवा निगम (नेवानि)ले प्रत्यक्ष रुपमा आफ्नो आम्दानी गुमाउनेछ। निगमले आफ्नो भरपर्दो आम्दानी स्रोत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङलाई लिँदै आएको छ। ग्राउन्ड ह्यान्डलिङ गर्दा निगमलाई हिमालयनले प्रतिउडान ३ हजार अमेरिकी डलर तिर्नुपथ्र्यो। उसले साताको ३५ उडान गर्दै आएको छ।
माघ १२ मा सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको संयुक्त इजलासले हिमालय एयरलाइन्सलाई ‘सेल्फ ग्राउन्ड ह्यान्डलिङ’ दिन प्राधिकरण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नाममा परमादेश जारी गरेको हो। योसँगै अब हिमालयले आफ्नो प्रक्रिया पूरा गरेर सेल्फ ग्राउन्ड ह्यान्डलिङ पाउनेछ।
यसरी हेर्दा दैनिक ५ उडान गर्दा १५ हजार डलर दैनिक तिर्नुपर्छ। यो भनेको मासिक हिमालय एयरलाइन्सले मात्र निगमलाई ४५ लाख डलर तिर्नुपर्छ। सोमबार डलर मूल्यअनुसार प्रतिडलर नेपाली रुपैयाँ १३३. २४ पैसा रहेको छ। यसरी हेर्दा यो रकम ५ करोड ९९ लाख ५८ हजार रुपैयाँ पर्न आउँछ।
एकातिर यो रकम हिमालयनको बचत हुँदा अर्कोतर्फ निगमले भने आफ्नो आम्दानी गुमाउनेछ। अहिले निगमले ग्राउन्ड ह्यान्डलिङबापत वार्षिक ६ अर्ब बढी आम्दानी गरिरहेको छ।
ग्राउन्ड ह्यान्डलिङमा के–के हुन्छ सुविधा?
विमानस्थलमा यात्रु ‘चेकइन’ भइसकेपछि उनीहरूलाई जहाजसम्म लैजाने र जहाजमा आएका यात्रुलाई अध्यागमनसम्म ल्याउने काम गरिन्छ। ब्यागेज तथा कार्गो सामानलाई समेत त्यसैगरी जहाजसम्म लैजाने र त्यहाँबाट निकाल्नुपर्छ। जहाजबाट यात्रु झरिसकेपछि त्यसभित्र सरसफाइ हुन्छ। जहाजलाई ‘पार्किङ वे’ सम्म लैजाने र सुरक्षित राख्न सहयोग गर्ने कामसमेत ग्राउन्ड ह्यान्डलिङभित्रै पर्छ।
ग्राउन्ड ह्यान्डलिङ सेवा भन्नाले कुनै पनि विमानस्थलमा वायुयान अवतरण गरेदेखि प्रस्थान नहुन्जेलसम्म उपलब्ध गराइने सेवालाई बुझिन्छ। त्यस कार्यभित्र उडानबाट आएका यात्रु र उनीहरुको मालसामानलाई विमानस्थल टर्मिनलसम्म ल्याउने तथा प्रस्थान गर्ने यात्रुलाई विमानस्थलको यात्रु चेकइनदेखि लिएर वायुयानसम्म पुर्याउन आवश्यक सबै किसिमका कार्य र सेवालाई बुझिन्छ।
यसका लागि आवश्यक पर्ने सबै किसिमका उपकरण तथा जनशक्ति व्यवस्था पनि ग्राउन्ड ह्यान्डलिङ सेवाप्रदायककै जिम्मेवारीमा रहन्छ।
एयर इन्डियापछि हिमालयले गर्दै छ सेल्फ ग्राउन्ड ह्यान्डलिङ
अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्ने कम्पनीमध्ये एयर इन्डियाले मात्रै आफ्ना यात्रुलाई ग्राउन्ड ह्यान्डलिङ सुविधा दिँदै आएको छ। त्यसबाहेक सम्पूर्ण एयरलाइन्सको ग्राउन्ड ह्यान्डलिङ जिम्मेवारी निगमले नै पाएको थियो।पछिल्लो समय सर्वोच्चको परमादेशपछि सेल्फ ग्राउन्ड ह्यान्डलिङ गर्ने एयरलाइन्सको रुपमा हिमालय थपिएको छ।