काठमाडौं। सरकारले ०८१ वैशाख १६ र १७ मा आयोजना गर्ने घोषणा गरेको तेस्रो लगानी सम्मेलनको तयारीस्वरूप नीति निर्माण, निजी क्षेत्र, विकास साझेदारलगायतसँगको छलफललाई बाक्लो बनाएको छ।
सोहीअनुसार लगानी बोर्ड कार्यालयले केपीएमजी इन इन्डियासँगको सहकार्यमा नेपालको लगानी सम्भावना उजागर गर्न आर्थिक विस्तारका सहयोगी रणनीति विषयक कार्यशाला गोष्ठी आयोजना गरेको छ।
कार्यशालामा नेपालमा लगानी वातावरण सुधारका लागि कानुनी, प्रक्रियागत तथा नियामकीय सुधार एवं विदेशी लगानी, निजी लगानी आकर्षित गर्न नवप्रवर्तनमा आधारित पहलका विषयमा विभिन्न क्षेत्रका विज्ञले नेपालको आर्थिक विकासका लागि लगानी सम्मेलन आयोजना गरिनु सकारात्मक रहेको प्रतिक्रिया दिए।
लगानी सम्मेलनमार्फत विदेशी पुँजी भित्र्याउन सके नेपालको विकासले कोल्टे फेर्ने उनीहरुको भनाइ छ। यसै बेला लगानी सम्मेलन आयोजना गर्ने सम्बन्धमा नीति निर्माता, निजी क्षेत्र, विकास साझेदार तथा विज्ञबीच छलफल गर्ने क्रम बाक्लिएको छ।कार्यशालामा सहभागी भएका अर्थमन्त्री तथा लगानी बोर्ड नेपालका उपाध्यक्ष डा. प्रकाशशरण महतले अर्थतन्त्रका हरेक क्षेत्रमा अथाह सम्भावना उजागर हुन बाँकी रहेको उल्लेख गरे। उनले त्यसका लागि थप लगानी आवश्यक रहेकामा जोड दिए।
नेपालमा पर्यटन, कृषि व्यवसाय तथा सूचना प्रविधि क्षेत्रमा गरिने लगानीले राम्रो प्रतिफल दिने हुँदा विदेशी लगानीकर्तालाई स्वागत गर्न आतुर रहेको अर्थमन्त्री महतको धारणा।
अहिले हरित अर्थतन्त्र/लगानी अधिक प्रचलनको शब्दावली रहेको सन्दर्भमा नेपाल उत्तम लगानी गन्तव्य भएको मन्त्री महतले बताए। उनले भने, ‘नेपाल आफूले कार्बन उत्सर्जन न्यून गर्ने मात्र नभई स्वच्छ ऊर्जाको माध्यमबाट क्षेत्रीय रूपमै कार्बन उत्सर्जन न्यूनीकरण गर्न सघाउनेछ। नेपालमा पर्यटन, कृषि व्यवसाय तथा सूचना प्रविधि क्षेत्रमा गरिने लगानीले राम्रो प्रतिफल दिने हुँदा विदेशी लगानीकर्तालाई स्वागत गर्न आतुर छौं।’
राष्ट्रिय योजना आयोग उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले आर्थिक वृद्धिको दिगोपना र स्थायित्व एवं समावेशी आर्थिक विकासले मात्र नेपालको विकासशील राष्ट्रमा स्तरोन्नति दिगो हुने बताए। उनले लगानी सम्मेलनमार्फत नेपालको विकासमा दातृ निकाय र निजी क्षेत्रको लगानी आकर्षित गर्न कानुनी अप्ठेरा हटाउन सरकारले पहल गरिहाल्नुपर्ने सुझाए।
सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्यालले नेपालमा लगानी गरिरहेका लगानीकर्ताको चासो तत्काल गरिने सम्बोधन र सहजीकरणले विश्वका अन्य लगानीकर्तामाझ सकारात्मक सन्देश प्रवाह गर्न सफल हुने विश्वास व्यक्त गरे। ‘लगानी सम्मेलनका लागि तयारी भइरहेको छ। सम्मेलनमा विकास साझेदार र निजी क्षेत्रको लगानी भित्र्याउन विभिन्न कोणाबाट निम्तो र पत्राचार गरिरहेका छौं’, मुख्यसचिव अर्यालले भने।
सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्यालले नेपालमा लगानी गरिरहेका लगानीकर्ताको चासो तत्काल गरिने सम्बोधन र सहजीकरणले विश्वका अन्य लगानीकर्तामाझ सकारात्मक सन्देश प्रवाह गर्न सफल हुने विश्वास व्यक्त गरे।
लगानी सम्मेलन २०२४ ले सम्भावित र सक्षम लगानीकर्तालाई नेपामाल लगानी अवसर उपलब्ध गराउने लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले बताए। उनले भने, ‘सरकारले गम्भीरतापूर्वक लगानी सम्मेलनअघि लगानीसम्बन्धी कानुन पुनरवलोकन गरी कनेक्टिभिटीका रणनीतिक पूर्वाधार तथा पर्यटन, आइसिटी, उत्पादनमूलक उद्योगमा लगानी आकर्षित गर्न आवश्यक गृहकार्य गरिरहेको छ।’
नेपाल राष्ट्र बैंकका कार्यवाहक गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाले केन्द्रीय बैंकले एफडीआई तथा विदेशी ऋण नियमावली संशोधन गरी विदेशी लगानी भित्र्याउन राष्ट्र बैंकको पूर्वस्वीकृति आवश्यक नपर्ने प्रावधान कार्यान्वयनमा लैजान लागेको बताइन्। उनले नेपालमा लगानी गरेका विदेशी लगानीकर्ताको लगायत नाफा फिर्ता लैजाने सम्बन्धमा गरिएको सहजीकरणबारे पनि चर्चा गरिन्।
आगामी लगानी सम्मेलनले लगानीका अवसरबारे विहंगम जानकारी राख्ने लगानीकर्तालाई यहाँ ल्याएर नेपालको आर्थिक विकासमा योगदान गर्दै सरकारसँग साझेदारीको अवसर दिने विश्वास केपीएमजी इन इन्डियाका प्रमुख कार्यकारी अधिकृत येज्डी नागपोरेवालाले गरे।
उनले भारतीय लगानीकर्तालाई नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य रहेको जानकारी दिन आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाए। लगानी सम्मेलनअघि पूर्वतयारीस्वरूप प्रवद्र्धनात्मक कार्यक्रम, परियोजना बजारीकरण, रोड सो तथा नीतिगत बहसका विविध कार्यक्रम तय गरिएका छन्।
सम्मेलनपछि पनि लगानीकर्तासँग निरन्तर छलफल परामर्श गरी लगानी भित्र्याउन आवश्यक सबै क्रियाकलाप लगानी सम्मेलन सचिवालयका रूपमा लगानी बोर्डले निरन्तर अघि बढाउने बताइएको छ।
लगानी सम्मेलनको प्रचार सरकारी स्तरबाट निरन्तर भइरहेका छन्।
यसअघि माघ ५ पनि तेस्रो लगानी सम्मेलन निर्देशक समितिको दोस्रो बैठक अर्थमन्त्री डा. प्रकाशशरण महतको संयोजकत्वमा बसेको थियो बैठकमा अर्थमन्त्री महतले आगामी वैशाख १६ र १७ तद्अनुसार अप्रिल २८ र २९ मा आयोजना हुने तेस्रो लगानी सम्मेलनका लागि नीतिगत, कानुनी एवं प्रक्रियागत सुधार र परियोजना तयारीलाई तीव्रता दिन निजी क्षेत्रलाई समेत बोलाएर विशेष निर्देशन दिएका थिए।
उनले लगानी सम्मेलनले विदेशी लगानीकर्ताका साथै गैरआवासीय नेपाली र स्वदेशी निजी क्षेत्रको लगानी आकर्षणलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै सम्भाव्य विदेशी लगानीकर्ता तथा परियोजना पहिचान गरी सुझाव प्रस्तुत गर्न निजी क्षेत्रलाई आह्वान गरेका थिए।
गत ५ माघमा काठमाडौंमा सम्पन्न तेस्रो लगानी सम्मेलन निर्देशक समितिको दोस्रो बैठकमा सहभागी अर्थमन्त्री डा। प्रकाशशरण महतलगायत। फाइल, तस्बिर
लगानी सम्मेलन निजी क्षेत्र तथा विकास साझेदारसँगको सहकार्यमा सरकारले आयोजना गर्न लागेको हो। बैठकमा लगानी सम्मेलन सचिवालयका संयोजक एवं लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले हालसम्म भएका तयारीबारे संक्षिप्त प्रस्तुतीकरण गरेका थिए।
लगानी सम्मेलन आयोजना गर्न सरकारले अर्थमन्त्रीको संयोजकत्वमा निर्देशक समिति, मुख्य सचिवको नेतृत्वमा कार्यान्वयन समिति, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको संयोजकत्वमा प्राविधिक समिति र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा सचिवालय गठन गरी काम अगाडि बढाएको छ।
नीतिगत, प्रक्रियागत र कानुनी सुधारका लागि प्रधानमन्त्री कार्यालयका सचिव(आर्थिक पूर्वाधार महाशाखा) को संयोजकत्वमा कार्यदल गठन भएको छ। यी सबै समिति र कार्यदलले आ–आफ्नो क्षेत्रमा सक्रियतापूर्वक कार्य गरिरहेका छन्।
माघ ५ को बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति; ऊर्जा, जलस्रोत तथा सिंचाई;वन तथा वातावरण; संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र सहरी विकास मन्त्रालयका मन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्यसचिव तथा विभिन्न मन्त्रालयका सचिव, राष्ट्र बैंकका डेपुटी गभर्नर तथा निजी क्षेत्रका छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष सहभागी थिए।