काठमाडौं। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र १ का सांसद एवं उद्योगपति विनोद चौधरीको विशेष पहलमा बर्दघाटमा नमुना औद्योगिक ग्राम स्थापना हुने भएको छ। बजेट व्यवस्थापन, परियोजना निर्माण ठेक्कालगायतका गृहकार्यपछि शुक्रबार उक्त औद्योगिक ग्राम शिलान्यास भएको छ।
परियोजना उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल र सांसद चौधरीले संयुक्त रुपमा शिलान्यास गरेका हुन्। उक्त अवसरमा मन्त्री रिजालले पश्चिम नवलपरासीमा निर्माण हुने नमुना औद्योगिक ग्रामले यस क्षेत्रको औद्योगिकीकरण र आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।
सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको र औद्योगिक विकासका लागि नीतिगत रुपमा सुधार गर्न आफूले पहल गर्ने मन्त्री रिजालले बताए।
कार्यक्रममा सांसद चौधरीले निर्वाचनका बेला आफूले सार्वजनिक गरेका प्रतिबद्धतालाई पूरा गर्ने सिलसिलामा नमुना औद्योगिक ग्राम त्यसैको कडी रहेको बताए।
‘म आर्थिक विकासका काममा कसैले राजनीति नगरोस् भन्ने चाहन्छु। तर, यहाँ त्यही भइरहेको छ। म एकपछि अर्को विकासका परियोजना कार्यान्वयनमा व्यस्त छु। तर, कतिपय मित्रहरू मैले गरेका कामलाई विकास हैन, राजनीति हो भनिरहेका छन्। मेरो आग्रह छ, सक्नुहुन्छ भने तपार्ईंहरु पनि यस्तै विकासको राजनीति गर्नुस्। आर्थिक विकासको अध्यायलाई अगाडि बढाउने काममा जोडिनुस्। चौराहाका चिया पसलमा गफ गरेर राजनीति गर्ने जमाना अब सकिए’, उनले भने।
एसएमई भिलेज उद्यमशीलताको नमुना बन्ने र नवलपरासीका युवालाई उद्यमी बनाउन यस परियोजनाको ठूलो महत्व रहने विश्वास सांसद चौधरीले व्यक्त गरे। ‘अब साना तथा मझौला उद्यमी र यस्तो उद्यमको सोच राख्ने युवाका लागि एकीकृत सुविधा उपलब्ध रहने औद्योगिक ग्रामले स्वागत गर्नेछ। यसले यहाँका युवाको नयाँ सोच, नवप्रवर्तनका कार्यक्रमलाई अर्को तहमा लग्ने विश्वास छ’, सांसद चौधरीले भने, ‘हामीले युवाका लागि युवा उद्यमशीलता तालिम अगाडि बढाइरहेका छौं। उनीहरुका लागि बिउ पँुजीको व्यवस्था गर्न पनि आवश्यक पहल लिनेछौं।’
परियोजनालाई सम्पन्न गर्न आफु र आफ्नो टिमले निरन्तर सहयोग र अनुगमन गर्ने पनि उनले जानकारी दिए। उद्योग ग्राम खोलेर मात्रै नहुने र जीवन्त बनाउनुपर्नेमा उनको जोड छ। विशेष औद्योगिक क्षेत्र (सेज) र अन्य ग्रामजस्तो यस ग्रामलाई उद्योगविहीन हुने अवस्था आउन नदिइने सांसद चौधरीले प्रण गरे।
चालू आर्थिक बर्षमा उक्त ग्रामका लागि बजेट विनियोजनसँगै स्थानीय तहमा तयारीसमेत अगाडि बढेपछि नवलपरासीका लागि यो महत्त्वपूर्ण परियोजनाका रुपमा अगाडि बढेको छ।
सांसद चौधरीले निर्वाचनका क्रममा नवलपरासीमा औद्योगिक विकासका लागि नमुना औद्योगिक ग्राम स्थापना गर्ने प्रतिबद्धता जनाएका थिए। निर्वाचित भएको एक बषमै उनले उक्त प्रतिबद्धतालाई कार्यान्वयनमा ल्याएका छन्।
यसलाई नवलपरासीकै एकीकृत सुविधा उपलब्ध हुने नमुना औद्योगिक ग्रामका रुपमा स्थापना गर्न लागिएको छ। यस ग्राममा स्थानीय युवाका सिर्जनशील उद्यमशीलता र स्थानीय कच्चा पदार्थमा आधारित सीप उपयोग गर्ने लक्ष्य राखिएकाले यसलाई साना तथा मझौला उद्योग (एसएमई) भिलेजका रुपमा पनि चिनिनेछ।
बर्दघाट नगरपालिका वडा–खजुरा खोला क्षेत्रमा करिव १८ बिघा क्षेत्रफलमा ग्राम निर्माण हुँदै छ। परियोजनाका लागि १७ करोड रुपैयाँ खर्च हुने अनुमान छ। यो बहुवर्षीय परियोजनाका रुपमा आगामी तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
सांसद चौधरीको विशेष पहलमा चालू आर्थिक वर्षका लागि ४ करोड रुपैयाँ यस परियोजनाका लागि निकासा भई टेन्डर भइसकेको छ। रिलायन्स बिल्डर्स एन्ड सप्लायर्स जेभीले निर्माण जिम्मा पाएको छ। यस वर्ष पूर्वाधारका काम सम्पन्न गरिनेछन्।
कार्यप्रगति राम्रो रहे यसै आर्थिक बर्षभित्र थप बजेट निकासा भई थप काम गर्न सक्ने अवस्था छ। परियोजनालाई प्रभावकारी रुपमा अगाडि बढाउन कुनै आर्थिक भार नपर्ने गरी चौधरी फाउन्डेसनका इन्जिनियरले प्रत्यक्ष सहयोग गर्नेछन्।
तीन वर्षभित्र नमुना औद्योगिक ग्राम तयार गरी नवलपरासीलाई औद्योगिक विकासको मूल प्रवाहमा जोड्ने सांसद चौधरीको लक्ष्यअनुसार उनको सचिवालयका अधिकारीले पनि परियोजनाको निरन्तर अनुगमन गर्नेछन्।
प्रथम चरणको कार्य आगामी ५ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको रिलायन्स बिल्डर्स एन्ड सप्लायर्स जेभीमा कार्यरत प्राविधिक रवीन्द्र शाहले जानकारी दिए। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको विशेष आर्थिक क्षेत्र प्राधिकरणले उक्त नमुना औद्योगिक ग्राम निमार्णको आवश्यक सहजीकरण गर्दै आएको छ।
कार्यक्रममा बर्दघाटका मेयर शम्भुलाल श्रेष्ठले नगरपालिकामा नमुना औद्योगिक ग्राम बन्नु सुखद रहेको बताए।