काठमाडौं। सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य अंकको गिरावट आएको छ। साताको कारोबारको अन्तिम दिन बिहीबार नेप्से ३.९४ अंकले घटेर २ हजार ८४.०९ बिन्दुमा कायम भएको छ।
कारोबारको अघिल्लो दिन बुधबार पनि नेप्से १०.२५ अंकले घटेर २ हजार ८८ दशमलब ०४ को बिन्दुमा बन्द भएको थियो। यस्तै, गत साता बिहीबारदेखि कारोबार रकममा देखिएको गिरावटले आज पनि निरन्तरता पाएको छ। नेप्सेमा बिहीबार कुल ३ अर्ब ७६ करोड रुपैयाँ बढीको कारोबार भएको छ।
अघिल्लो दिन बुधबार भने कुल ३ अर्ब ८९ करोड ७० लाख रुपैयाँ बढीको कारोबार भएको थियो। यसैगरी गएको मंगलबार ४ अर्ब २९ करोड, सोमबार ६ अर्ब २८ करोड, आइतबार ७ अर्ब ६४ करोडको कारोबार भएको थियो। अघिल्लो साताको बिहीबार भने ८ अर्ब बढीको कारोबार भएको थियो।
बिहीबार कारोबारमा आएका ९१ कम्पनीको सेयर मूल्य बढ्दा १ सय ४१ कम्पनीको सेयर मूल्य घटेको छ। यस्तै १५ कम्पनीको सेयर मूल्य स्थिर छ।
बिहीबार साम्लिंग पावर कम्पनीको सेयर मूल्य ९.९९, मिड सालु हाइड्रापावरको ८.७९, इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको ८.१२ र नेपाल हाइड्रो डेभलपर्सको सेयर मूल्य ७.०१ प्रतिशतले बढ्नेबाहेक अन्यमा खासै वृद्धि देखिएन।
आज सिटिजन्स म्युचल फण्ड–२ को सेयर मूल्य सबैभन्दा बढी ५.०३ प्रतिशतले घट्दा धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ४.३५ प्रतिशतल घटेको छ।