काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत अधिकांश कम्पनीले आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश बाँडिसके। त्यसैगरी अधिकांश जीवन बिमा कम्पनीले पनि २०७८/७९ को नाफाबाट लाभांश वितरणको निर्णय लिइसके।
असल अभ्यास पालना नगरेका कम्पनीहरूले अब आफूअनुकूल निर्णय लिन्छन् र तिनकै थोरै मात्रै हुन्छन्। असल अभ्यासका कम्पनीहरूले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण पनि सार्वजनिक गरेसके।
६ महिनामा कम्पनीको व्यवसायिक विस्तारले अर्को वर्षको सुखद÷दुःखद संकेत गर्दछ। यद्यपि अन्य विषय यथावत् रहेको अवस्थामा यसपछिको कमाइले पनि लाभांश बाँड्न कम्पनीहरू सक्षम हुन सक्छन्।
सेयर बजार कुनै सिद्धान्त र प्राविधिक विश्लेषणका आधारमा चल्दैन। बजारमा आउने स–साना हल्ला र समाचारले पनि प्रभावित बनाउन सक्छ। नियामक निकायका अमूक नीति–नियम र मौखिक अभिव्यक्तिले पनि बजारको लयलाई छिन्नभिन्न बनाउन सक्छ। त्यही छिन्नभिन्न भएको अवस्थालाई आफूअनुकूल बनाएर कारोबार गर्ने लगानीकर्ताले कमाउँछन् भने होहल्ला र अरुको लहैलहैमा लागेर सेयर बजारमा पैसा खन्याउनेहरू अन्ततः खाली हात फर्कनुपर्ने अवस्था आउँछ।
आइतबार सेयर बजारविरोधी भनिएका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक अयोग्यता र जाँचबुझ समिति गठन विषयमा सर्वोच्च अदालतमा संयुक्त सुनुवाइ हँुदै छ।
माघ १० मा तोकिएको पेशी हेर्न नभ्याइनेमा परेपछि आज माघ १४ लाई सरेको हो। कतिपय लगानीकर्ताले यसलाई पनि अवसरको रुपमा प्रयोग गरेर विभिन्न हौवा फिँजाउन सक्छन्। गत साता नै गभर्नर यसपटक बाहिरिने सम्भावना बलियो छ भनेर हल्ला चलाइरहेका थिए।
नेप्से सूचक २०७८ भदौ २ मा सबैभन्दा माथि उक्लिएको थियो। त्यस दिन ३२२६ अंक सम्म पुगेको सूचक कारोबार बन्द हुँदा ३१९८.६ अंकमा रोकिएको थियो भने सबैभन्दा बढी कारोबार २०७८ साउन ३१ मा २१ अर्ब ६४ करोड ७६ लाख रुपैयाँ बराबरको भएको थियो।
लगानीकर्ताको मनोविज्ञान, नेप्से सूचकमा देखिएको शिथिलता, कारोबार रकममा आएको उच्च गिरावट, अधिकांश बैंक तथा वित्तीय कम्पनीहरूको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भइसकेको स्थिति र वित्तीय प्रणालीमा देखिएको उदारताले सेयर बजारलाई थप चलायमान बनाउने सम्भावना भने छ।
त्यसपछि घट्न थालेको बजार सूचक निरन्तर ओरालो यात्रामा रहेर १८०० बिन्दु वरिपरि खेलिरहेको थियो। पछिल्लो पटक २०८० मंसिर १९ मा १८३७.७१ अंकबाट उकालो लागेको बजार माघ ३ मा २२१५.५४ अंकसम्म चढे पनि कारोबार बन्द हुँदा अघिल्लो दिनको तुलनामा १२.१ बिन्दुले घट्दै २१६३.०६ अंकमा रोकियो। त्यसपछि निरन्तर घट्दो क्रममा रहेको बजारमा बिहीबारसम्मको कारोबार दिनमा ९१.०५ अंकको गिरावट आएको छ।
नेप्से उच्च भएको दिन कारोबार रकम पनि बढेर साढे २ वर्षयताकै उच्च भएको थियो। माघ ३ मा ९ अर्ब ७६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो, जुन २०७८ भदौ २१ मा ९ अर्ब ८२ करोड रुपैयाँ बराबरको सेयर किनबेचभन्दा केही कम हो।
पछिल्लो साता नेप्से सूचक घटेसँगै कारोबार रकम पनि घट्यो। बिहीबार कारोबार रकम माघ ३ पछि निरन्तर घटेर ३ अर्ब ७६ करोडमा खुम्चियो।
‘सेयर बजार सधैँ बढिरहने र सधैँ घटिरहने पनि हुँदैन। केही दिनयताको बजारमा देखिएको सुस्तता सुधार (करेक्सन) हो,’ नेपाल इन्भेस्टर्स फोरम अध्यक्ष तुलसीराम ढकालले क्यापिटल नेपालसँग भने, ‘करिब ४ सय अंक बढिसकेपछि १ सय अंक घट्नु सामान्य र स्वाभाविकै हो। अब करिब–करिब करेक्सन पुगेजस्तो देखिन्छ।’
यो पटकको करेक्सन सुध्रिएसँगै बजारले लय समाउने ढकालले बताए। ‘यस्तो बेला आमलगानीकर्ताले नआत्तिन र नमात्तिन लगानी गर्नुपर्छ। बैंकको ब्याज धेरै तल आइसकेको छ,’ ढकालले भने, ‘लगानीकर्ताले धैर्य राखेर राम्रा कम्पनीको सेयर किने पछि पछुताउनु पर्दैन।’ अब सेयर बजार सकारात्मक दिशातिरै लम्कने सम्भावना देखिएकाले लगानीकर्ताले त्यसैअनुरुपको सोच बनाउनुपर्ने ढकालले सुझाए।
लगानीकर्ताको मनोविज्ञान, नेप्से सूचकमा देखिएको शिथिलता, कारोबार रकममा आएको उच्च गिरावट, अधिकांश बैंक तथा वित्तीय कम्पनीहरूको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भइसकेको स्थिति र वित्तीय प्रणालीमा देखिएको उदारताले सेयर बजारलाई थप चलायमान बनाउने सम्भावना भने छ।
हुन त, पछिल्लो ७ दिनमध्ये बैंक तथा वित्तीय संस्थाको बिग्रिएको वित्तीय विवरण प्रकाशित भएका कारण आइतबार र सोमबार दुई दिनमा नेप्सेमा ५७ अंकको गिरावट आएको छ। त्यसअघिका २ दिन लगानीर्ताले नाफा बुक गरेको, पछिल्ला ३ दिन सामान्य मात्रै घटेकाले र कारोबार रकम खुम्चिएकाले बढ्ने आधार खोजिरहेको लगानीकर्ताको विश्वास छ।
ब्याजदर घटिरहेको, वित्तीय बजारमा लगानीका अरु उपकरण नभएर तरलता बढ्दै गएको, ५० लाख बढीको सेयर धितो कर्जा जोखिम भार १२५ प्रतिशतमा झरेका कारण सेयर लगानीकर्ताले छिटो ऋण पाउने अवस्था बनेको, निक्षेपको ब्याज घटेसँगै विगतमा निक्षेप राख्ने लगानीकर्ता पनि छिटो प्रतिफलको खोजीमा सेयर बजारमा आउने चाहेको देखिएको, घरजग्गा कारोबारमा ठूलो रकम आवश्यक पर्ने र त्यस किसिमको आम्दानीको आधार अहिले नबनिसकेकाले धेरैले पहिलो रोजाइको क्षेत्र सेयर बजार नै बनाउने गरेका छन्।
विगत कोरोनाकालमा लगानीका अन्य क्षेत्र खुम्चिँदा धेरै मानिसले सेयर बजारमा प्रवेश गरेर मनग्य कमाएका थिए। धेरै मानिसले माथिल्लो तामाकोसीको बिक्री नभएको सेयरलाई मिनीआइपिओको रुपमा लिएका थिए।
माथिल्लो तामाकोसीको नबिकेको हकप्रद सेयरको बोलकबोल सकिएकाले त्यहाँ लगाइएको पैसा अब बजारमा आउँदा फेरि रौनक छाउने विश्वास गरिएको छ। यी सबै तथ्यलाई हेर्दा बजार छिट्टै २३५० तर्फको यात्रामा निस्कने देखिन्छ। तर, यो साता भने बजार सूचक २१०० बिन्दुमुनि सम्भावना भने यथावतै छ।
स्टक ब्रोकर एसोसिएसन नेपालका पूर्वअध्यक्ष भरत रानाभाट पनि नेप्से अब सकरात्मक दिशातर्फ नै अगाडि बढ्ने बताउँछन्। ‘केही दिनयता बजारमा देखिएको सुस्तताको प्रमुख कारण अपर तामाकोसीको सेयर बाँडफाँट भएर आउनुपर्ने पैसा नआएर हो।
जसको परेको थिएन, तिनले किन्न पनि पाएनन्,’ रानाभाटले भने, ‘त्यो पैसा फिर्ता आएर तिर्छु भनेकाले समयमा तिर्न नपाएपछि बेच्नुपर्ने स्थिति आयो। यसर्थ, अपरको ब्यालेन्स नमिल्दा त्यसको असर नेप्सेमा परेको हो कि जस्तो देखिन्छ।’ रानाभाट घट्दो बजारमा कारोबार घट्नुलाई प्राविधिक हिसाबले पनि सकरात्मक रुपमा लिनुपर्ने बताउँछन्।
‘कर्जा ब्याजदर घटेका कारण ऋण लिएर लगानी गर्नेलाई ब्याज सस्तो भएको छ। जोखिम भार घटेका कारण बैंकहरूले ऋण पनि सहजै उपलब्ध गराएका छन्,’ रानाभाटले भने, ‘मंगलबार, बुधबारबाट माथिल्लो तामाकोसीको पैसा फिर्ता गर्न सुरु गर्ने कुरा आएको छ। यसर्थ, आइतबार, सोमबार पनि लगानीकर्ता बजार छिर्न भ्याउँछन्।’ नेप्से चार–पाँच दिन घटेको हिसाबले फ्रिज भएको पैसा फिर्ता आउँदा बजारमा सकारात्मक प्रभाव पर्ने रानाभाट सुनाउँछन्।
याे पनि पढ्नुहाेस्