काठमाडौं। सरकारले किलोवाटका आधारमा भन्सार निर्धारण गरेपछि सफ्टवेयरमार्फत किलोवाट घटाएर विद्युतीय गाडी आयात गरेको आंशका गरिएको छ।
अर्थमन्त्री डा. प्रकाशसरण महतले चालू आर्थिक वर्षको बजेटमार्फत कम किलोवाट क्षमताको सवारीमा भन्सार बढाएर बढी किलोवाट क्षमताको भन्सार र अन्तशुल्क घटाए पनि आयातकर्ताहरु किलोवाट क्षमता अझ घटाएर कम राजस्व तिर्न लालायित भएको अनुमान गरिएको छ।
आयातकर्ताहरुले बढी किलोवाटका महँगा गाडीको किलोवाट घटाएर किलोवाटको तल्लो सीमामा ल्याइ कर कम तिर्ने रणनीति बनाएको देखिन्छ। बाहिर बढी किलोवाटका गाडी नेपाल छिर्दा भने कम किलोवाटका देखिएका छन्। गाडी निर्माताले नेपालका लागि भनेर छुट्टै क्षमतासहितको गाडी बनाउने सम्भावना छैन।
तर, नेपाल भित्रिएका धेरै गाडीहरु किलोवाट क्षमता घटेर भित्रिएको पाइएको भन्सार विभागको अध्ययनमा देखिएको छ। सरकारले किलोवाट अनुसार भन्सार निर्धारण गरेसँगै नेपाल भित्रिएका चिनियाँ ब्रान्डका विद्युतीय गाडी आयात गर्दा कर छल्न अनेकन प्रपञ्च रचिएको अनुमान छ।
विभागले केही विद्युतीय गाडीमाथि गरेको अध्ययन र प्राप्त रिपोर्टहरुका आधारमा विद्युतीय गाडीमा ठूलो गडबढी हुनसक्ने आँकलन गरिएको हो। ‘सुरुसुरुमा आयातकर्ताले जे/जसरी हामीलाई ब्याख्या गरे त्यसैलाई पत्याइयो’ भन्सारका एक अधिकृतले भने, ‘तर, विद्युतीय गाडी आयातमा केही कम्पनीले गरेको बदमासी बाहिरिएसँगै धेरै थरिका आंशकाहरु उत्पन्न भएका छन्।’
बढी किलोवाट गाडीलाई कर छल्नकै लागि कम किलोवाट देखाएर ल्याएको हुन सक्ने भन्दै ति अधिकृतले भने, ‘अहिले नै यकिन भन्न सकिन्न। अध्ययनकै क्रममा छौं। तर, केही गडबडी छ भन्ने प्रारम्भिक अध्ययनमा देखिन्छ। भन्सारसँग प्राविधिक जनशक्ति छैनन्, बाहिरबाट जनशक्ति ल्याएर अध्ययन भइरहेको छ।’
भन्सार विभागका अनुसार गत साउनदेखि मंसिरसम्म आयात भएका विद्युतीय गाडीमध्ये अधिकांश १०० किलोवाट क्षमताभन्दा कमका छन्। यो अवधिमा ५० किलोवाट क्षमताभन्दा साना विद्युतीय गाडी १ हजार ५ सय ९५ र ५० देखि १०० किलोवाट क्षमतासम्म २ हजार २८ वटा आयात भएका छन्। पछिल्लो ६ महिनामा मात्रै ५ हजार १ सय ७ वटा विद्युतीय गाडी नेपाल आएका छन्।
सरकारले विद्युतीय सवारीसाधनलाई प्राथमिकता राखेर न्यूनतम कर लगाउने नीति अख्तियार गरिरहेको छ। जसले गर्दा नेपालमा विद्युतीय गाडीको आकर्षण अभूतपूर्व ढंगले बढेको छ।
कुन सेगमेन्टमा कति लाग्छ कर?
गत वर्षसम्म भन्सार नलाग्ने ५० किलोवाटसम्मको विद्युतीय गाडीमा चालू वर्ष १० प्रतिशत भन्सार शुल्क लाग्ने व्यवस्था भयो। त्यस्तै १० प्रतिशत भन्सार महसुल लाग्ने ५० देखि १०० किलोवाट क्षमताको विद्युतीय गाडीमा १५ प्रतिशत भन्सार कर र १० प्रतिशत अन्तशुल्क लाग्ने व्यवस्था भयो।
गत वर्षसम्म ३०÷३० प्रतिशत भन्सार र अन्तशुल्क लाग्ने १०० देखि २०० किलोवाट क्षमतासम्मका सवारीमा २०÷२० प्रतिशत भन्सार र अन्तशुल्कको व्यवस्था भयो। त्यस्तै, २०० देखि ३०० किलोवाट क्षमतासम्मका सवारीको भन्सार शुल्क ४५ प्रतिशतबाट घटाएर ४० प्रतिशत कायम गर्याे।