काठमाडौं। ग्राहक संख्या वृद्धिमा इन्टरनेट सेवाप्रदायक कम्पनी डिस मिडिया नेटवर्क (डिसहोम) फाइबर नेटले फड्को मारेको छ। डिसहोमले नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम), सुबिसु, भायानेटजस्ता कम्पनीलाई पछि पार्दै दोस्रो ठूलो ग्राहक संख्या भएको कम्पनी बनेको हो।
दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो एमआईएस प्रतिवेदन (असोजसम्म) अनुसार डिसहोमको ग्राहक संख्या ३ लाख १७ हजार ३१ पुगेको छ। साउनसम्म डिसहोम २ लाख २९ हजार ६ सय ४६ ग्राहक संख्यासहित छैटौं ठूलो ग्राहक संख्या भएको कम्पनीको रुपमा थियो।
यसबीचमा ठूला मानिएका चार वटा ठूला कम्पनीलाई पछि पार्दै डिसहोम धेरै ग्राहक संख्या भएको दोस्रो ठूलो कम्पनी बनेको छ। त्यसो त, डिसहोमले इन्रटरनेट सेवा सञ्चालन सुरु गरेको धेरै समय भएको छैन।
कम्पनीले २०७७ साउनमा इन्टरनेट सेवा क्षेत्रमा प्रवेश गरेको थियो। यसले करिब तीन वर्षमै ग्राहक संख्यामा उल्लेख वृद्धि गर्दै दोस्रो ठूलो कम्पनी बन्न सफल भएको हो।
पहिलो स्थानमा भने वल्र्डलिंक कम्युनिकेसन रहेको छ। असोजसम्मको प्रतिवेदनअनुसार कम्पनीको ग्राहक संख्या ८ लाख २२ हजार ६ सय ९ रहेको छ।
यसपछि २ लाख ९८ हजार ग्राहकसहित नेपाल टेलिकम तेस्रो, २ लाख ९३ हजार ग्राहकसहित भायानेट कम्युनिकेसन चौथो, २ लाख ८८ हजार ग्राहकसहित क्लासिक टेक पाँचौं र २ लाख ८६ हजार ग्राहकसहित सुबिसु केबुलनेट छैटौं ठूलो कम्पनीका रुपमा छन्।
यस्तै, वेब सफर नेपाल कम्युनिकेसनको १ लाख ५३ हजार र टेकमाइन्ड्सको १ लाख १७ हजार ग्राहक छन्। प्राधिकरणका अनुसार असोजसम्म कुल इन्टरनेट जडान गर्नेको संख्या २९ लाख ११ हजार २ सय ८४ पुगेको छ।
यसमा फाइबर जडान गर्ने सर्वाधिक २८ लाख ६४ हजार ५६, एडिएसएल जडान गर्ने ३३ हजार ८ सय ७१ र वायरलेस प्रयोग गर्ने १३ हजार ३ सय ५७ रहेका छन्।
तीन महिनामा ९६ गुनासा
दूरसञ्चार प्राधिकरणका अनुसार २०८० साउनदेखि असोजसम्म कुल ९६ गुनासा प्राधिकरणमा दर्ता भएका छन्। यसमा इन्टरनेट सेवासम्बन्धी गुनासा ७७ र भ्वाइससम्बन्धी गुनासा १९ वटा दर्ता भएका छन्।
यस अवधिमा इन्टरनेट स्पिड घटबढ हुने, इन्टरनेट सुस्त भएको भन्दै २८, इन्टरनेट नचलेको भन्दै १८ गुनासा प्राधिकरणमा दर्ता भएका छन्। त्यस्तै, बिलिङ क्षतिपूर्तिसम्बन्धी १०, नेटवर्क समस्या चार, डाटा प्याकेज समस्या चार, टोल फ्री सम्बन्धमा तीन वटा गुनासा प्राधिकरणमा पुगेका छन्।
प्राधिकरणको तथ्यांकअनुसार हालसम्म टुजी मोबाइल टावर ८ हजार ५ सय ९४, थ्रीजी टावर ६ हजार २ सय ५७, फोरजी टावर ८ हजार ४ सय ६० र माइक्रोवेभ लिंक ६ हजार १ सय २८ वटा दर्ता छन्।