काठमाडौं। मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसको पाँच संकायमा अध्ययनरत उत्कृष्ट विद्यार्थीलाई ‘एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान’ प्रदान गरेको छ। एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान संस्करणको यो १०औं वर्ष हो।
कार्यक्रमअन्तर्गत सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन, कम्प्युटर र मेकानिकल इन्जिनियरिङ संकायमा अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरिँदै आएको छ। छात्रवृत्ति तथा उत्कृष्टता सम्मान एनसेल मुख्यालय एनसेल आइकन, लैनचौरमा वितरण गरिएको कम्पनीले जनाएको छ।
२०८० का लागि १८ शीर्षकअन्तर्गत पहिलो वर्ष, दोस्रो वर्ष र तेस्रो वर्षको परीक्षा नतिजाका आधारमा सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन, कम्प्युटर र मेकानिकल इन्जिनियरिङ संकायका १८ विद्यार्थीलाई एनसेल छात्रवृत्ति सम्मान वितरण गरिएको हो।
उत्कृष्ट नतिजा ल्याई पाँच संकायबाट स्नातक उत्तीर्ण ६ विद्यार्थीलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरिएको छ। इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्रा.डा. शशीधरराज जोशी र एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले संयुक्त रुपमा विद्यार्थीलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरेका थिए।
एनसेलका चिफ लिगन एन्ड रेगुलेटरी अफिसर विशालमणि उपाध्याय, चिफ कमर्सियल अफिसर उमेर मोहसिन र एक्टिङ चिफ टेक्नोलोजी अफिसर लेनाकेशरी कंसाकारले विद्यार्थीलाई एनसेल छात्रवृत्तिबाट सम्मान गरेको कम्पनीले जनाएको छ।
कार्यक्रममा एनसेलका सीइओ तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले देशको सबभन्दा प्रतिष्ठित इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पससँगको सहकार्यमा युवा र विद्यार्थीको शैक्षिक उन्नयनमा थप हौसला दिन हरेक वर्ष उत्कृष्टलाई छात्रवृत्ति दिइँदै आएको बताए।
इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्राडा जोशीले। एनसेल छात्रवृत्ति तथा उत्कृष्टताबाट सम्मानित हुने सबै विद्यार्थीलाई बधाइ दिए।
यसै अवसरमा प्राडा जोशीले पुल्चोक क्याम्पसका विद्यार्थीलाई लगातार १० वर्षसम्म एनसेल छात्रवृत्ति र उत्कृष्टता सम्मान प्रदान गरेकामा एनसेललाई सम्मानस्वरुप इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसले कदरपत्रबाट सम्मानित गरेको छ।
एनसेल छात्रवृत्ति प्रत्येक वर्ष इन्जिनियरिङ पाँच संकायमा स्नातक तहको प्रथम, द्वितीय र तृतीय वर्षको वार्षिक परीक्षामा प्राप्त उत्कृष्ट नतिजाका आधारमा क्रमशः द्वितीय, तृतीय र चौथो वर्षमा अध्ययनरत विद्यार्थीले पाउँछन्। हरेक छात्रवृत्ति तथा उत्कृष्टता सम्मान पुरस्कारको राशि १ लाख रुपैयाँ रहेको छ।