काठमाडौं । एक वर्षमा शंकास्पद वित्तीय कारोबार रिपोर्टिङ शतप्रतिशत बढेको छ ।गत आर्थिक वर्ष शंकास्पद वित्तीय कारोबार निगरानी गर्ने वित्तीय जानकारी इकाइमा करिब ६ हजार शंकास्पद कारोबार रिपोर्टिङ भएको छ ।
नेपाल राष्ट्र बैंकमा रहेको वित्तीय जानकारी इकाइले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै शंकास्पद कारोबार तथा शंकास्पद गतिविधिमा उल्लेख्य वृद्धि भएको जनाएको छ ।
२०७८/७९ मा २ हजार ७ सय ८० कारोबार रिपोर्टिङ वित्तीय जानकारी इकाइमा भएको थियो । गत आर्थिक वर्ष २०७९/८० मा बढेर ५ हजार ९ सय ३५ पुगेको हो । २०७७/७८ मा १ हजार ५ सय ३३ शंकास्पद कारोबार वित्तीय जानकारी इकाइमा रिपोर्टिङ भएका थिए ।
नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूमा १ माघ २०७६ देखि अनलाइनमार्फत नै बैंक शंकास्पद कारोबार र गतिविधि रिपोर्ट वित्तीय जानकारी इकाइमा गर्न सक्ने प्रणाली (गो–एएमएल) कार्यान्वयनमा ल्याएको थियो ।
त्यसपछि २०७७/७८ देखि यस्तो कारोबारको रिपोर्ट उल्लेख्य बढेको वित्तीय जानकारी इकाइको वार्षिक प्रतिवेदनले देखाउँछ । २०७६ माघबाट वाणिज्य बैंकमा सुरु भए पनि त्यसपछि बिस्तारै विकास बैंक, फाइनान्स कम्पनी, लघुवित्त सहकारी, बीमा, मनिचेन्जर, क्यासिनोमा समेत गो–एएमएल प्रणाली लागु भएको छ ।
आव २०७९/८० मा वित्तीय जानकारी इकाइमा रिपोर्ट भएका शंकास्पद कारोबार विवरणमध्ये ९५.०८ प्रतिशत गो–एएमएलमार्फत आएका छन् ।२०७८/७९ मा ९०.६१ प्रतिशत शंकास्पद वित्तीय कारोबार रिपोर्टिङ गो–एएमएलमार्फत भएकोमा गत आवमा उल्लेख्य बढेको हो ।
गत आवमा कुल गो–एएमएल लागु भएपछि पैसा वा चेक जम्मा गर्नेको विवरण प्रणालीबद्ध हुँदै गएको छ। आपराधिक तथा आतंकवादी क्रियाकलापबाट वित्तीय क्षेत्रमा हुन सक्ने जोखिम घटाउन उक्त प्रणाली कार्यान्वयनमा आएको थियो । आपराधिक तथा अवैधानिक बाटोबाट आर्जित पैसा बैंकिङ कारोबार हुनबाट रोक्न उक्त प्रणालीले काम गर्ने गर्छ ।
राष्ट्र बैंकले विकास बैंकबाट सुरु गरेको गो–एएमएल हाल १ हजार ३ सयभन्दा बढी वित्तीय कारोबार गर्ने संस्थामा कार्यावन्यन भइसकेको छ ।पछिल्लो पटक २०७८ साउनबाट सहकारी संस्थासहित वित्तीय कारोबार गर्ने अन्य गैरबैंक तथा वित्तीय संस्थामा पनि गो–एएमएल कार्यान्वयनमा गएको थियो ।