काठमाडौं। जाजरकोट भूकम्पबाट प्रभावितको सहयोगार्थ प्रधानमन्त्री दैवीप्रकोप सहायताका कोषमा हालसम्म २८ करोड ७१ लाख ४१ हजार ६६५ रुपैयाँ संकलन भएको छ। गत कात्तिक १७ मा जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले धनजनमा क्षति पुगेको थियो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उपलब्ध गराएको विवरणअनुसार सोमबारसम्म विभिन्न संघसंस्था तथा व्यक्तिका तर्फबाट उक्त सहयोग रकम जुटेको हो।
भूकम्पपछिको उद्धार, राहत वितरण तथा पुनःस्थापनाका लागि विभिन्न व्यक्ति तथा संस्थाबाट सहयोग घोषणा भएको थियो। उक्त सहयोगलाई एकद्वार प्रणालीबाट संकलन तथा वितरणका लागि प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमार्फत् सहयोग गर्न सरकारले आग्रह गरेको थियो।
राहत वितरण तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा सहयोग रकम जम्मा गर्न विभिन्न ९ बैंकमा खाता रहेका छन्।
भूकम्पपीडितलाई राहत तथा पुनःस्थापनाका लागि केही समयअघि मात्र सरकारले २ अर्ब बराबर निकासा गर्ने निर्णय गरेको थियो। गत पुस २४ को मन्त्रिपरिषद् बैठकले उक्त कोषमा मौज्दात रहेको रकममध्येबाट विपद् व्यवस्थापन कोषलाई २ अर्ब उपलब्ध गराउने निर्णय गरेको प्रधानमन्त्री तथा मन्पित्ररिषद् कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टले जानकारी दिए।
सहायता कोषमा सबैभन्दा धेरै भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङका तर्फबाट १ करोड ११ लाख ११ हजार एक सय ११ बराबर सहयोग जम्मा भएको छ।
त्यस्तै, बुद्ध एयर प्रालि, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आईएमई बैंक, सूर्य नेपाल प्रालि, नेपाल नागरिक उड्डयन प्राधिकरण, गोर्खा ब्रुअरी प्रालि, युनिलिभर नेपाल मकवानपुरले समान १ करोड बराबर सहयोग गरेका छन्।
जाजरकोट भूकम्पबाट ठूलो जनधनको क्षति भएको थियो। पीडितलाई राहत तथा पुनःस्थापनाको काम अहिले पनि सञ्चालन भइरहेको छ।