काठमाडौं। फाइभजी’मा प्रवेश गर्न नेपाल दूरसञ्चार प्राधिकरणले ‘रोडम्याप’बनाउने तयारी गरेको छ। सरकारी स्वामित्वको नेपाल टेलिकमबाट एकवर्षे आन्तरिक परीक्षण सकिएसँगै प्राधिकरणले रोडम्याप र सम्भाव्यता अध्ययन तयारी थालेको हो।
प्राधिकरणले परीक्षणका लागि २६०० मेगाहर्ज ब्यान्डअन्तर्गत ६० मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध गराएपछि टेलिकमले गत वर्ष माघ २२ बाट परीक्षण सुरु गरेको थियो। प्राधिकरणले परीक्षणका लागि दिएको एकवर्षे म्याद सकिएको छ। योसँगै अब फाइभजीको रोडम्याप बनाउने तयारी थालेको प्राधिकरणका उपनिर्देशक तथा सहायक प्रवक्ता प्रदीप पौड्यालले जानकारी दिए।
‘फाइभजीबारे कसरी अगाडि बढ्ने भन्ने विषयमा यो आर्थिक वर्षमा रोडम्याप बनाउँदै छौं। त्यसपछि नेपालमा फाइभजीका सम्भावना के–के हुन सक्छन् भनेर पनि अध्ययन गरिरहेका छौं,’ सहायक प्रवक्ता पौड्यालले क्यापिटल नेपालसँग भने, ‘फाइभजीका सन्दर्भमा अध्ययन पनि भइरहेको छ, जुन अन्तिम चरणमा छ।’
प्राधिकरणले अब टेलिकमको आन्तरिक परीक्षणबाट फेवा पारेका विषय पनि हेर्नेछ। टेलिकमले गरेको एक वर्ष परीक्षणका क्रममा देखिएका समस्या, सम्भाव्यता, वातावरण र कठिनाइलगायत विषय आगामी दिनमा फाइभजीको विकास र विस्तारमा सहयोगी हुने प्राधिकरणको विश्वास छ। यद्यपि, परीक्षणबाट के–कस्ता नतिजा देखिए भन्ने विषय प्राधिकरणले टेलिकमसँग माग गरिसकेको छैन।
‘प्राधिकरणले आधिकारिक रुपमा परीक्षणको नतिजा के–के आयो भनेर माग गरिकसकेको छैन। हामीले टेलिकमले भनेको फ्रिक्वेन्सीमै परीक्षण गरे गर्न भनेका हौं,’ सहायक प्रवक्ता परमात्मा भट्टराईले भने, ‘एक वर्षका लागि दिइएकाले पुनः थप समय गर्ने/नगर्ने भन्ने विषय अलग होला। अन्यथा, आधिकारिक रुपमा फ्रिक्वेन्सी नै फिर्ता मागेको अवस्था छैन।’
कस्तो रह्यो एकवर्षे परीक्षण
टेलिकमले २०७९ माघ २२ बाट काठमाडौंस्थित बबरमहल र सुन्धारा कार्यालयबाट फाइभजी नेटवर्कको आन्तरिक परीक्षण सुरु गरेको थियो। यसको करिब तीन महिनापछि उसले परीक्षण सेवा विस्तार गर्दै गण्डकीको पोखरा र मधेस प्रदेशको वीरगन्जबाट पनि फाइभजी परीक्षण सुरु गर्यो। यसपछि सातै प्रदेशका कम्तीमा एक ठाउँमा परीक्षण गर्ने सोचका साथ टेलिकमले अनुमति मागेको थियो।
तर, सो अनुमति प्राप्त नहुँदै कम्पनीलाई आन्तरिक परीक्षणका लागि दिइएको एकवर्षे म्याद सकिएको हो। परीक्षणको सुरुमै फाइभजी चल्ने मोबाइल अर्थात् विशेषगरी ६० मेगाहर्ज फ्रिक्वेन्सीमा फाइभजी चल्ने मोबाइल नपाएको अवस्था थियो। यसले पनि परीक्षणमा समस्या भएको टेलिकमले बताउँदै आएको थियो।
तर, गत एकवर्षे परीक्षण कस्तो रह्यो भन्ने विषयमा टेलिकम आफैं निष्कर्षमा पुगिसकेको अवस्था देखिँदैन। फाइभजी परीक्षणमा गएपछि पनि यसका फरक–फरक मोडल हुन्छन्। विशेषगरी स्ट्यानेबल र नन्स्ट्यानेबल गरी दुई मोडल प्रयोगमा छन्। एउटा फोरजी र फाइभजीलाई मिलाएर लग्ने किसिमको ढाँचा भएको हुन्छ भने अर्को पूर्ण रुपमा फाइभजी मात्रै ल्याउने ढाँचाको हुन्छ।
अहिले टेलिकमले फोरजीबाटै फाइभ–जीलाई सँगै लग्न सकिने/नसकिने अवधारणामा आधारित भएर परीक्षण गरिरहेको छ। ‘परीक्षणबाट यो र यस्तो नतिजा आयो भनेर सार्वजनिक गरे पनि तत्काल त्यसमा गइहाल्ने विषय यो होइन। भोलि हामी फाइभजी कार्यान्वयन गर्न जाँदै गर्दा कस्ता–कस्ता पाटा हेर्नुपर्छ भन्ने विषय हेरिएको छ,’ भट्टराईले भने, ‘यद्यपि, छोटो समयमै यसमा जानुपर्ने अवस्था आयो भने त्यसका लागि तयार रहनुपर्ने अवस्था छ।’
टेलिकमले गरेको एक वर्ष परीक्षणका क्रममा देखिएका समस्या, सम्भाव्यता, वातावरण र कठिनाइलगायत विषय आगामी दिनमा फाइभजीको विकास र विस्तारमा सहयोगी हुने प्राधिकरणको विश्वास छ। यद्यपि, परीक्षणबाट के–कस्ता नतिजा देखिए भन्ने विषय प्राधिकरणले टेलिकमसँग माग गरिसकेको छैन।
फाइभजी ल्याउन हतारिनुपर्ने अवस्था हो?
प्राधिकरणले परीक्षणका लागि एउटा फ्रिक्वेन्सी उपलब्ध गराए पनि नेपालमा फाइभजीका लागि कुन फ्रिक्वेन्सी प्रयोग गरिन्छ भन्ने विषय अझै टुंगिएको छैन। नेपाल दुई ठूला छिमेकी चीन र भारतको बीचमा छ। यसर्थ, छिमेकीले फाइभजीमा कस्तो रणनीति अपनाउँछन् भन्ने विषय पनि महत्त्वपूर्ण रहन्छ।
दुई छिमेकी एउटै दिशातर्फ अगाडि बढे अर्थात् एउटै फ्रिक्वेन्सी प्रयोग गरे भने नेपाललाई पनि सोही ब्यान्डविथको फ्रिक्वेन्सी प्रयोगमा सहज हुने देखिन्छ। तर, दुवै छिमेकी फरक–फरक रणनीतिका साथ भिन्न दिशामा पनि अगाडि बढ्न सक्छन्। त्यसैले दुई छिमेकीले फाइभजीका लागि पक्रने बाटोले नेपालको बाटो कता हो भन्ने निर्धारण गर्नेछ।
त्यसो त, दूरसञ्चार प्राधिकरणले पनि हाल फाइभजीका विषयमा स्पष्ट बाटो देखाउन सकेको छैन। नेपाल कुन रेन्जमा जाने भन्ने विषय अहिलेसम्म निक्र्योल नभएको अवस्था छ। अहिले व्यावसायिक (कमर्सियल)मा जाने समय भइसकेको अवस्था छैन। भोलिका दिन कसरी जान सकिन्छ, के गर्न सकिन्छ भन्नेबारे घोतलिने समय भएको देखिन्छ। यसैकारण टेलिकम फाइभजी विस्तारमा हतारिएको छैन।
‘तत्कालका लागि हामीलाई फाइभजीले अड्काएको विषय केही छैन। फोरजीबाट प्राप्त गर्न सकिने लाभ नै हामीले लिन नसकेको अवस्थामा हालका लागि फाइभजी कति उपयोगी हुन्छ भन्ने विषय मुख्य हो,’ टेलिकमका सह–प्रवक्ता भट्टराइले भने, ‘जबसम्म नयाँ प्लेटफर्म, कन्टेन्ट वा पूर्वाधार मानिसले प्रयोग गर्ने र त्यसका लागि फाइभजी नै आवश्यक पर्ने अवस्था सिर्जना हुँदैन, तबसम्म अत्तालिनुपर्ने अवस्था छैन।’
यद्यपि, विश्वव्यापी अवधारणा हेर्ने हो भने फाइभजीमा पूर्ण रुपमा जान ८ वा १० वर्षको समय लागेको देखिन्छ। सुरु गरेर त्यसलाई स्वीकार्य गराउन पनि यो समयावधि लागेकाले नेपाल र सम्बन्धित निकाय चुप लागेर बस्ने समय होइन। फाइभजी आफैंमा धेरै खर्चिलो छ। फाइभजीमा जाँदै गर्दा यसका लागि कम्पनीहरुले पूर्ण रुपमा नयाँ लगानी गर्नुपर्दछ।
‘हाम्रोमा फाइभजी, फाइभजी मात्रै भनेर हुँदैन। यसका लागि सबै वातावरण तयार भएको छ÷छैन भन्ने विषय पनि रहन्छ। फाइजीन आएका कारण व्यवसाय ठप्प भयो र केही कुरा नै अगाडि बढ्न सकेन भने हामीले प्रविधि विस्तारमा हतार गर्नुपर्छ,’ भट्टराई भन्छन्, ‘अन्यथा अहिले फोरजीले नै सबै काम गरेको अवस्था छ। यो सन्दर्भमा पनि हामीले तयारी थालिसकेका छौं।’
अहिले हतारिएर लगानी गर्दा भोलि व्यवसाय चलेन भने टेलिकमलाई गाह्रोसाह्रो पर्ने भट्टराईको भनाइ छ। टेलिकमले प्रयोगकर्ताको आवश्यकता, व्यवसायलगायत हेरेर यस विषयको विकासमा अगाडि बढ्नेछ। अहिले कम्पनीको व्यवसाय खस्किँदै गएको अवस्थामा नयाँ र ठूलो लगानी गर्न सोच्नुपर्ने भट्टराईले स्पष्ट पारे। लगानी गरेपछि व्यवसाय दिगो हुने÷नहुने विषय यसका लागि महत्त्वपूर्ण हुने उनको बुझाइ छ।
‘छिमेकी मुलुक वा विश्व फाइभजीका सन्दर्भमा कुन इकोसिस्टममा जान्छन् र हामी कुन बाटोमा जाँदा ठिक हुन्छ, त्यसरी अगाडि बढ्ने हो,’ भट्टराई भन्छन्, ‘नेपालका बस्ती संरचना र बनाबटअनुसार फाइभजी आएपछि सेवा विस्तारका लागि अप्टिकल फाइबर उपयुक्त हुने देखिन्छ।
फाइभजी विश्व बजारमा विस्तार भइरहेको पछिल्लो मोबाइल नेटवर्क हो। यसमा सामान्यतया २० गिगाबाइट (२० हजार मेगाबाइट) प्रतिसेकेन्डसम्म डेटा सार्ने क्षमता हुन्छ। मुख्यतः फाइभजी, फोरजी वा थ्रीजीजस्ता अघिल्लो पुस्ताको नेटवर्कभन्दा अझ ‘एडभान्स’ र विशिष्ट हुन्छ। फाइभजी नेटवर्क गतिका हिसाबले उच्च हुन्छ। यसले ‘क्लाउडबेस’ कम्प्युटर स्रोत उपयोगलाई प्रोत्साहित गर्ने बताइएको छ।