काठमाडौं। नेपालको सबभन्दा पुरानो प्रजातान्त्रिक दल सत्तारुढ नेपाली कांग्रेसले आज ७८औं स्थापना दिवस मनाइरहेको छ।हालको कांग्रेसले भारतको कोलकातामा नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशन भएको मिति २००३ माघ १२ लाई आधार मानेर हरेक वर्ष स्थापना दिवस मनाउँदै आएको छ।
यस वर्ष पार्टी मुख्यालय सानेपासहित सातै प्रदेश र जिल्लामा विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाइरहेको कांग्रेसले जनाएको छ। दिउँसो २ बजे सानेपा मुख्यालयमा सभापति शेरबहादुर देउवाको उपस्थितिमा विशेष कार्यक्रम गरिने भएको छ।
बीपी कोइरालाको पहलमा २००३ माघ १२ सम्म कोलकाताको भवानीपुरमा युवाको पहिलो भेला भएको थियो, जुन भेलाले नेपाली राष्ट्रिय कांग्रेस स्थापना गरेको थियो। गणेशमान सिंहको प्रस्तावअनुसार भेलाले टंकप्रसाद आचार्यलाई सभापति र बीपी कोइरालालाई कार्यवाहक सभापति चयन गरेको थियो।
स्थापना दिवस समापनपछि कांग्रेसले ‘समुदायमा कांग्रेस’ अभियान पनि सञ्चालन गर्दै छ। ‘समुदायमा जाऔं, जनताका कुरा सुनौं’ नारासहित गाउँ जाने र जनताका आशा, अपेक्षा, सुझाव तथा गुनासा सुन्ने गरी अभियान सञ्चालन गर्न लागिएको कांग्रेसले मुख्यालयले बताएको छ।
अभियानका लागि केन्द्रबाट खटाइने केन्द्रीय प्रतिनिधिलाई स्थानीय स्तरमा सेवा प्रवाहको अवस्था, विकास निर्माण र समुदायमा भएका असल अभ्यासको अवलोकन गर्ने जिम्मेवारी दिइएको छ।
केन्द्रीय प्रतिनिधिबाहेक पदाधिकारी र पूर्वपदाधिकारी समेत प्रत्येक प्रदेशमा पुगेर समुदायमा कांग्रेस अभियानमा सहभागी हुने कांग्रेस मुख्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।
अभियानकै क्रममा १६ माघमा सहिद दिवस अवसर पारेर ६ हजार ७४३ वडामा मात्र कार्यक्रम हुने गरी कार्यतालिका बनाइएको छ। अन्तिम दिन माघ २६ मा पूर्वसभापति स्व.सुशील कोइरालाको स्मृति दिवससँगै अभियान समापन हुने मुख्यसचिव पौडेलको भनाइ छ।