काठमाडौं। त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागले राष्ट्रिय लेखा र मुद्रा माग दृष्टिकोण प्रयोग गरेर नेपालमा अनौपचारिक अर्थतन्त्रको सम्भावित दायरा समेटिएको अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ।
राष्ट्रिय लेखा विधिअनुसार आर्थिक वर्ष २०१०/११/२०२०/२१ सम्मः अर्थतन्त्रको औसत आकार ४२.६६ थियो। आर्थिक वर्ष २०२०/२१ मा मात्रै ३८.६६ प्रतिशतमा समेटिएको छ।
मुद्रा मागविधिद्वारा गरिएको अध्यययनअनुसार आर्थिक वर्ष २०१०/११/२०२०/२१ सम्म नेपालको अनौपचारिक अर्थतन्त्रको आकार औसत ४०, ६० प्रतिशत र आर्थिक वर्ष २०२०/२१ मा जम्मा ४१.३१ प्रतिशत रहेको देखाएको छ।
अर्थतन्त्रको आकार ४०–४२ प्रतिशत हुनु धेरै भएको अध्ययनको निष्कर्ष छ। अनौपचारिक अर्थतन्त्रको आकारलाई क्रमशः घटाउँदै लैजान उसले सुझाएको छ। यसमा राम्रो/नराम्रो व्याख्या भन्दा पनि अनौपचारिक अर्थतन्त्रका पनि अर्थतन्त्रमा देन रहेको अध्ययनको निष्कर्षमा भनिएको छ। अध्ययनले अनौपचारिक अर्थतन्त्रलाई मान्यता दिन र मूलधारमा ल्याउन सुझाएको छ।
सीमा तथा थप अध्ययन
अनौपचारिक अर्थतन्त्रबारेका तथ्यांक र विधिमा सीमितताका कारण उल्लेख गरिएका अनुमान अनौपचारिक अर्थतन्त्रको औसत आकार रहेको अध्ययनले औंल्याएको छ।
अध्ययनले देखाएको अनौपचारिक अर्थतन्त्रको विस्तारलाई ध्यानमा राख्दै नेपालको अनौपचारिक अर्थतन्त्रको प्रकृति, प्रकार र कभरेज बुझ्न थप अनुसन्धानको आवश्यक रहेको भनिएको छ।
अनौपचारिक अर्थतन्त्रमा अनौपचारिक लेनदेन व्यापक भएको देखिएकाले पहिचान गरिएका क्षेत्रको थप निदान गर्न सर्वेक्षणमा आधारित अध्ययन आवश्यक रहेको निष्कर्ष निकालिएको छ।
अध्ययनको क्षेत्रगत विस्तृत
अर्थतन्त्रको आकार र आर्थिक विकासको स्थिति जस्तोसुकै अवस्थामा भए पनि अनौपचारिक अर्थतन्त्र सबैका लागि चिन्ताको विषय रहेको अध्ययनमा भनिएको छ। अनौपचारिक अर्थतन्त्रको आकारले आर्थिक, सामाजिक अवस्था वा विकास, राष्ट्रिय लेखा र सार्वजनिक वित्त जस्ता क्षेत्रमा महत्त्वपूर्ण प्रभाव पार्ने जिकिर अध्ययनमा गरिएको छ।
अनौपचारिक अर्थतन्त्र वा रेकर्ड नगरिएका आर्थिक गतिविधि देश–देश, क्षेत्र– क्षेत्र, गतिविधि–गतिविधि, समय–समय, सरकारी नीतिको पटक–पटकको फेरबदल,या खुला वा नियन्त्रित अर्थतन्त्रअनुसार फरक–फरक हुने अध्ययनले औंल्याएको छ।
अनौपचारिक अर्थतन्त्रलाई आर्थिक अध्ययन क्रममा छाया, भूमिगत, कालो, लुकेको, अनौपचारिक, समानान्तर, रिपोर्ट नगरिएको वा रेकर्ड नगरिएको अर्थतन्त्रजस्ता विभिन्न नामबाट सम्बोधन गर्ने प्रयत्न गरिएको अध्ययनमा भनिएको छ। तर, माथि उल्लिखित सबैको समान अर्थ नहुने औंल्याइएको छ। मापन गर्ने विधि पनि फरक–फरक हुने हुँदा अनौपचारिक अर्थतन्त्र अर्थतन्त्रभित्र सबैका एउटै वा समान आकार नहुने भनिएको छ।
अतः अनौपचारिक अर्थतन्त्रबारे गरिएको अध्ययन एउटै तरिका वा परिभाषाले व्याख्या गरियो भने गलत हुने, गलत बुझिने, गलत सम्प्रेषण हुने हुँदा यसबारे चर्चा गर्दा थप संवेदनशील हुन आवश्यक रहेको निष्कर्ष निकालिएको छ।
अनौपचारिक अर्थतन्त्रको आकार मापन गर्दा समावेश गरिएका विषय
व्यक्ति आफैंका लागि रोजगारी र आय सिर्जना गर्न, आफैंका लागि वस्तु तथा सेवा उत्पादन गर्न र उपभोग गर्न, घरपरिवारभित्र आफ्नै लागि प्रयोग वा उपभोगका लागि उत्पादन गरिएका वस्तु र सेवा स–साना उत्पादन इकाइ। तिनमा प्रयोग भएका उत्पादनका साधन, जसमा श्रम र पुँजीबीचको स्पष्ट भिन्नता देखाउन जटिल हुन्छ। मूलतः एक वा दुई व्यक्तिबाट उत्पादित वस्तु वा सेवा।
उत्पादन एवं रोजगारीसँग सम्बन्धित गलत रिपोर्टिङ भएका, आंशिक रुपमा रेकर्ड गरिएका वा रेकर्ड नगरिएका वा नभएका, कानुनी रुपले वैध वा कानुनी रुपले अवैध नभनिएका वा भनिएका आर्थिक गतिविधि वा वस्तु वा सेवा।
वैध वा कानुनले अवैध नभनेका वा अवैध कानुनी गतिविधिको परिणामस्वरूप आप्रकाशित वा पत्ता नलागेको आय, मौद्रिक, वा गैरमौद्रिक लेनदेनबाट प्राप्त आय, जानेर वा नजानेर छुटाएका कर, सामान्यतः सरकारी निकायमा दर्ता भएको भए कर तिर्नुपथ्र्याे तर जानेर वा नजानेर दर्ता नगरिएको वा दर्ता भएर पनि कर नतिरिएको, औजार र गैर–औजारमा आधारित वस्तु वा सेवा उत्पादन, विद्यमान करको दायरामा नपरेको वा व्यक्ति वा संस्थाले जानेर वा नजानेर दायराभित्र नपारेको।