काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले हिमालयन हाइड्रो एक्स्पोको चौथो संस्करण आगामी वैशाखमा गर्ने भएको छ। इप्पानले हरेक दुई÷दुई वर्षमा आयोजना गर्दै आएको हाइड्रो एक्स्पो आगामी वैशाख १२, १३ र १४ मा आयोजना गर्न लागेको हो।
एक्स्पो आयोजनाका लागि इप्पान र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट कम्पनीबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। सरकारले १२ वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहितको ऊर्जा विकास मार्गचित्र तयार गरेर १० हजार मेगावाट विद्युत् भारतमा र ५ हजार मेगावाट बंगलादेशमा र १३ हजार ५०० मेगावाट विद्युत् आन्तरिक रुपमा खपत गर्ने योजना बनाएको छ।
नेपालले १० वर्षमा १० हजार मेगावाट विद्युत भारतमा निर्यात गर्ने सम्झौता केही साताअघि भएको छ। जलविद्युत् क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यसहित एक्स्पो आयोजना गर्न लागिएको इप्पान अध्यक्ष गणेश कार्कीले बताए।
सरकारले आगामी वैशाखमा आयोजना गर्ने घोषणा गरेको लगानी सम्मेलनमा सहभागी हुने विदेशी लगानीकर्तालाई इप्पान एक्स्पोमा आमन्त्रित गराएर लगानी वातावरण निर्माण गर्ने लक्ष्य राखिएको कार्कीको भनाइ छ।
एक्स्पोमा जलविद्युत् आयोजना निर्माणमा प्रयोग हुने मेसिनरी औजार, बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, सिमेन्ट, डन्डीलगायत सामग्री प्रदर्शनी हुनेछ। यस्तै, जलविद्युत्, सोलार, हाइड्रोजनलगायत विषयमा सेमिनार तथा छलफल चलाइनेछ।
एक्स्पोमा ऊर्जा क्षेत्रका इनोभेटिभ आइडियाबीच स्पर्धा गराइनुका साथै विभिन्न विद्युत् आयोजनाबारे जानकारी दिन डेमो प्रस्तुत गरिनेछन्। एक्स्पोमा २०० बढी स्टल रहने र करिब २५ अर्ब रुपैयाँ बढीको कारोबार हुने अपेक्षा गरिएको छ।