काठमाडौं। विकाश थापा मगरलाई बिहानैदेखि भ्याइनभ्याई हुन्छ। दक्षिणढोकास्थित आफ्नै लगानीको ‘रोयल चाइना माउन्टेन रेस्टुरेन्ट’ व्यवस्थापनमा बिहान सबेरैदेखि बेलुकी अबेरसम्म उनी बेफुर्सदिला देखिन्छन्।
उनको रेस्टुरेन्टमा दैनिक कम्तीमा ४०/५० जना पाहुना ग्राहक आउँछन्। पाहुनाको सत्कारकै लागि १० जना स्टाफ राखेका छन्।
विकासको रेस्टुरेन्टमा करिब ३ सय चिनियाँ खानाको आइटम बन्छ। रेस्टुरेन्टमा ‘अथेन्टिक’सिचुवान खाना बन्ने उनको दाबी छ।
‘मान्छेले पिरोलाई मात्र सिचुवान खाना भन्छन्। तर, त्यो सत्य होइन। त्यसमा अमिलो, पिरो, गुलियो सबै मिश्रण गरिएको हुनुपर्छ। त्यसकारण बरु म थोरै आइटम बनाउँछु तर अथेन्टिक मात्र पस्किन्छु,’ विकाशले भने।
पछिल्लो समय आफ्नो रेस्टुराँमा चिनियाँ मात्र नभई चाइनिज परिकार रुचाउने नेपाली पनि क्रमशः बाक्लिँदै गरेको अनुभव उनी सुनाउँछन्। त्यसैले त उनको रेस्टुरेन्टमा नेपाली पाहुना ग्राहक असंख्य देख्न सकिन्छ।
विकाशले नेपाली ग्राहकलाई आकर्षित गर्न प्रतिस्पर्धी रेस्टुरेन्टभन्दा सस्तो मूल्यमा परिकार र सेवा दिँदै आएका छन्। ‘म खानामा मार्जिन धेरै राख्दिनँ। अथेन्टिक स्वाद पस्किन्छु। त्यसैले त नेपालीदेखि चिनियाँ पाहुना दोहोर्याएर मेरो रेस्टुरेन्ट खोजीसोधी आउँछन्,’ उनले क्यापिटल नेपालसँग भने।
हाल रेस्टुरेन्ट व्यवसायमा उनी सफल ठहरिए पनि यो पेसा पहिलो रोजाइ भने नभएको सुनाउँछन्।
मकवानपुर सिस्नेरीमा जन्मी हुर्किएका विकाशको पढाइ भने सानैदेखि खासै राम्रो थिएन। त्यसकारण उनले पढ्न जाँगर चलाएनन््। कक्षा ७ सम्म मुस्किलले पढे। त्यसपछि पढाइलाई बिट मारे। विकाश नेपाली सेनामा भर्ती भएर सरकारी जागिरे हुन चाहन्थे। उनको त्यो सपना पूरा हुने सम्भावना देखियो।
२०५४ तिर सेनामा जागिर खुलेछ। त्यो कुरा थाहा पाउनेबित्तिकै विकाशले एक जनालाई साथीलाई सँगै लिएर हेटौंडा हानिए। पैदले हेटौंडाको सुपारीटार ब्यारेक पुगेपछि पो उनीहरुले थाहा पाए, भर्तीका लागि त टिस्टुङ÷पालुङको चनमन ब्यारेक जानुपर्ने रहेछ। उनीहरुको काम बनेन। भोलि चनमन जाने सोचाइमा उनीहरु पुनः हिँडेरै घर फर्किए।
विकाश र उनका साथी बिहान ५ बजे उठेर हिँड्नुपर्ने थियो। तर, अघिल्लो दिनको लामो हिँडाइको थकानले बिहान ९ बजेसम्म सुतेको सुत्यै भएछन्।
भर्ती स्थल पुग्न नसकेपछि विकाशको सैनिक बन्ने सपना तुहियो। उनका बुबाले सधैं व्यापार गर्नुपर्छ भनेर सम्झाउँथे। जागिरलाई दोस्रो रोजाइमा राख्न सुझाउँथे। हुन पनि उनको परिवारमा पहिल्यैदेखि व्यापार गर्ने चलन थियो।
‘बुबाले गाउँघरमा पाइने अमला, नासपाती, खुवा ल्याएर दक्षिणकालीमा बेच्नुहुन्थ्यो। छोराले पनि व्यापारै गरोस् भन्ने चाहना उहाँको थियो’, उनले भने।
सेनामा भर्ती हुने सपना नासिएपछि विकाशले रोजगारीका लागि काठमाडौंलाई गन्तव्य बनाए। काठमाडौं पनि उनले सोचेझैं कहाँ सजिलो थियो र! उनले यहाँ अनेकौं हन्डर खाए।
कहिले सीतापाइलाको जंगलमा रुख काट्ने त कहिले पेट्रोलपम्पमा तेल भर्ने काम गरे, उनले। पाटन औद्योगिक क्षेत्रमा मजदुरी गर्न पनि भ्याए। मजदुरी गरेर पसिना पोखेका कति ठाउँमा त ज्यालासमेत नपाएको उनी विगत कोट्याउँछन्।
राम्रो काम र दामका लागि भौतारिइरहँदा एक जना दाइले चिनियाँ होटलमा काम गर्ने अवसर मिलाइदिए। उनी सजिलै होला भन्ठानेर होटलको काममा गए। दरबारमार्गस्थित होटल रोयल सिंगीको सातौं तल्लामा रहेको उक्त चिनियाँ रेस्टुरेन्टमा पुग्दा विकाशलाई अर्कै ग्रहमा आएजस्तो भयो।
‘मलाई होटलबारे केही थाहा थिएन। त्यहाँ भाँडा माझ्ने काम पाएँ। त्यो बेला रेस्टुरेन्टबारे म पूरै अन्जान थिएँ। यतिसम्म कि प्रयोग गरेर हुइँक्याउनुपर्ने टोम्याटो ससको बोतलसमेत धस्काएँ। मलाई त्यो बोतल दोस्रो पटक काम आउँदैन, फाल्ने हो भन्नेसमेत पत्तो थिएन,’ उनले विगत कोट्याए।
विकाशले उक्त रेस्टुराँमा २ वर्षसम्म भाँडा मात्रै माझे। ‘चिनियाँ कुकले हामीलाई भान्छा चलाउन दिन्थेनन्। म छेउमा बसेर हेर्थें मात्र । हेरेरै अलिअलि कटिङ सिकेँ। चिनियाँ भाषा पनि सिक्दै गएँ,’ उनले भने।
विकाशको लगन र मिहिनेत देखेर चिनियाँले असाध्यै मन पराउन थाले। सानो जिउडाल भएकाले उनलाई सबैले सानो भाइ भन्थे। उनीहरुकै सिको सापटी लिएर चिनियाँले पनि उनलाई सानो भाइ भनेरै सम्बोधन गर्थे। कामप्रतिको अथक लगाव र इमानदारीका कारण उनलाई चिनियाँले माया गर्थे।
एक दिन सिनियर चिनियाँ स्टाफले उनलाई भने, ‘सानो भाइ डाइनिङको काम गर्छौ?’ विकाशले पनि डाइनिङमा वेटरको सफासुग्घर काम पाएपछि नाइँ भनेनन्। रेस्टुरेन्टमा काम गरेको २ वर्षपछि उनी डाइनिङ टेबुलमा पुगे। विकाश वेटर हुँदै क्याप्टेन र म्यानेजरसम्म भए। वेटर हुँदा हजारौं पाहुनालाई सर्भ गरे तर एक जनालाई सर्भ गरेको भने कहिल्यै बिर्सिंदैनन्, उनी।
‘मैले तत्कालीन राजकुमार दीपेन्द्रलाई कयौं पटक सर्भ गर्ने मौका पाएको छु। उहाँ हाम्रो रेस्टुरेन्टमा आउँदा चिनियाँ साहूले मलाई मात्र पठाउँथे,’ उनले भने। यसरी काम राम्रै चल्दै थियो। तर, चिनियाँ साहूले अकास्मात उक्त रेस्टुरेन्ट छाड्ने निर्णय गरे।
काम गरेको १३ वर्षपछि उनी बेरोजगार भए। अब विकाशसँग दुइटा मात्रै विकल्प भए–जागिर खोजीमा हिँड्ने वा आफ्नै केही गर्ने।दोधारे अवस्थामा रहिरहेका बेला उनले वर्षौं पहिले आफ्नै बुबाले व्यापार, व्यवसाय गर्नुपर्छ भनेको कुरा एक्कासि सम्झिए।
तर, व्यापार व्यवसाय गर्न पुग्ने पैसा विकाशसँग हुने कुरै भएन। उनले धेरै साथीभाइलाई सँगै मिलेर काम गरौं भने।
कसैले मानेनन्। उनलाई पत्याइहाल्ने बाटो पनि थिएन। तर, सँगै काम गरेका साथी बुद्धि श्रेष्ठ भने सहकार्य गर्न तम्तयार भए।अब विकाशलाई व्यवसाय गर्न उपयुक्त थलोको खाँचो थियो। खोज्दाखोज्दै हात्तीसारमा ठाउँ पाए। उनीहरुले चीनबाट सामान अर्डर गरे। उनीहरुले पाएको ठाउँमा सबै ‘स्ट्रक्चर’ आफ्नै खर्चमा बनाउनुपर्ने थियो।
त्यही बेला उनलाई अर्को खाली ठाउँबारे जानकारी आयो। दरबारमार्गको त्यो ठाउँमा रहेको कोरियन रेस्टुरेन्ट हट्दै थियो। स्ट्रक्चर बनाउने खर्च जोगिने भएपछि हात्तीसार छाडेर दरबारमार्गमा व्यवसाय थाल्ने सोच बनाए, दुवै जनाले। तर, ६ महिनाजति पर्खिंदासम्म पनि त्यो ठाउँ खाली नै भएन।
त्यही बेला भाग्यवश उनीहरुले दरबारमार्गकै मोतीमल माथि ठाउँ खाली भेटे। त्यो बेलासम्म उनीहरुले चीनबाट खरिद गरेका सामान पनि आइसकेका थिए। दुई जनाले ऋण/धन गरेरै त्यहाँ चाइनिज रेस्टुरेन्ट सञ्चालनमा ल्याए। ‘हामी दुवैसँग पैसा थिएन। कि जंगे रेलमा, कि जंगे जेलमा भनेर रेस्टुराँ सुरु गरेका थियौं,’ उनले व्यवसायी सुरु गर्दाको स्मरण सुनाए।
उनीहरुलाई भग्यले साथ दियो। रेस्टुरेन्ट राम्रै चल्यो। तर भाग्यले लम्बेतान हुन सकेन। ७२ वैशाखमा नेपालमा हजारौंको मृत्यु र अर्बाैंको भौतिक पूर्वाधार नामेट हुने भुइँचालो आयो। त्यसपछि रेस्टुरेन्ट चल्न छाड्यो। घाटाको व्यापारकै समय विकाश रेस्टुरेन्टबाट अलग्गिए।
भुइँचालोको कहर थामिँदै गयो। उनी फेरि रेस्टुरेन्ट खोल्ने ठाउँको खोजीमा लागे। ठाउँ खोज्दाखोज्दै एक वर्ष भौतारिए। एक दिन उनले हात्तीसारमा एउटा सामान्य ठाउँ पाए। त्यसपछि त्यहीँ रेस्टुरेन्ट गर्ने निधोमा पुगे। विकाशले त्यो ठाउँमा सबै सेटअप र सञ्चालन खर्चका लागि करिब १ करोड खर्चिए।
पैसा धेरै खर्च भए पनि रेस्टुरेन्ट राम्रो चल्यो। स्टाफ थप्दै गए। त्यही बेला विश्वव्यापी कोरोना महाव्याधी फैलियो। कोरोना नियन्त्रणका लागि सरकारले बन्दाबन्दी (लकडाउन) घोषणा ग¥यो। कतिपय स्टाफले आफैं जागिर छाडे। बाँकीलाई उनले आधा भने पनि तलब दिए। तलब दिन र रेस्टुरेन्ट बचाउन आफूले चढ्दै आएको गाडीसमेत बेच्नुपरेको उनी बताउँछन्।
‘बिजनेस बच्यो भने त गाडी फेरि चढौंला भन्ने सोचेँ। म आफैं किचनको काम पनि गर्न थालें। डेलिभरीमा पनि जान्थें। श्रीमतीले पनि मलाई रेस्टुरेन्टमा सहयोग गर्न थालिन्,’ उनले भने।
कोरोना विस्तारै नासिँदै गयो। उनको व्यापार पनि चम्किँदै गयो। अहिले फेरि उनको रेस्टुरेन्टमा स्वदेशी र विदेशी पाहुना भरिभराउ हुन थालेका छन्। रेस्टुरेन्टमा ग्राहक खचाखत हुन थालेका छन्। व्यवसाय चल्न थालेको छ।
यसरी व्यापार राम्रो हुँदै गएपछि रेस्टुरेन्टलाई थप व्यवस्थित गर्ने योजनामा छन्, विकाश। ‘पैसा भनेको त्यस्तै हो। बरु रेस्टुरेन्ट बढाएर अरु २/४ जनालाई रोजगारी दिन सके त्यही नै मेरो उपलब्धि हो,’ उनले भने।