काठमाडौं। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेवानि)ले १ खर्ब ३५ अर्ब रुपैयाँ सरल ब्याज कर्जा (सफ्ट लोन) लिन अन्तर्राष्ट्रिय बोलपत्र खुलाएको छ।
नेवानिले अन्तर्राष्ट्रिय स्तरबाट लिएको सफ्ट लोन अहिलेको ऋण (कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको ऋण) तिर्न, थप जहाज किन्न र अन्तर्राष्ट्रिय स्तरको जहाज मर्मतसम्भार ह्यांगर निर्माणका लागि खर्चिइनेछ। अन्तर्राष्ट्रिय संघ–संस्थाबाट लिइने ऋण एकैपल्ट नभई निगमको व्यावसायिक लगानी आवश्यकताअनुसार लिइनेछ।
नेवानि सञ्चालक समितिले गरेको प्रस्तावलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सैद्धान्तिक सहमति दिएको छ। नेवानि सञ्चालक समितिले गत जेठ २५ मा सफ्ट लोन लिने प्रस्ताव सरकारसमक्ष पेस गरेको थियो।
नेवानिको पर्यटन मन्त्रालयले माघ ४ मा स्वीकृति दिएपछि नेवानिले माघ ९ मा सफ्ट लोनका लागि आशयपत्र आह्वान गरेको छ। तर, नेवानिले अन्तर्राष्ट्रिय दाताबाट लिने ऋण पर्यटन मन्त्रालय, अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकसँग आवश्यक समन्वय गरी प्रयोग गर्न पाउनेछ।
‘अन्तर्राष्ट्रिय दाताबाट लिएको ऋण सञ्चय कोष र नागरिक लगानी कोषको ऋण ऋण तिर्नुका अतिरिक्त नेवानिको १० वर्षे व्यावसायिक योजनाअनुसार आन्तरिक तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उडान भर्ने जहाज खरिद र अन्तर्राष्ट्रिय स्तरको जहाज मर्मतसम्भार ह्यांगर निर्माणमा प्रयोग हुन्छ,’ नेवानि अध्यक्ष युवराज अधिकारीले भने।
नेवानिले यसअघि २ वाइडबडी जहाज खरिद गर्न नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषबाट लिएको ऋणको ब्याज महँगो भएको बताउँदै आएको छ। अहिले दुवै कोषबाट लिएको ऋणको ब्याज मात्रै वार्षिक करिब साढे ३ अर्ब रुपैयाँ नेवानिले तिर्दै आएको छ।