काठमाडौं।प्रभु बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ। बैंकको माघ ८ मा बसेको ३२१औं सञ्चालक समिति बैंठकले उक्त निर्णय गरेको हो।
बैंकले कम्पनी ऐनबमोजिम वार्षिक साधारणसभा (एजिएम) गर्ने समय नाघेपछि एजिएम गर्ने प्रयोजनार्थ राष्ट्र बैंकमा वित्तीय विवरण पेस गर्न लागेको छ।
कम्पनी ऐनअनुसार आर्थिक वर्ष सकिएको ६ महिनासम्म साधारणसभा गरिसक्नुपर्छ। तर, प्रभुलगायत अन्य २ वाणिज्य बैंकले उक्त व्यवस्था विपरीत पुस मसान्तसम्म एजिएम गरेनन्। प्रभुले पुस मसान्त सकिएको साता दिन बितेपछि एजिएमा प्रक्रिया अघि बढाएको छ।
बैैंक तथा वित्तीय संस्थाहरुले एजिएम गर्नुअघि गत आवको वित्तीय विवरण राष्ट्र बैंकको सम्बन्धित सुपरिवेक्षण विभागमा पेस गर्नुपर्छ।
राष्ट्र बैंकले उक्त वित्तीय विवरणमा प्रारम्भिक स्वीकृति दिएपछि सम्बन्धित बैंक सञ्चालक समितिले क्षमताअनुसारको लाभांश वितरण गर्ने/नगर्ने निर्णय गरी पुनः राष्ट्र बैंकमा अन्तिम स्वीकृतिका लागि पेस गरेपछि मात्रै साधारणसभाको मिति तय गर्न पाउँछ।
प्रभुले राष्ट्र बैंकबाट लेखा परीक्षण गराएको वित्तीय विवरणमा प्रारम्भिक स्वीकृत पाएर साधारणसभा गर्ने प्रयोजनार्थ पुनः वित्तीय विवरण पेस गर्न लागेको हो।
राष्ट्र बैंकले उक्त वित्तीय विवरणमा अन्तिम स्वीकृति दिएपछि २१ दिनको समय राखेर साधारणसभा मिति र स्थान निर्धारण गरी सेयरधनीमा जानकारी गराउनेछ।
प्रभुले गत आर्थिक वर्षमा १६ करोड १६ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको थियो। बैंकको कायम चुक्ता पुँजी २३ अर्ब ५४ करोड २४ लाख हुँदा उक्त नाफाबाट सेयरधनीलाई ०.६९ प्रतिशत लाभांश बाँड्ने क्षमता राखेको थियो। तर, राष्ट्र बैंकले थप प्रोभिजन गर्न लगाएपछि बैंकले गत आवको नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्न नसक्ने भएको हो।