काठमाडौं। नेपाल पञ्चांग निर्णायक विकास समितिले विसं २०८१ का लागि १५ पात्रो (पञ्चांग) लाई स्वीकृति दिएको छ। २०८१ का लागि समितिले १५ वटा पात्रो (पञ्चांग) लाई स्वीकृति दिने निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले बताए।
प्रकाशन स्वीकृति दिइएका पात्रो माघ १५ देखि बजारमा आउने समितिले जनाएको छ। आगामी वर्षका लागि तोयनाथ पन्तको, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, सूर्य, आकाश दर्शन, बंगलामुखी, शुभ, बाबा गोरखनाथ, कीर्ति, सिद्धि, खप्तड तारानाथ र गौरीशंकर गरी १५ पात्रो (पञ्चांग) लाई स्वीकृति दिने निर्णय गरिएको समिति सदस्यसचिवसमेत रहेका कार्यकारी निर्देशक ढुंगेलले बताए।
समितिले २०७९ देखि प्रकाशन सुरु गरेको ‘राष्ट्रिय पञ्चांग’ लाई पनि निरन्तरता दिइने जनाइएको छ। २०७६ सम्म पुस अन्तिम साता नै पात्रो (पञ्चांग) प्रकाशन भइसक्थ्यो। २०७७ पुस २० को मन्त्रिपरिषद्ले समिति गठन आदेश स्वीकृत गरेको थियो। त्यसअघि मन्त्रालयको पत्रका आधारमा मात्र समिति गठन भएर पात्रोलाई स्वीकृति दिने गरिएको थियो।
गठन आदेशअनुसार समितिले स्वीकृति दिएका पात्रो मात्र प्रयोग गर्न आम मानिसलाई सूचना प्रकाशन गरी आह्वान गरिएको छ।
पात्रोमा राखिने तिथि, बार, योग, नक्षत्र र करण गरी पाँच समूहलाई पञ्चांग भनिन्छ। पछिल्लो समय सामान्य मानिसले पनि बुझून् भनी घडीपलालाई बजेमा रुपान्तरण गरेरसमेत पात्रोमा राखिने गरेको छ।
समितिको स्वीकृतिमा पात्रो निस्किएपछि त्यही सारेर भित्तेपात्रो प्रकाशन हुने गरेकाले त्यसलाई व्यवस्थित गर्न लागिएको छ। यस वर्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निर्देशिका तयार पारेको छ। मन्त्रालयका संस्कृति महाशाखा प्रमुख सहसचिवको संयोजकत्वमा गृह मन्त्रालयका प्रतिनिधिसहित सरोकार भएका निकायसमेत प्रतिनिधिको सहभागितामा अनुगमन गरिने जनाइएको छ।
अनुगमन समितिले आवश्यकताअनुसार उपसमितिसमेत गठन गर्न सकिने जनाएको छ। सूचना तथा प्रसारण विभागले मात्र समितिको स्वीकृतिमा भित्तेपात्रो प्रकाशन गर्ने गरेको अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिए।