काठमाडौं। नेपालकै पहिलो स्काई वाक टावर बनाएको वन्डर्स नेपाल समूहले धनकुटाको भेडेटारमा सिसाको स्काई वाक तयार पारेको छ।
वन्डर्सले धरान र धनकुटा सिमानामा रहेको भेडेटारमा स्काई वाक टावरसहित बन्जिजम्प, जिपलाइन, मेगा ट्रोल, एज वाक चिल्ड्रेन एक्टिभिटी र स्विङ सञ्चालन अन्तिम तयारी गरेको हो।
वन्डर्स एम्युजमेन्ट पार्क एन्ड एट्राक्सन प्रालिले २० करोड लागतमा सो परियोजना तयार पारिरहेको छ। वन्डर्स एम्युजमेन्ट पार्क एन्ड एट्राक्सनका निर्देशक सञ्जीव रोक्काका अनुसार आउदो वैशाख १ मा उद्घाटन गर्ने गरी काम भइरहेको छ। ‘अहिले परियोजनाको ९० प्रतिशत काम सकिइसकेको छ,’ निर्देशक रोक्काले भने, ‘सम्भव भएसम्म चैतभित्रै सञ्चालनमा ल्याउने प्रयत्न गरिरहेका छौं।’
उनले सुरुआती लगानी २० करोड रहे पनि कोभिड र आर्थिक मन्दीपछि निर्माण सामग्री मूल्यवृद्धिका कारण परियोजना सम्पन्न हुँदासम्म केही लागत बढ्न सक्ने बताए।
११ रोपनी वन क्षेत्रमा निर्माण भइरहेको यो परियोजना संघीय सरकारले कोसी प्रदेश सरकारमार्फत जग्गा प्राप्ति भएर निर्माण भएको पहिलो हो। कोसी मन्त्रिपरिषद्ले पारित गरेर पहिलो पटक एडभेन्चर टुरिजम गतिविधि सञ्चालन अनुमति दिएको थियो।
सार्वजनिक÷निजी साझेदारी (पीपीपी) मोडलमा निर्माण भइरहेको यो परियोजना सञ्चालनपछि सेवा उपयोग गर्नेबाट लिइने टिकटमा ५ प्रतिशत रकम कोसी प्रदेशले पाउनेछ। सो रकम प्रदेशले नै सम्बन्धित स्थानीय तहलाई समेत पठाउने गरी सम्झौता भएको निर्देशक रोक्काको भनाइ छ।
पछिल्लो समय नेपालमा एडभेन्चर गतिविधि बढिरहेका बेला भेडेटारमा नयाँ परियोजना तयार भएको हो। भेडेटारमा भारतको बिहार, उतर प्रदेश र पश्चिम बंगालबाट धेरै पर्यटक आउने गरेका छन्। ती पर्यटकलाई पर्यटनसम्बन्धी थप गतिविधिमा रमाउने बनाउन प्रदेश सरकारले स्वामित्व लिएर परियोजना सञ्चालन गर्नेछ।
खासगरी हिमाली र पहाडी क्षेत्रमा धेरै एडभेन्चर गतिविधि सञ्चालनका लागि निजी क्षेत्रसँग सहकार्य गर्न सकिन्छ भन्ने उदाहरणसमेत यो परियोजनाले दिनेछ। अहिले धेरै प्रदेश र स्थानीय तहले पीपीपी मोडलमा काम गर्ने चर्चा गरे पनि हालसम्म सम्झौता गरेर कार्यान्वयनमा जान सकिरहेको छैन।
पछिल्लो समय नेपालमा एडभेन्चर गतिविधि बढिरहेका बेला भेडेटारमा नयाँ परियोजना तयार भएको हो। भेडेटारमा भारतको बिहार, उतर प्रदेश र पश्चिम बंगालबाट धेरै पर्यटक आउने गरेका छन्। ती पर्यटकलाई पर्यटनसम्बन्धी थप गतिविधिमा रमाउने बनाउन प्रदेश सरकारले स्वामित्व लिएर परियोजना सञ्चालन गरेको निर्देशक रोक्काले जानकारी दिए।
काठमाडौंको कमलादीमा सञ्चालनमा ल्याएको स्काई वाक टावर र इलामको कन्याम क्लाउड नामक स्काई वाक पनि वन्डर्स ग्रुपले नै निर्माण गरेको हो।
५० मिटरको स्काई वाक र ७० मिटरको बन्जिजम्प
भेडेटारमा निर्माण भएको स्काई वाक ५० मिटरको हुनेछ। पहाडको भित्तामा बनाएको स्काई वाकको मज्जा लिन पाइनेछ। स्काई वाकमा एकैपल्ट दुई सय जना हिँड्न सक्छन्। सिसाको स्काई वाकको तल भीर भएकाले झनै रोमाञ्चक अनुभव लिन सकिने बताइएको छ।
करिब ७० मिटर लामो बन्जिजम्पसमेत गर्न पाइनेछ। एकै ठाउँ धेरै प्रकारका गतिविधि गर्न पाइने भएकाले पनि एडभेन्चर टुरिजममा चासो राख्नेका लागि उत्तम गन्तव्यको रुपमा विस्तार हुने अपेक्षा सञ्चालकको छ।