काठमाडौं। मेलम्ची खानेपानी आयोजनाले पानी वितरणको विवरण अभिलेखका लागि राखिएका विद्युतीय मिटर चोरी हुन थालेका छन्। खानेपानी मन्त्रालय अन्तर्गत प्रोजेक्ट कार्यान्वयन निर्देशनालय (पिआईडी) ले जडान गरिदिएका घरघरका मिटरहरु चोरी भएका हुन्।
पिआइडीका सिनियर डिभिजनल इन्जिनियर (सिडिई) एवम् प्रवक्ता चन्द्रकुमार श्रेष्ठका अनुसार हालसम्म ४० हजार बढी मिटर जडान भइसकेका छन्। जसमध्ये २ सय बढी मिटर चोरी भएको निवेदन आइपुगेको छ।
चोरीको केसमा पिआइडीले कारबाही गर्न नमिल्ने भएकाले सम्बन्धित व्यक्तिलाई उजुरी लिएर प्रहरी कार्यालय पठाउने गरेको छ। क्यापिटल नेपालसँग सिडिई श्रेष्ठ भन्छन्, ‘हाम्रोमा निवेदन लिएर आउनु हुन्छ, पीडितहरुलाई उजुरी लिएर प्रहरीमा जानुस् भन्छौं। अनि प्रहरीले मागेका आवश्यक विवरण पिआइडीले उपलब्ध गराउँछ।’
उनका अनुसार काठमाडौं उपत्यकाका ३ वटै जिल्लाका विभिन्न स्थानबाट मिटर चोरी भएको उजुरी प्राप्त हुन्छ। तर, प्रहरीलाई भने कोटेश्वर वृत्तमा बढी उजुरी पुग्ने गरेको छ।
चोरी भएका मिटरहरु ‘कबाडी’ मा बिक्री हुने पाइएको पनि अनुसन्धानले देखाएको छ। पिआइडीले व्यक्तिको घर, सरकारी कार्यालय एवं संघ÷संस्थाका कार्यालयमा मिटर जोड्ने गर्छ। जसमध्ये बढी चोरीको घटना व्यक्तिको घरमा भएको गुनासो आउने गरेको छ।
त्यस्तै घरधनी बाहिर भएको समयमा मिटर चोरी भएको, गेट नलगाएको तथा मिटर राखेर पनि पाइप जडान नगरेको धेरै देखिएको पिआइडीले जनाएको छ। ‘मिटर जोडेपछि सुरक्षा गर्नुपर्ने दायित्व घरधनीको हो, पिआइडीले जोड्छ, रेखदेख उहाँहरुले गर्नुपर्छ’ प्रवक्ता श्रेष्ठले भने।
एउटा मिटरको मूल्य ५ हजार ५ सय रुपैयाँ पर्ने उनको भनाइ छ। मिटरको तौल आधा केजीदेखि १ किलोसम्म हुन्छ। जसले गर्दा चोर्ने मान्छेलाई बोकेर हिँड्न समस्या हुँदैन।
पिआइडीले एसियाली विकास बैंक (एडिबी) र नेपाल सरकारको बजेटबाट उपत्यकामा मेलम्चीको पानी विरणका लागि मिटर जडान गर्दै आएको छ। पहिलो चरणमा ८५ हजार मिटर जडान गर्ने लक्ष्य राखेको पिआइडीले १ वर्षमा ४० हजार मिट्र जडान गरी सकेको छ।
पहिलो चरणको मिटर जडान कार्य सकिएपछि दोस्रो चरणको काम सुरु हुनेछ। पछिल्लो समय माघ १ बाट अस्थायी रुपमा मेलम्चीको पानी काठमाडौंमा वितरण सुरु भएको छ। बर्खा लागेसँगै उक्त पानी आपूर्ति बन्द हुन्छ।