पछिल्लो समस्या समय समस्यामा रहेको अर्थतन्त्र क्रमशः सुधारिँदै गएको छ। सोही कारण राजनीतिक परिवर्तनपछि अब आर्थिक समृद्धि र पूर्वाधार निर्माणका कामलाई प्राथमिकतामा राखिनुपर्छ। अर्थतन्त्र विस्तारै लयमा फर्किएकाले अब पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्नुपर्छ।
देशको अर्थतन्त्र समस्यामा थियो। विस्तारै सुधार हुँदै छ। हामीले धेरै राजनीतिक आरोह–अवरोह पार गरिसक्यौं। राजनीतिक पूर्वाधार तयार पारिसक्यौं। अब अर्थतन्त्रको पूर्वाधार तयार पार्न आवश्यक छ। यो पूर्वाधार हामी तयार पार्न सक्छौं भन्ने कुरामा विश्वस्त छौं। हाम्रा आर्थिक सूचकांक सकारात्मक छन्। मूल्यवृद्धि नियन्त्रणमा छ। ब्याजदर घटिरहेको छ।
सेयर बजारमा सुधार भइरहेको छ। आर्थिक गतिविधि पनि विस्तारै चलायमान बन्दै गएका छन्। मुलुकलाई आर्थिक गति दिन स्पष्ट मार्गचित्र बन्दै गएको छ। अर्थतन्त्रमा शिथिलता देखिएका कारण बजार चलायमान हुन नसक्दा उपभोक्ता तथा निजी क्षेत्रको घट्दै गएको आत्मविश्वास अहिले सुधार हुँदै गएको छ।
अहिलेको आवश्यकता भनेको आत्मविश्वास आर्जन गर्नुपर्नेछ। त्यसका लागि सकारात्मक सन्देश प्रवाह गर्नुपर्छ। अहिलेसम्म हामीले धेरै नकारात्मक कुरा गर्यौं। यसले गर्दा हामी आत्मविश्वास कमजोर बन्यो। यथार्थ विषयवस्तुलाई नकारात्मक सन्देशले बल पुग्यो।सकारात्मक सन्देश प्रवाहसँगै हाम्रो व्यापार व्यवसायमा आत्मविश्वास बढ्छ। उपभोक्ताको आत्मविश्वास बढ्छ।
उपभोक्तामा आत्मविश्वास बढ्दा व्यापार व्यवसाय बढ्ने हो। व्यापार व्यवसायमा चलपहल हुनेबित्तिकै लगानी वृद्धि हुन्छ। यसले आर्थिक गतिविधि बढाउँछ। नेपालको विशिष्ट पहिचान बोकेका वस्तु र सेवाको पर्याप्त बजारीकरण हुन सकेको छैन। वस्तु तथा सेवाको उत्पादन, बजारीकरण र खपतसँग जोडिएका सबै पक्ष मिलेर नेपाली उत्पादनको प्रयोग र बजारीकरणलाई बढावा दिन जरुरी छ।
विशिष्ट खालका वस्तु तथा सेवा उत्पादन गरेर विश्वका विभिन्न देशले आफ्नो पहिचान स्थापित गरेकामा नेपालले पनि त्यसबाट लाभ लिन सक्नुपर्छ। नेपालमा युनिक उत्पादन गरेर संसारभरि बजारीकरण गर्न सकिन्छ। उपभोक्ताले जहिले पनि अरुभन्दा फरक रुचाउँछन्। नेपालको सकारात्मक पक्ष भनेको विशिष्ट खालका वस्तुको उत्पादन हो। हाम्रो संस्कार, संस्कृति, जनजाति, वन्यजन्तु र सामाजिक एकता यहाँको विशिष्ट पहिचान हो।
सरकारको आम्दानी बढाउन भन्सार प्रशासनलाई मजबुत बनाउन डिजिटलाइजेसनलाई सुदृढ बनाउँदै छौं । विभिन्न प्रविधि, अन्तर्राष्ट्रिय मापदण्ड तथा असल अभ्यासको प्रयोग गर्दै अत्याधुनिक भन्सार प्रशासन निर्माण गरेर राजस्व असुली सरकारी लक्ष्यलाई पूरा गर्ने तयारी अगाडि बढाइएको छ।
समग्र भन्सार प्रशासनलाई सुदृढ बनाई राजस्वको लक्ष्य हासिल गर्ने, व्यवसायीलाई व्यवसायको यथार्थ मूल्यांकनका आधारमा करको दायरामा ल्याइनुपर्छ। भन्सार क्षेत्रमा नयाँ प्रविधिको प्रयोग गरी अत्याधुनिक भन्सार प्रशासन निर्माणतर्फ केन्द्रित हुन आवश्यक छ।
यसो गर्न सकिए राजस्व असुली र धिमा गतिको अर्थतन्त्रलाई लिकमा दौडाउन सहज हुन्छ। राजस्व असुलीलाई ध्यानमा राखेर भन्सार क्षेत्रमा नयाँ प्रविधिको प्रयोग गरिनुपर्छ। मुख्य–मुख्य नाकामा प्रविधि प्रयोग बढाउनुपर्छ। अर्थतन्त्रलाई थप चलायमान बनाउन राजस्व प्रशासनलाई चुस्त बनाउन आवश्यक छ।
(काठमाडौंमा नेपाल मार्केटिङ एसोसिएनद्वारा आयोजित एनमए मार्केटिङ समिटमा सहभागी अर्थमन्त्री महतबाट व्यक्त धारणा।