रुकुम पश्चिम। राप्ती राजमार्गअन्तर्गत रुकुम पश्चिमका विभिन्न सडक खण्ड धमाधम स्तरोन्नति गर्न थालिएका छन्। सडक स्तरोन्नति नहुँदा सवारीसाधन सञ्चालनमा कठिनाइ भएको थियो।
राप्ती राजमार्गअन्तर्गत पर्ने मुसीकोट नगरपालिका–४ सोलावङबाट मध्यपहाडी राजमार्गअन्तर्गत पर्ने शीतलपोखरीसम्म सडक स्तोन्नति भएपछि आवतजावतमा सहज भएको बसचालक रिमबहादुर पुनले बताए। उक्त सडक खण्डमा सडक चौडा, मोड सुधार र कालोपत्रे गरिएको छ।
‘पहिले सडक साँघुरो थियो। साँघुरो सडकमा दुर्घटनाजोखिम पनि उत्तिकै हुुन्थ्यो। अहिले सडक स्तरोन्नति भएपछि मोडमा पनि सजिलै यातायातका साधन चलाउन सहज भएको छ’, उनले भने।
राप्ती राजमार्गअन्तर्गत सल्यानको जलेखर्कबाट रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका–९ नुवाकोटको झक्ते खोलासम्म १० किलोमिटर, रुकुम पश्चिमको मुसीकोट नगरपालिका–४ सोलावाङबाट शीतलपोखरीसम्म ६ किलोमिटर र सोलावाङबाट भित्री सडकखण्ड राउखेतसम्म ६ किलोमिटर सडक स्तरोन्नति भइरहेको सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख तेजस्वी शर्माले जानकारी दिए।
तीन वटै ठाउँमा सडक कालोपत्र, मोड सुधार र सडक चौडा बनाउने काम भइरहेको छ। राप्ती राजमार्गअन्तर्गत पर्ने सल्यानको जलेखर्कबाट रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–९ नुवाकोटडाँडा झक्ते खोलासम्मको १० किलोमिटर सडक निर्माण गर्न २१ करोडमा सम्झौता भएको छ।उक्त सडक खण्डको काम २०७८ चैतदेखि सुरु भएको हो।
सडक खण्डको हालसम्म ६५ प्रतिशत भौतिक प्रगति भएको प्रमुख शर्माले जानकारी दिए। उक्त सडक खण्ड २०८१ असार मसान्तसम्म निर्माण सम्पन्न गरिसक्नुपर्नेछ।
त्यस्तै, राप्ती राजमार्गअन्तर्गत पर्ने मुसीकोट नगरपालिका–४ सोलावाङबाट भित्री सडकखण्ड राउखेतसम्म ६ किलोमिटर सडक कालोपत्रको काम धमाधम भइरहेको छ। २०७९ फागुनदेखि सडक निर्माणको काम सुरु भएको हो। हालसम्म ७० प्रतिशत प्रगति भएको छ। सडक खण्ड स्तरोन्नतिका लागि २१ करोड विनियोजन गरिएको छ।
सदरमुकाम नजिकको मुसीकोट नगरपालिका–४ शीतलपोखरीबाट सोलावाङसम्मको ६ किलोमिटर सडक खण्डको मोड सुधार, सडक चौडा तथा पहिरो खसेको ठाउँमा तारजाली हाल्ने काम जारी छ।
उक्त सडक खण्ड निर्माण गर्न ६ करोडमा ठेक्का दिइएको छ। सो सडक खण्डमा ५० प्रतिशत प्रगति भएको छ।–रासस