काठमाडाैं। चार्जिङ स्टेसन सञ्चालकले गाडी चार्ज गरेका सेवाग्राहीसँग मनलाग्दी शुल्क उठाउन थालेका छन्। सवारीसाधन आयातकर्ता कम्पनीले आफ्नो खर्च जोगाउन विभिन्न होटल, रेस्टुरेन्टलाई चार्जर दिएर चार्जिङ स्टेसन सञ्चालन जिम्मा दिएपछि उनीहरुले आफूखुसी शुल्क निर्धारण गरिरहेका हुन्।
यसरी चार्जिङ स्टेसन सञ्चालन गरेकाहरुले ब्याट्री चार्ज भएको प्रतिशतको आधारमा रकम असुलिरहेको यातायात व्यवसायीको गुनासो छ। विद्युत् महसुल संकलन विनियमावली, २०७७ अनुसार सार्वजनिक यातायात चार्ज गरेको शुल्क प्रतियुनिट न्यूनतम ४ रुपैयाँ ४५ पैसादेखि अधिक्तम ८ रुपैयाँ ७० पैसा पर्छ। तर, अधिकांश चार्जिङ स्टेसन सञ्चालकले विनियमावलीलाई बेवास्ता गरिरहेका छन्।
धेरैजसो चार्जिङ स्टेसनले एक प्रतिशत चार्ज गरेको ७ रुपैयाँ लिने गरेको नारायणगढ–काठमाडौं रुटमा चल्ने बागमती प्रदेश–००१ज–००६७ नम्बर एसआरएम ब्रान्डको इलेक्ट्रिक माइक्रो चालक धीरज ओली बताउँछन्। ‘नारायणगढदेखि काठमाडौंसम्म आउँदा करिब १० वटा चार्जिङ स्टेसन छन्। निजी कम्पनीका चार्जिङ स्टेसनमा फुल चार्ज गर्दा ७ सय रुपैयाँ लाग्छ,’ उनले भने।
निजी कम्पनीले प्रतिशतको हिसाबले पैसा लिन नपाउने नेपाल विद्युत् प्राधिकरणका सहायक प्रबन्धक सागर ज्ञवाली बताउँछन्। ‘विनियमावलीले तोकेभन्दा २० प्रतिशत मात्र धेरै रकम लिन पाइन्छ। त्योभन्दा धेरै लिनु भनेको ठगी हो। त्यसका लागि हामी अनुगमन गर्छौं,’ उनले भने।
नियमन संयन्त्र नभएका कारण चार्जिङ स्टेसनको शुल्क मनलाग्दी भएको उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिना बताउँछन्। ‘यो समस्या हटाउन पहिले छुट्टै कार्यविधि वा निर्देशिका बनाउनुपर्छ। त्यस्तै, चार्जिङ स्टेसनलाई विद्युत् प्राधिकरण, यातायात व्यवस्था विभाग, मन्त्रालय कसले नियमन गर्ने हो, त्यो निकाय प्रस्ट हुनुपर्छ,’ उनले भने।
सरकारले तोकेको शुल्कमै चार्ज गर्न बाध्यकारी बनाउने तयारी भइरहेको सिजी मोटर्सका मार्केटिङ हेड किरण आचार्यले बताए। ‘हामीले राजमार्गका होटल तथा क्याफेमा चार्जर निःशुल्क दिएका छौं। विद्युत् प्राधिकरणले तोकेअनुसार मात्र शुल्क उठाउनुस् भनेका पनि छौं,’ उनले भने।
चर्जिङ स्टेसनको भौतिक संरचना बनाउन खर्च भएकाले आफूलाई पोसाउने हिसाबले शुल्क लिएको हुन सक्ने उनको भनाइ छ। उनले भने, ‘भर्खर÷भर्खर चार्जिङ स्टेसन बन्न थालेकाले यो समस्या देखिएको हो। अरु कम्पनीको थाहा भएन तर सिजी मोटर्सका चार्जिङ स्टेसनमा हामी प्राधिकरणले नै तोकेको शुल्क मात्र लगाउने वातावरण बनाउँछौं।’
होटलले संरक्षण नगरेपछि आफ्नै चार्जिङ स्टेसन
नेपालमा इलेक्ट्रिक भ्यानको जग बसाउने ब्रान्ड दिगोले पछिल्लो समय सबै ठाउँमा आफैंले चार्जिङ स्टेसन बनाउन थालेको छ। होटललाई दिँदा संरक्षण नहुने र सेवाग्राहीले सेवा पाउन वञ्चित हुने देखिएपछि सबै ठाउँमा आफैंले चार्जिङ स्टेसन राख्न थालिएको दिगो ग्रुपका अध्यक्ष राजन रायमाझीले बताए।
‘पहिले हामीले पनि होटललाई दिएका थियौं। पछि त्यो मोडलमा काम गर्दा होटलले वास्ता नगर्ने र बिग्रने भएपछि अहिले आफैंले चार्जिङ स्टेसन बनाएका छौं,’ उनले भने।
चार्जिङ स्टेसनले ब्याट्री प्रतिशतको आधारमा शुल्क लिए पनि उपभोक्तालाई समस्या नपर्ने रायमाझीको तर्क छ। ‘प्रतिशतकै आधारमा पैसा लिँदा पनि फुल चार्ज गर्दा १÷२ सय बढी पर्ने हो। त्यहीमाथि मिटरमा उठेको रकमको २० प्रतिशत मात्र बढी लिँदा खर्चले कसरी धान्न सकिन्छ?’ उनले प्रश्न गरे।
विद्युतीय भ्यानमा क्रेज
विद्युतीय कारको लोकप्रियतासँगै अहिले विद्युतीय भ्यानको क्रेज बढ्दो छ। हाल नेपालमा फोटोन, दिगो, हाइगर, एसआरएम, केवाइसी, किङलङलगायत ब्रान्डले विद्युतीय भ्यान ल्याइरहेका छन्। यस्ता विद्युतीय भ्यान छोटा र मध्यम दूरीमा सार्वजनिक यातायातको रुपमा चलिरहेका छन्।
यी सबै ब्रान्डले चार्जिङ स्टेसन बनाउने तयारी गरिरहे पनि सिजी मोटर्स, एमएडब्लु वृद्धि अटोकर्प र दिगो ग्रुप चार्जिङ स्टेसन निर्माणमा अगाडि छन्। सिजी मोटर्सले हालसम्म ७२ वटा र दिगो ग्रुपले ३० वटा चार्जिङ स्टेसन बनाइसकेको छ। त्यस्तै, एमएडब्लुले विभिन्न ५५ ठाउँमा चार्जिङ स्टेसन बनाउने लक्ष्य राखेको छ।
निजी क्षेत्रले हालसम्म ३ सय बढी चार्जिङ स्टेसनका लागि अनुमति लिइसकेको विद्युत् प्राधिकरणका सहायक प्रबन्धक ज्ञवालीले जानकारी दिए। प्राधिकरणले हालसम्म ५१ वटा चार्जिङ स्टेसन बनाइसकेको छ।
विद्युतीय भ्यान विशेषतः काठमाडौंदेखि सिन्धुली, बर्दिवास, मन्थली, गाईघाट, सिन्धुपाल्चोक, ओखलढुंगा, जनकपुर, नारायणगढसम्म बढी चल्ने गरेका छन्। काठमाडौं बाहिर विराटनगरदेखि इलाम, वीरगन्जदेखि नारायणगढ, नारायणगढदेखि बुटवल, बुटवलदेखि अर्घाखाँची, महेन्द्रनगरदेखि धनगढी, धनगढीदेखि डडेल्धुरा रुटमा यी गाडीको संख्या बढिरहेको छ।
पछिल्लो समय विद्युतीय सवारी साधनमा व्यापकता आएको छ। भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ६ महिनामा मात्र ५ हजार १ सय ७ वटा विद्युतीय कार, जिप र भ्यान आयात भएका छन्। निजी क्षेत्रले आफ्ना ग्राहकको सुविधाका लागि चार्जिङ स्टेसन बनाएको भनिए पनि शुल्क भने मनलाग्दी लिइरहेको पाइएको छ।