काठमाडौं। नबिल बैंकले नबिल दक्ष प्रवासी उद्यमशील कर्जा योजना सुरु गरेको छ। बैंकले बिहीबारदेखि सुरु गरेको नबिल दक्ष प्रवासी उद्यमशील कर्जा सीमा १० करोडसम्मको छ।
यसमा आयमूलक व्यवसाय/उद्यम सुरु वा विस्तार गर्न, प्रवासी नेपाली र तिनका परिवार लक्षित कर्जा योजना, न्यूनतम आकर्षक ब्याजदरलगायत विशेषता रहेको बैंकले जनाएको छ। कर्जा अवधि १० वर्षसम्मको रहनेछ भने ३ देखि ५ कार्यदिनभित्र कर्जा स्वीकृत हुने बैंकले बताएको छ।
विदेशबाट फर्किएका व्यक्तिले यो कर्जा लिन सक्नेछन्। यसमा ब्याजदरलगायत सहुलियत रहेको र सबै काम डिजिटल माध्यमबाट हुने भएकाले झन्झटिलो नरहेको बैंकको दाबी छ। बैंकले योजना अगाडि बढाउन सरकारसँग सहकार्य गरिने बताएको छ।
कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले वैदेशिक रोजगारबाट फर्किएर, अध्ययन गरेर तथा सीप सिकेर आएका व्यक्तिको क्षमता उपयोगमा सहयोग गर्ने उद्देश्यले यस्तो योजना ल्याइएको बताए।
आयमूलक व्यवसाय/उद्यम सुरु वा विस्तार गर्न, प्रवासी नेपाली र तिनका परिवार लक्षित कर्जा योजनामा न्यूनतम आकर्षक ब्याजदरलगायत विशेषता रहेको बैंकले जनाएको छ। कर्जा अवधि १० वर्षसम्मको रहनेछ भने ३ देखि ५ कार्यदिनभित्र कर्जा स्वीकृत हुने बैंकले बताएको छ।
विदेशमा रहेका नेपालीले रेमिट्यान्स पठाउँदा औपचारिक माध्यमबाट आउन पनि यसले मद्दत गर्ने उनको धारणा छ। ‘यसले मुलुकको अर्थतन्त्रमा पनि सहयोग पुग्छ’, सिइओ ढुंगानाले भने, ‘यसले विदेशबाट फर्किएका व्यक्तिको क्षमता कदर गर्दै मुलुकको उद्यमशीलतामा योगदान गर्छ।’
कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री सरदसिंह भण्डारीले सबै युवा बिदेसिएको अवस्थामा फर्किएका नेपालीले गरेको उद्यमले अन्य युवालाई नेपालमै रोक्न मद्दत गर्ने बताए। ‘हामीले बिदेसिएका जनशक्तिको संख्या मात्र गणना गर्ने गरेका छौं। कति फर्कन्छन् भन्ने कुराको लेखाजोखा राख्न आवश्यक छ’, मन्त्री भण्डारीले भने, ‘यसर्थ, फर्किएका नेपालीलाई उद्यमशील र उत्पादनमूलक क्षेत्रमा लाग्न प्रोत्साहन गर्न आवश्यक छ।’ उनले जुनसुकै उद्यम सुरु गर्न आर्थिक पाटो बलियो हुन आवश्यक भएकाले नबिल बैंकको योजना उपयोगी भएको बताए।
कार्यक्रममा श्रम, रोजगार मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले बिदेसिनेको संख्याका साथै फर्कने संख्या पनि ठूलो रहेकाले नबिलको यो योजनाले उनीहरुलाई नेपालमा उद्यम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। विदेशबाट फर्कने नेपालीलाई सहुलियत कर्जा योजना सञ्चालन गरेर बैंकले सामाजिक उत्तरदायित्व नभुलेको उनको भनाइ छ।
‘सरकारले विदेशबाट फर्कनेका लागि पनि हाल विभिन्न कार्यक्रम अगाडि सार्ने तयारी गरिरहेको छ। सरकारको यो तयारी र गर्न खोजेको कामलाई नबिल बैंकको कर्जा योजनाले सहयोग गर्नेछ’, सचिव भण्डारीले भने, ‘यसले कृषि क्षेत्रको विकासमा मद्दत गर्ने अपेक्षा छ।’ बैंकलाई विदेश जाने तयारी थालेका तथा भिसा लागेका व्यक्तिका लागि पनि सहुलियत कर्जा व्यवस्था गर्न उनले सुझाए।