काठमाडौं। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ३३ किलो सुन प्रकरणमा मुछिएका १७ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा करिब ३ अर्ब बिगो मागदाबीसहित मुद्दा दर्ता गरेको छ।
सरकारी वकिलको कार्यालयले व्यवसायी विमल पोद्दारसहितलाई १७ जनालाई राष्ट्र बैंक ऐन, २०५८ विरुद्ध र संगठित अपराध गरेको कसुरमा अदालतमा मुद्दा दर्ता गरेको हो।
सरकारी वकिल कार्यालयले प्रतिवादीबाट २ खर्ब ८६ अर्ब ४ करोड २५ लाख ८ हजार ७५४ रुपैयाँ बिगो माग गर्दै जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले पेस गरेको रायसहितको प्रतिवेदनका आधारमा अदालतमा मुद्दा दायर गरिएको हो। सिआइबीले गत ६ मंसिरमा व्यवसायी रुपेश श्रेष्ठलाई हुन्डी र अनलाइन जुवा चलाएको आरोपमा पक्राउ गरेर छानबिन थालेको थियो।
सिआइबीको छानबिनमा श्रेष्ठको समूह मुलुकको सबैभन्दा ठूलो हुन्डी र क्रिप्टोकरेन्सी कारोबारी रहेको देखिएको भनिएको थियो।
दुई महिनासम्म गरिएको सिआइबी अनुसन्धानले रुपेशका भाइ दिपेशले अमेरिकामा बसेर क्रिप्टो कारोबारमा सघाएको देखिएपछि उनलाई पनि प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर गरिएको छ।
रुपेशसँग क्रिप्टो कारोबारमा व्यवसायी विमल पोद्दारको संलग्नता भेटिएपछि उनीविरुद्ध अदालतमा मुद्दा दर्ता भएको हो । पोद्दारको डिल्लीबजारस्थित कालिकास्थानमा सिल्भरसिटी अपार्टमेन्ट र द एड्रेस लाउन्ज छ।
सुन तस्करी प्रकरणमा शरद भट्टराई, वीरेन्द्र मगर, दीपक शर्मा, वाङ्देन फुन्सोक लामा, गोविन्दप्रसाद श्रेष्ठ, रुदे तामाङ, रचना शर्मा, विमल पोद्दार, ओमकुमार श्रेष्ठ, विगलसिंह शर्मा र अंशुल श्रेष्ठलाई पनि प्रतिवादी बनाइएको छन्।
तर, उनीहरु फरार रहेको सिआइबीले जनाएको छ। यस्तै, सुन तस्करी प्रकरणमा कुमार परियार, झनिन्द्रप्रसाद खतिवडा, आशिष अग्रवाल, मीनबहादुर जिसीलगायतलाई पनि प्रतिवादी बनाइएको छ।