काठमाडौं। काठमाडौं महानगरले आजदेखि न्युरोड, खिचापोखरी क्षेत्रमा सवारीसाधन पार्किङमा रोक लगाएलगत्तै व्यापारी विरोधमा उत्रिएका छन्।
न्युरोड, खिचापोखरी क्षेत्रमा व्यापार गर्दै आएका व्यवसायी महानगरले सवारी पार्किङमा रोक लगाउँदा ग्राहकलाई अप्ठेरो हुने र व्यवसायसमेत असर पर्ने दाबी गर्दै सटर, कबल बन्द गरेर विरोधमा उत्रिएका हुन्।
महानगरले काठमाडौं टावरमा १ हजार वटा सानाठूला निःशुल्क सवारी पार्किङ व्यवस्था गरिएकाले न्युरोड क्षेत्रमा पार्किङ गर्न नदिइने स्पष्ट पारेको छ।
महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले विकल्पमा काठमाडौं टावरमा तीन सय वटा चारपांग्रे र सात सय वटा दुईपांग्रे सवारी साधन पार्किङ गर्न सकिने व्यवस्था गरिएको जानकारी दिए।
महानगर प्रहरी प्रमुख पाण्डेले पार्किङ निषेध गरेर ती ठाउँमा विशेष सरसफाइ गर्ने योजनाअनुसार यतिबेला सफाइ चलिरहेको बताए।
उनले भने, पार्किङ निषेध गरेर ती ठाउँमा विशेष सरसफाइ गर्ने योजना बनाएका छौं। सोहीअनुसार सफाइ चलिरहेको छ। यसले सवारी आउजाउ सहज बनाउने अपेक्षा गरेका छौं।’
महानगरले धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्रे सडकमा पार्किङ निषेध गरेको छ।