काठमाडौं। बालाजु पार्कमा जडान गरिएको ग्राउन्ड वाटर रिचार्ज प्रणाली काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोललाई सुम्पिइएको छ।
काठमाडौं महानगर–१६ मा जडान गरिएको उक्त प्रणाली हस्तान्तरण कोका( कोला बेभरेज नेपाल, सेन्टर फर इन्टिग्रेटेड अरबन डेभलपमेन्ट (सिआइयुडी) र वाटरएड नेपालले संयुक्त रुपमा गरेका हुन्।
उक्त परियोजना सन् २०२३ को अक्टोबरमा सुरु भएको थियो भने माघ ५ मा सम्पन्न भएको छ। रिचार्ज प्रणालीमा २१ फिल्टर चेम्बर, २१ रिचार्ज इनार, दुई डिस्टिलिङ चेम्बर, ७५ फिटको रिचार्ज ट्रेन्च र सात बाँसको चेक ड्याम छन्।
परियोजना सिआइयुडीको प्राविधिक सहयोग र बोटलर्स नेपाल तराईको आर्थिक सहयोगमा सम्पन्न भएको हो। यस प्रणालीले वार्षिक लगभग ३० हजार किलो लिटर पानी रिचार्ज गरी यस क्षेत्रको जमिनमुनिको पानी (ग्राउण्ड वाटर) को मात्रा बढाउन मद्दत गर्ने अनुमान गरिएको छ।
यसका रिचार्ज संरचना ‘ग्राउन्डवाटर रिचार्ज इन बालाजु पार्क एरिया इन द काठमाडौं मेट्रोपोलिटान सिटीः एड्रेसिङ इन्क्रिज्ड अर्बन वाटर डिमान्ड’ नामक परियोजनाका मुख्य सफलता रहनेछन्।
परियोजनाको मुख्य उद्देश्य बालाजु पार्क क्षेत्रको पानीको मात्रालाई कायम राख्दै त्यहाँका ढुंगेधारा, प्रसिद्ध बाइसधारा र सामुदायिक इनारका स्रोतलाई पुनर्जीवित गर्नु मात्र नभई पानी अभाव सामना गर्न आवश्यक पर्ने यस्ता पहलका लागि अन्य समुदाय र स्थानीय निकायलाई जिम्मेवार बनाउनेसमेत अपेक्षा गरिएको छ।
कार्यक्रममा काठमाडौं महानगरकी उपमेयर डंगोलले भनिन्, ‘काठमाडौंजस्ता सहरका लागि कृत्रिम ग्राउन्ड वाटर रिचार्ज अत्यावश्यक भएकाले आगामी दिनमा पनि यस्तै किसिमका रचनात्मक रिचार्ज पहल कायम राख्ने प्रतिबद्धता व्यक्त गरिन्।