काठमाडौं। सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी) लाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले स्पष्टीकरण सोधेको छ। डिडिसीले आफ्ना उत्पादनमा ब्याच नम्बर, उत्पादन मिति, मूल्य आदि प्रिन्ट नगरी बजारमा सामान पठाएपछि उपभोक्ता संरक्षण विभागले स्पष्टीकरण सोधेको हो।
विभागका महानिर्देशक तीर्थराज चिलुवालका अनुसार विभागको टोलीले डिडिसी कार्यालय अनुमगनसमेत गरेको छ। ‘डिडिसीको कार्यालय हामीले अनुगमन गरेर आएका छौं। अहिले सोधपुछको काम भइरहेको छ। २÷३ दिन भित्र केही निष्कर्ष निस्किन्छ,’ महानिर्देशक चिलुवालले भने।
डिडिसीले पहिला पनि यस्तो अभ्यास गरेको पनि मौखिक बयानमा बताएको चिलुवालको भनाइ छ। त्यस्तै, गलत नियतले नभइ ३४ हजार वटा प्याकेटमा विवरण प्रिन्ट गर्दै गर्दा मेसिन बिग्रिएकाले बजारमा विवरण बिनाका दुध पठाएको पनि डिडिसीले विभागसँग भनेको चिलुवाले बताए।
डिडिसीको भनाइ उद्धृत गर्दै महानिर्देशक चिलुवाल भन्छन्, ‘व्यक्तिगत व्यवसाय भए स्वार्थ हुन्थ्यो होला। हामी सरकारी निकाय हौं दुध राम्रो नभए पठाउँदैन थियौं। उत्पादन राम्रो हुँदा विवरण प्रिन्ट गर्न नसकिएपछि सूचना निकालेर बजारमा पठाएको हो भन्ने जिकिर डिडिसीको छ।’ डिडिसीलाई सोधिएको बयानको पत्र तयार भइरहेकाले निष्कर्ष निकाल्न २÷३ दिन लाग्ने विभागले जनाएको छ।
डिडिसीले पुस १८ मा बजारमा पठाएमा मध्ये आदी दुधका प्याकेटमा प्रिन्टर मेसिन बिग्रिएकाले प्रिन्ट गर्न नसकिएको सूचना आफ्नो वेयसाइट र राष्ट्रिय पत्रिकामा प्रकाशन गरेको थियो।
तर, सूचना जारी गरेकै आधारमा ब्याच नम्बर, उत्पादन र उपभोग मिति प्रिन्ट नगरी बजारमा सामान पठान नमिल्ने कानुनी व्यवस्था रहेको महानिर्देशक चिलुवाल बताउँछन्। ‘उपभोक्ता संरक्षण ऐन २०७५ दफा ६’ र ‘खाद्य नियमावली २०२७ को पाँचौं संसोधन, परिच्छेद ६’ अनुसार कुनै पनि वस्तु तथा सामान उत्पादन गर्ने निकायले आफ्नो विवरण नखुलाई बजारमा सामान पठाउन मिल्दैन।
उपभोक्ता संरक्षण ऐन २०७५ दफा ४० (क) मा विवरण प्रिन्ट नगरी बजारमा सामान पठाउनेलाई ३ महिनादेखि ६ महिनासम्म कैद वा ५० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ। तर, उपभोक्ता संरक्षण विभागले डिडिसीलाई स्पस्टिकरण सोधेर छलफल भइरहेकाले कस्तो सजाय हुन्छ अहिले भन्न नसक्ने बताएको छ।
तर, डिडिसीका सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारी भने नियमित बजारमा पठाउने सामान प्रिन्टरमा समस्या आउँदैमा रोक्न नमिल्ने तर्क गर्छन्। ‘हामीले सार्वजनिक सूचना जारी गरेर प्रिन्टरको समस्याका कारण विवरण प्रिन्ट गर्न नसकिएको हो, कुनै संका नगर्नुस् भनेका थियौं। दैनिक जाने सामान रोकेर पनि हुँदैन,’ सूचना अधिकारी राजनले भने। साथै विभागले स्पस्टिकरण सोधेको विषय अफुलाई थाहा नभएको उनको भनाइ छ।