काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले कतारमा रहेका गैरआवासीय नेपाली (एनआरएनए)लाई नेपालका विविध क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन्।
कतारको दोहामा आयोजित ‘नेपाल बिजनेस एसोसिएसन कतार’को सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालको पर्यटन, पूर्वाधार विकास, नवीकरणीय ऊर्जा र कृषिजस्ता क्षेत्रमा लगानी गर्न आग्रह गरेको महासंघको विज्ञप्तिमा जनाइएको छ।
अध्यक्ष ढकालले भने, ‘नेपालमा पर्यटन, पूर्वाधार विकास, नवीकरणीय ऊर्जा र कृषिजस्ता क्षेत्रमा लगानीको प्रचुर सम्भावना रहेको छ। यी क्षेत्रका साथै सहरीकरण, सूचना प्रविधि क्षेत्रमा कतारले गरेका विकासको अनुभवलाई नेपालमा पनि प्रयोग गर्न सकिन्छ। त्यसैले नेपालमा लगानी गरी मुनाफा लिने अवसरबाट भरपुर फाइदा लिनुस्।’
अध्यक्ष ढकालले कतारको आर्थिक वृद्धि र विकासमा नेपाली श्रमिकको योगदान रहेको बताउँदै ती श्रमिकलाई सीपयुक्त बनाउन नेपालमा प्राविधिक विद्यालय स्थापना गर्न कतारस्थित आवासीय नेपालीलाई आग्रह पनि गरे।
गैरआवासीय नेपालीका लागि पछिल्लो पटक नेपाल सरकारले गरेको नागरिकको कानुनी प्रावधानले पनि विश्वमा छरिएर रहेका नेपालीलाई अब नेपालमा लगानीका लागि प्रोत्साहित गर्नुपर्ने उनको तर्क थियो। अध्यक्ष ढकालले भने, ‘आफ्नो लगानीको भविष्य के होला भन्ने द्विविधा नागरिकताको नयाँ कानुनी प्रावधानले हटाएको छ। नेपालमा लगानी गरी व्यवसाय गर्न सहज र सुरक्षित बनाएको छ।’
नेपालमा वैदेशिक लगानी भित्र्याउन आउँदो वैशाखमा नेपाल उद्योग वाणिज्य महासंघसँगको सहकार्यमा सरकारले लगानी सम्मेलन गर्न गइरहेकाले नेपालमा लगानी वातावरण सिर्जना गरी आफूले पनि लगानी गर्न र कतारका लगानीकर्तालाई पनि यसका लागि प्रेरित गर्न उनको आग्रह थियो।
सम्मेलनअगावै सरकारले धेरै कानुनी अड्चन सुधार गरी लगानीमैत्री वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरेको र सोहीअनुरुप काम पनि भइरहेको उनले बताए।
अध्यक्ष ढकालले नेपालको भूराजनीतिक परिस्थिति, विश्वका दुई उदीयमान अर्थतन्त्र भारत र चीनसँगको व्यापारिक सम्भावनाको सदुपयोग गर्न कतारमा रहेका गैरआवासीय नेपालीलाई आग्रहसमेत गरे।
भारतसँग हालै भएको ऊर्जासम्बन्धी उच्चतस्तरीय सम्झौता सकारात्मक रहेको र यसबाट हाम्रो देशमा हाइड्रोपावरमा हुने लगानी र ऊर्जा व्यापारको मार्ग प्रशस्त भएको पनि उनको भनाइ थियो।