काठमाडौं। बाग्लुङ–कुश्मालाई एड्भेन्चर हबको रुपमा स्थापित गरेको द क्लिफ नेपालको सेटअपमा भारतको केरलामा नयाँ बञ्जीसहितको एड्भेन्चर पार्क सञ्चालनमा आएको छ। योसँगै क्लिफ अन्तर्राष्ट्रिय स्तरमा पहिलो पटक बन्जीको सेटअप तथा व्यवस्थापनमा संलग्न भएको छ।
क्लिफका अध्यक्ष कार्की, बन्जी क्रू प्रशिक्षक प्रकाश प्रधानसहितको प्राविधिक टोली सो परियोजनामा संलग्न रहेको द क्लिफका अध्यक्ष राजु कार्कीले जानकारी दिए। प्रधान पहिलो नेपाली बन्जी मास्टरसमेत हुन्।
कोलामा वाया नाडा कम्पनीले निर्माण गरेको बञ्जीजम्प तथा अन्य साहसिक गतिविधि स्काई वाक, स्विङ (पिङ), सुपरम्यान स्विङको सेटअप गर्नुका साथै प्राविधिक जनशक्ति द क्लिफबाट उपलब्ध गराइएको कार्कीको भनाइ छ।
निर्माण कार्य अनुगमनको सेटअप र अपरेसन हामीले हेर्ने गरी सहमति भएको थियो,’ अध्यक्ष कार्कीले भने। बञ्जी सञ्चालनका लागि प्रशिक्षक तहका कर्मचारीसमेत भएकाले क्लिफसँग सहकार्य भएको उनको भनाइ छ।
भारु करिब ४० करोड लगानीमा निर्माण भएको बन्जीसहितको एड्भेन्चर पार्कमा रहेको बन्जी पहिलो चरणमा क्रेनबाट सञ्चालन हुने बताइएको छ। ८० मिटर उचाइ रहेको बञ्जीको नाम क्रेन बञ्जी राखिएको छ।
पछि अर्को संरचना तयार गरी बन्जी सञ्चालनमा आउनेछ। दोस्रो चरणमा सञ्चालनमा आउने बन्जीको उचाइ १६० मिटरको हुनेछ। उक्त निर्माणाधीन बन्जी सम्पन्न हुँदा भारतको सबैभन्दा अग्लो बन्जी हुने अध्यक्ष कार्की बताउँछन्। यससँगै केरलाका अन्य तीन ठाउँमा पनि बन्जी सञ्चालन गर्ने क्लिफको तयारी छ।
मुक्तिनाथ दर्शनका लागि केरलाबाट आउने तीर्थयात्रीले पर्वत र बाग्लुङ सीमामा द क्लिफद्वारा सञ्चालित बन्जी देखेपछि त्यहाँका व्यवसायीले चासो राखेका थिए। आफ्नो क्षेत्रमा पनि बन्जी सञ्चालन गर्न सकिने विषयमा त्यहाँका व्यवसायीले चासो राखेपछि क्लिफको टिम सम्भाव्यता अध्ययनका लागि केरला गएको थियो।
‘द क्लिफलाई नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय रुपमा फैलाउने तयारी गरिरहेका बेला भारतीय लगानीकर्ताले राखेको प्रस्ताव स्वीकारेका हौं,’ अध्यक्ष कार्कीले भने, ‘भारतमा हाम्रो उपस्थिति मुलुककै लागि गर्वको विषय हो।’