काठमाडौं। ७२ भूकम्पले ढलेको सुन्धारास्थित धरहरा पुनर्निर्माण चिनियाँ निर्माण कम्पनी जेएलटिसी र नेपालको रमन कन्स्ट्रक्सनले जोइन्ट भेन्चर (जेभी) मा काम गर्दै आएका छन्। २०७५ वैशाख १२ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेर निर्माण थालिएको धरहरा अझै पूरा हुन सकेको छैन।
निर्माण कम्पनीले छैटौंपल्टसम्म म्याद थपेर पनि धरहराको काम नसकेपछि सातौंपल्ट म्याद थपका लागि सहरी विकास तथा भवन विभागअन्तर्गतको इकाइ आयोजना कार्यालयमा प्रस्ताव पठाएको छ। धरहरा निर्माणले पूर्णता पाइनसके पनि सर्वसाधारणका लागि भने आगामी आर्थिक वर्षबाट खुलाइने घोषणा भएको छ।
माघ १० सम्म ९० प्रतिशत भौतिक प्रगति भइसक्ने धरहरा पुनर्निर्माण २०८१ असारभित्रै सम्पन्न गर्ने लक्ष्य निर्माण कम्पनीको छ। आगामी असारभित्र निर्माण सम्पन्न गरेर साउन १५ देखि सर्वसाधारणलाई अवलोकनका लागि खुलाइने भएको हो।
२०७५ मा तत्कालीन पुनःनिर्माण प्राधिकरणसँग रमण कन्स्ट्रक्सनले २०७७ असोज २० मा निर्माण सम्पन्न गर्ने सम्झौता गरेको थियो। हाल पुनर्निर्माण प्राधिकरण खारेज भएर धरहरा निर्माणको स्वामित्व सरहरी विकास मन्त्रालयको भवन निर्माण विभागसँग छ।
धरहरा पुनर्निर्माण सुरु भएसँगै कोरोना महामारी सुरु भएको तथा भेरियसन (सम्झौतापछि कम्पनीलाई काम थपिनु) हुँदा तोकिएको समयमै सम्पन्न हुन नसकेको निर्माण कम्पनीले जनाएको छ। ६ पल्टसम्म पनि धरहराले पूर्णता पाउन नसकेपछि निर्माण कम्पनी रमन कन्स्ट्रक्सनले सातौंपल्ट म्याद थपका लागि प्रक्रिया अगाडि बढाएको हो।
पछिल्लो पटकको म्याद माघ २ मा सकिएपछि २०८१ असार मसान्तसम्म म्याद थप माग गरेर फाइल पठाएको रमन कन्स्ट्रक्सनका इन्जिनियर साजन अवालले जानकारी दिए। इन्जिनियर अवालका अनुसार मुख्य धरहराको काम सकिएको छ।
माघ १० सम्म ९० प्रतिशत भौतिक प्रगति भइसक्ने धरहरा पुनर्निर्माण २०८१ असारभित्रै सम्पन्न गर्ने लक्ष्य निर्माण कम्पनीको छ। आगामी असारभित्र निर्माण सम्पन्न गरेर साउन १५ देखि सर्वसाधारणलाई अवलोकनका लागि खुलाइने भएको हो।
‘मिन म्युजियम’ र बत्ती बनाउन बाँकी रहेकाले असारसम्म निर्माण सम्पन्न हुन्छ। ९० प्रतिशत भौतिक काम सकिएको छ। अब धेरै काम बाँकी छैन। त्यसैले असारमा सम्पन्न गरेर महानगरलाई हस्तान्तरण गर्ने योजना छ,’ इन्जिनियर अवालले भने। निर्माण कम्पनीले काठमाडौं महानगरलाई धरहरा निर्माण सम्पन्न गरेर ताला बुझाएपछि मात्रै सर्वसाधारणका लागि खुलाइने योजना छ।
महानगरका सार्वजनिक निर्माण विभाग प्रमुख सुरज शाक्यका अनुसार साउन दोस्रो साताबाट सर्वसाधारणका लागि धरहरा खुलाउन सकिनेछ। ‘पहिला निर्माण कम्पनीले हस्तान्तरण गर्नुप¥यो। त्यसलगत्तै महानगरको कार्यपालिका बैठकले निर्णय गरेपछि धरहरा खुल्छ,’ क्यापिटल नेपालसँग प्रमुख शाक्यले भने, ‘महानगरको जिम्मेवारीमा आएको १५ दिनभित्रै सर्वसाधारणलाई खुलाउन सकिन्छ।’
त्यस्तै, इकाइ आयोजना कार्यालयका सिनियर डिभिजनल इन्जिनियर (सिडिई) झपडसिंह विश्वकर्मा पनि निर्माणको अन्तिम चरण भएकाले सर्वसाधारणका लागि धरहरा खुल्न धेरै समय नलाग्ने बताउँछन्। अब थपिएको म्यादमा काम सम्पन्न हुने उनको दाबी छ।
७० प्रतिशत काम सकिनासाथ २०७८ वैशाख ११ मा तत्कालीन प्रधानमन्त्री ओलीले धरहराको उद्घाटनसमेत गरेका थिए। तर, उद्घाटन भएको २ वर्ष हुन लाग्दा पनि सर्वसाधारणले चढ्न पाएका छैनन्।
सरकार र निर्माण कम्पनीबीच ५ रोपनीमा धरहरा पुनर्निर्माण गरिने सम्झौता भएको थियो। तर, ‘भेरियसन’ भएर ४२ रोपनी जग्गामा धरहरासहित वरपरका अन्य संरचना पनि रमनले नै बनाएको छ। सोही कारण धरहराको लागत रकम ३ अर्ब ८ करोड रुपैयाँबाट बढेर ३ अर्ब २२ करोड पुगेको छ।