काठमाडौं। नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले सरकारसँग सवारी ऋणको जोखिम–भार घटाएर ऋण मूल्य अनुपात ७५ प्रतिशत बनाउन माग गरेको छ। हाल जोखिम भार १२५ प्रतिशत छ भने ऋण मूल्य अनुपात ५० प्रतिशत छ।
शुक्रबार नाडा अध्यक्ष करण चौधरी नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर अटो व्यवसायमा देखिएका समस्या तत्काल समाधान गर्न माग गरेको हो।
यस्तै, चालू पुँजी कर्जासम्बन्धी निर्देशिकामा भएका केही अव्यावहारिक बुँदालाई तत्कालै संशोधन गर्न तथा भारतीय मालवाहक ट्रकलाई ७२ घन्टासम्म निर्वाध रुपमा नेपालमा प्रवेश गर्न दिइँदा नेपालको अटोमोबाइल व्यवसायमा नकारात्मक असर परेकाले त्यसलाई व्यवस्थित गर्न प्रधानमन्त्रीसँग माग गरिएको अध्यक्ष चौधरीले बताए।
नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतीले नेपालको अटोमोबाइल उद्योग समस्या र समाधानबारे प्रधानमन्त्रीलाई प्रस्तुतिमार्फत0 विस्तृत जानकारी गराएका थिए।
छलफलमा प्रधानमन्त्रीले विद्युतीय सवारी साधन, चार्जिङ स्टेसन र नेपालमा अटोमोबाइल उद्योग सम्भावना सम्बन्धमा विशेष चासो राख्दै व्यवसायीबाट प्रस्तुत समस्या समाधानका लागि आवश्यक पहल गरिने प्रतिबद्धता जनाएका थिए।
छलफलमा नाडाका वरिष्ठ उपाध्यक्ष आकाश गोल्छा, उपाध्यक्ष राजनबाबु श्रेष्ठ, सचिव विक्रम सिंहानिया, सह–कोषाध्यक्ष पंकज अग्रवाल तथा एसोेसिएसन सचिव सुरेन्द्र प्रधानलगायत उपस्थित थिए।