काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनको कामलाई तीव्रता दिन सरोकारवाला निकायलाई निर्देशन दिएका छन्।
मंगलबार बूढीगण्डकी आयोजनालाई अगाडि बढाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्रीले राष्ट्रिय गौरवको आयोजना निर्माण प्राथमिकता दिएर काम अगाडि बढाउन निर्देशन दिएका हुन्।
उनले भने, ‘बूढीगण्डकी जलाशययुक्त आयोजना सामान्य परियोजना होइन। यो राष्ट्रिय गौरवको आयोजनाका साथै बहुआयमिक आयोजना पनि हो। हामीले १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरिसकेका छौं। तसर्थ, यस्ता आयोजनालाई विलम्ब नगरी अगाडि बढाउनुपर्दछ।’
प्रधानमन्त्रीले जग्गा अधिग्रहण गरी मुआब्जासमेत वितरण गरिसकेको अवस्था आयोजना निर्माणबारे कुनै प्रकारको अन्योलमा नरहन मन्त्रालय, विद्युत् प्राधिकरण र बूढीगण्डकी जलविद्युत्लाई निर्देशन दिए।
‘४३ अर्ब मुआब्जा बितरण भइसक्यो। थप अधिग्रहणका निम्ति जग्गा रोक्का गरिएको छ। फिल्ड अफिस स्थापना गरेर उद्घाटनसमेत भइसक्यो। अब पनि आयोजना अगाडि बढ्छ कि बढ्दैन भनेर सोच्नुहुन्न’, उनले भने।
आयोजनाबाट पर्यटक आगमन, माछापालन, भौतिक निर्माण, निर्माण सामग्री खपत, रोजगारी सिर्जनालगायत अर्थतन्त्रका धेरै क्षेत्रमा योगदान पुग्ने उनले औंल्याए।
बैठकमा ऊर्जामन्त्री शक्ति बस्नेतले हरेक कोणबाट बूढीगण्डकी आयोजना महत्त्वपूर्ण रहेको र ऊर्जा सम्झौता कार्यान्वयनका निम्तिसमेत यो आयोजना महत्त्वपूर्ण रहेकाले लगानी स्रोत खोजी र परिचालनलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याए।
बैठकमा मुख्यसचिव डा. बैकुण्ठ अर्यालले बूढीगण्डकी आयोजना अगाडि बढाउन पेट्रोलियममा लगाइएको १० रुपैयाँ पूर्वाधार करमध्ये ५ रुपैयाँ बूढीगण्डकीका लागि छुट्याउने निर्णय भइसकेको जानकारी दिए। बूढीगण्डकी जलविद्युत् आयोजना प्रमुख जगत श्रेष्ठले आयोजनाको स्थिति, प्रगति अवस्था र आगामी योजनाबारे प्रस्तुति राखेका थिए।