अतिविकट हिमाली भेगमा जन्मिएर बालापन त्यहीँ बिताएको औसत मान्छेले देख्ने सपना के हुन्छ होला? घरपारि देखिने दन्तेलहर मिलेका सेता हिमालको चुचुरो छुने? वा, अलि बढी सोच्दा सर्वोच्च शिखर सगरमाथा चुम्ने?
यस्तै औसत सपना देख्दै दोलखाको अतिविकट रोल्वालिङको ‘ना’ गाउँमा ३३ वर्षअघि जन्मिएकी एक शेर्पा चेलीले जीवनमा देखेको औसत सपना पूरा गरेरै छाडिन्। तर, उनले जीवनमा जे सफलता पाइन्, सायद त्यो उनले जीवनका कुनै पनि राति वा दिउँसो देखेको सपना पक्कै थिएन। आखिर के हो त त्यो सपना वा त्यो सफलता?
रोल्वालिङकी तिनै चेली दावायाङ्जुम शेर्पाले पाएको सफलता संसारमा विरलैले पाउने गर्छन्। दावाले पाएको सफलता हो– विश्वप्रसिद्ध ब्रान्डहरू ‘नर्थफेस’ र ‘रोलेक्स’ को ब्रान्ड एम्बेसडर।
यी दुई ब्रान्डको एम्बेसडर हुनु चानचुने विषय होइन। संसारका लाखौं, करोडौं वा अर्बौं मान्छेले सपनामा पनि नचिताएको, अझै भन्नुपर्दा एक औसत नेपालीले त सोच्न पनि नसक्ने सफलता दावाको निधारमा लेखेको रहेछ।
दावाको सफलता देखेर युरोप, अमेरिका, अस्ट्रेलिया वा संसारका जुनसुकै कुनामा बस्ने पर्वतारोही तीनचित छन्। दावाले यस्तो सफलता त्यतिकै पाइन् त? विश्वको सर्वोच्च शिखर सगरमाथा शिखरमा विजयी झण्डा फहराउँदैमा उनलाई नर्थफेस र रोलेक्सले ब्रान्ड एम्बेसडरको पगरी गुथाइदिएका होलान्?
आउनुस्, दावाको जीवनकथा सुनौं...
हुन त दावाका लागि हिमाल नयाँ थिएन। उनको जन्म नै ४ हजार २ सय मिटरको उचाइमा भयो। र, उनको बाल्यकाल हिमालको चिसो हावासँगै सुसेली खेल्दै बित्यो।
उकाली ओराली गर्दा हिउँसँग उनले हजारौंपटक लुकामारी खेलिन्। पैतालाले हिउँ छिचोल्दै कठ्याङ्ग्रिँदो जाडोमा घाँसदाउरा गरेको अनुभव दावासँग अझै ताजा छन्। पारिवारिक पृष्ठभूमि आर्थिक हिसाबमा त्यति बलियो नभएकाले सुखको आभाष खासै गर्न पाइनन्।
उनका गाउँका प्रत्येक घरका मान्छे हिमाल आरोहणका लागि जाने गर्थे। अझ भनौं, हिमाल आरोहणमा जानेहरूको सहयोगीका रूपमा दावाका गाउँका हरेक युवा पछिपछि हिँड्थे। अरूलाई सहयोग गर्दागर्दै हिमालका चुचुरो चुमेका सयौंजना उनकै गाउँमा छन्। तर, ती सबैको नसिबमा दावाको जस्तो लेखेको छैन सायद।
दावाले पनि हिमाल आरोहणबाट फर्किने र जानेहरूलाई आँगनको डिलमा बसेर नियालिरहेकी हुन्थिन्। र, मनमा यदाकदा जीवनमा एकचोटि सगरमाथा हिमाल आरोहण गरेरै छाड्ने अठोट लिन्थिन्।
...
संर्घषपछिको सफलता कस्तो हुन्छ? त्यो पाउनेहरूलाई मात्र थाहा हुन्छ। लामो संघर्षपछि सफलता हात पार्ने व्यक्तिहरूको सूचीमा अटाएकी छिन् दावा। उनले १० वर्ष अन्तरालमा सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणमात्र गरिनन्, त्यहीँबाट उनी विश्वप्रसिद्ध ब्रान्ड नर्थफेसदेखि रोलेक्ससम्मको एम्बेसडर बन्न सफल भइन्। जुन सफलता जो कोहीले पाउन कठिन छ। सगरमाथा आरोहण धेरैले गरे। तर, दावा त्यस्ती भाग्यमानी हुन् जसले नेपालीको पहुँच नै नपुग्ने ब्रान्डमा आफ्नो गर्विलो उपस्थिति जनाउन सफल भइन्।
२०४७ सालमा दोलखाको अतिविकट ना गाउँमा जन्मिएकी दावाको बाल्यकाल गाउँमै बित्यो। घरैमाथि रहेको रोल्वालिङ हिमालको चिसोसँगै उनको दैनिकी बितिरहेको थियो। भौगोलिक दृष्टिकोणले पछाडि परेको उनको गाउँमा सञ्चारको साधन भनेकै रेडियोमात्र थियो।
केही समाचार सुन्नुपरे रेडियोकै भर हुन्थ्यो। उनी पनि बेला–बेला रेडियोमा बज्ने समाचार ध्यान दिएर सुन्ने गर्थिन्। त्यो बेला बज्ने समाचारमध्ये सबैभन्दा बढी ध्यान हिमाल आरोहणको नै हुन्थ्यो। खासगरी त्यो बेला रेडियो नेपालमा सगरमाथा आरोहण गरेकाहरूको समाचार प्राथमिकतासाथ प्रशारण हुने गरेको थियो।
हुन त उनको गाउँका अधिकांश पुरुष हिमाली क्षेत्रमा काम गर्छन्। जसले उनलाई पनि हिमाली क्षेत्रमा काम गर्न उत्सुकता उत्पन्न हुनु स्वाभाविक थियो नै। त्यो बेला गाइड (पथप्रदर्शक) का रूपमा महिला सहभागिता न्यून थियो। त्यसमाथि उनको गाउँबाट पर्वतारोहण सहयोगी काममा महिला सहभागिता शून्यजस्तै थियो।
जसले उनलाई हिमाल आरोहण क्षेत्रमा लाग्न आफ्नो पाइला अगाडि बढाउन निकै मुस्किल भइरहेको थियो। तै पनि उनले आफ्नो अठोट र उद्देश्यमा हार मानिनन्। घरमा आमासँग सल्लाह गर्दा हुन्छ वा हुँदैन दुवै प्रतिक्रिया नपाएपछि उनी आफ्नो यात्रा तय गर्न अडिग भइन्। उनी त्यसबेला त्यस्तै १८ वर्ष कटेकी थिइन्। त्यसैले पनि अब थप अध्ययनभन्दा आफ्नो जीवन यात्रा अगाडि बढाउनुपर्छ भन्ने सोचलाई मूर्तरूप दिन थालिन्।
मावली घर सोलुखुुम्बुको खुम्बुमा रहेकाले त्यहाँ पुगेका बेला थाहा पाइन् नेपाल पर्वतारोहण संघले हिमाल आरोहणसम्बन्धी तालिम सञ्चालन गरिरहेको। आफ्नो यात्राको पहिलो पाइला यही हुन सक्छ भन्ने निष्कर्ष निकालेर उनी पर्वतारोहण संघले आयोजना गरेको तालिममा सहभागी हुन पुगिन्।
कोनर्याड एंकरसँगको भेटले फेरियो दावाको जीवन
भनिन्छ, ‘जहाँ इच्छा त्यहाँ उपाय’। र, ‘भगवानले पनि तँ आँट म पुर्याउछु’ भन्छन् भन्ने लोकोक्ति दावाको जीवनमा ठ्याक्कै मेल खाएको छ। सगरमाथा आरोहण गर्न ठूलै रकम खर्चिनुपर्छ।
जुन रकम दावाले तत्काल जोहो गर्न सक्ने अवस्था थिएन। र, आफ्नो परिवारको कसैले सहयोग गर्न सक्ने स्थिति पनि नभएपछि उनी दाताको खोजीमा लागिन्। तर, आफ्नो चिनजानका कोही नभएकाले तत्कालै त्यसखालका सम्भावना भेटिएला भन्ने उनको सोचाइमा थिएन।
जव,उनले तालिम लिइरहिन् त्यो बेला उनी माथि अमेरिकन आरोही कन्र्याड एंकरको आखा पर्यो। तालिममा सहभागि मध्ये हड्डाकड्डा र लगनसिल भएर सिकिरहेकी दावालाई कन्र्याड आफ्नो जीवनकै महत्वपूर्ण व्यक्ति भएर आउला भन्ने कल्पना समेत गरेकी थिइनन्।
जब तालिम सकियो र अन्तिममा सहभागीमध्ये उत्कृष्टताको प्रमाणपत्र (अवार्ड) दिइयो, त्यो बेला तिनै अमेरिकी पर्वतारोही कोनर्याडले सगरमाथा आरोहण प्रस्ताव गरे। त्यो प्रस्तावमा आरोहणमा रहेकाहरूका लागि सहयोगी भूमिकाका रूपमा काम गर्नुपर्ने र त्यसवापत केही रकम पाउने उनलाई बताइयो।
कोनर्याडको त्यो प्रस्ताव भुइँमा खस्न नपाउँदै दावाले स्वीकार गरिन्। सन् २०१२ मा पहिलोपटक सगरमाथाको सफल आरोहण गरिन्। र, त्यो उनले बाल्यकालमा देखेको सपना थियो। त्यो बेला आरोहणमा सहयोग गरेको भन्दै दावाको हातमा ५ देखि ६ लाख रुपैयाँ पारिश्रमिक दिइयो।
जीवनमै पहिलोपटक एकसाथ त्यति धेरै रकम पाएपछि दावा थप उत्साहित भइन्। त्योसँगै अबको यात्रा हिमाली क्षेत्रमा गर्ने तय गरिन्। हुन त त्यो बेला उनका धेरै साथी नर्सिङ अध्ययनमा रमाउन थालेका थिए। उनले भने ‘पढेरभन्दा परेर जानिन्छ’ भन्ने उक्ति आत्मसाथ गरिन्। र, प्राविधिक पढाइभन्दा व्यावहारिक ज्ञानलाई विश्वास गरेर जीवना अगाडि बढाउने निधो गरिन्। धेरै नपढ्दा पनि कमाइ राम्रो हुने र आत्मसन्तुष्टि समेत मिल्ने भएपछि दावाले आफ्नो जीवन ‘माउन्टेनियरिङ गाइड’ मा समर्पण गर्ने निधो गरिन्।
८ हजार ८४८.६८ मिटर उचाइमा पुगिसकेपछि त्यसभन्दा कम उचाइका हिमालमा गरिने तालिमलाई दावाले सामान्य लिइन्। र, अझै आफ्नो क्षमता तिखार्न धेरैभन्दा धेरै तालिम लिन थालिन्। तालिम लिइरहँदा सन् २०१७ मा माउन्टेनियरिङ गाइडको डिग्री हासिल गरिन्।
उनको त्यो डिग्री नेपालको मात्र नभई एसियाकै पहिलो महिला माउन्टेरिङ गाइडको थियो। त्यसपछि भने उनको यात्राका धेरै ढोका लगातार खुल्न थाले। आफ्नो क्षमता नै उच्च भएपछि धेरै ठाउँबाट डिमान्ड आउन थाले। त्यही सिलसिलामा उनले अमेरिका, रुससहित नेपालमा पनि ठुल्ठूला कम्पनीमा गाइडका रूपमा काम गर्ने अवसर पाइन्।
२० देखि ३० वर्ष उमेरमा दावाको जीवनले कायापलट नै गर्योभन्दा फरक नपर्ला। सगरमाथा आरोहण गर्दै पिएचडी डिग्री, एसियाकै पहिलो माउन्टेनियरिङ महिला गाइड हुँदै नेपालबाट पहिलोपटक नर्थफेसको ब्रान्ड एम्बेसडर बन्न पुगिन्। तालिम निकै महँगो र गाह्रो भएकाले कमाउँदै तिर्दै अगाडि बढिन्। माउन्टेनियरिङ गाइड तालिम यस्तो हो जहाँ महिला र पुरुष भनेर भिन्नता गरिँदैन। किनकि, हिमालमा महिला, पुुरुष भनेर छुट्ट्याइँदैन।
नर्थफेस यात्रा
गाइड गरिरहँदा धेरैको इच्छा र चाहना हुने भनेको नर्थफेस र रेडबुलसँग आबद्ध हुन पाए हुन्थ्यो भन्ने हुनु सामान्य हो। तर, चाहँदैमा कहाँ पाइन्छ र? दावाको मनमा पनि यात्रा गरिरहँदा नर्थफेसको कपडा लगाएर यात्रा गर्न पाए कस्तो हुन्थ्यो होला भन्ने कल्पना आइरहन्थ्यो।
र, त्यो सायद एउटा सपना थियो। तै पनि नेपालीहरू नै अहिलेसम्म नर्थफेसको ब्रान्ड एम्बेसडर थिएनन्। तर, उनी आफू त्यो स्थानमा पुग्छु भन्ने सोचेकोसम्म थिइनन्। तै पनि कर्म गरेपछि अवश्य एक दिन फल प्राप्त हुन्छ भन्ने कथन दावाको जीवनमा मेल खायो।
सन् २०१८ मा नर्थफेस एथ्लेट्स बन्नुभन्दा पहिले अमेरिकाको सानफ्रान्सिस्कोको हिमालयन फाउन्डेसनले नेपालमा डा. अरुणा उप्रेतीहरूसँग मिलेर एउटा अभियान चलाएको थियो। स्टाफ गल्र्स ट्राफिकिङका विषयमा बहस कार्यक्रम थियो। त्यसमा प्रेरणादायी महिलाको जीवनी सुनाउने क्रममा दावालाई १५ मिनेट जीवनको भोगाइबारे प्रस्तुतीकरण दिन समय दिइयो।
दावाले आफ्नो जीवनको संघर्षमयी क्षण सुनाएपछि सोही कार्यक्रममा उपस्थित माउन्टेन हार्डवेयर कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ले उनलाई आफ्नो कम्पनीमा अनुबन्ध हुन प्रस्ताव गरे। दावाले उक्त प्रस्ताव तत्कालै नर्थफेसका एथ्लेट कोन¥याड एंकरलाई सुनाइन्।
एंकर तिनै व्यक्ति हुन् जसले दावालाई माउन्टेनियरिङ गाइड तालिममा प्रवेश दिलाएका थिए। एंकरले नर्थफेसमै प्रयास गर्ने भनेपछि माउन्टेन हार्डवेयरको प्रस्ताव अस्वीकार गरिन्। र, उनको अर्को एउटा सपना पूरा गरिन्, जहाँ उनको कल्पनाको संसार नर्थफेसमा एथ्लेटका रूपमा अनुबन्धित भइन्।
सन् २०१८ मा माउन्टेन हार्डवेयरले गरेको प्रस्ताव छाडेर उनी एंकरकै माध्यमबाट नर्थफेसमा अनुबन्धित भइन्। उनको अनुबन्धको समाचार त्यसबेला धेरै अन्तर्राष्ट्रिय मिडियामा प्रकाशन र प्रशारण भएका थिए। त्यसले उनको उचाइ झनै चुलियो। अहिले पनि उनी नर्थफेसमा एथलेटका रूपमा कार्यरत छिन्। वर्षमा एक ट्रिप नर्थफेससँग ट्रेकिङ जाने गर्छिन्। त्यसवापत उनले नियमित पारिश्रमिक पनि पाउने गरेकी छिन्।
नर्थफेसमा जोडिएपछि उनलाई समय–समयमा आरोहणका लागि आर्थिक सहयोग मिल्न थाल्यो। आफू त नियमित आरोहण गरिरहेकाले उनले आफूसँगै बेचबिखनमा परेका महिलालाई यसतर्फ आकर्षित गर्न थालिन्। मानसिकरूपमा विक्षिप्त भए पनि शारीरिकरूपमा बलिया ती महिलामध्ये २५ जनालाई नर्थफेसकै सहयोगमा हिमाल आरोहणसम्बन्धी तालिम दिएको उनी बताउँछिन्। उनीहरू अहिले मानसिकरूपमा पनि स्वस्थ रहेको उनी बताउँछिन्।
कल्पना बाहिरको रोलेक्समा अनुबन्धित
सफलता यस्तो चिज हो, जुन मिलेपछि मिलिरहन्छ। सुरुमा संघर्ष गर्दाका ती क्षण साक्षी राख्दै दावाले आफ्नो जीवनमा एकपछि अर्को महत्वपूर्ण सफलता पाउँदै गइन्।
हुन पनि दावाले पाएका सफलता यस्ता छन्, जुन रेकर्ड नै हुनेखालका हुन पुगे। नर्थफेसमा पनि हालसम्म कुनै पनि नेपालीको सहभागिता नरहँदा दावा पुग्न सफल भइन् भने रोलेक्समा पनि त्यही खालको रेकर्ड उनले हासिल गरिन। सगरमाथाका पहिलो आरोही एडमन्ड हिलारी र तेन्जिङनोर्गे शेर्पाले सन् १९५३ मे २९ मा शिखरमा विजयी झण्डा फहराउँदा रोलेक्स घडी लगाएका थिए।
त्यसको ६९ वर्षपछि (सन् २०२२) मा दोस्रो नेपाली र पहिलो नेपाली महिलाका रूपमा दावा अनुबन्धित भइन्। जुन उनका लागि महत्वपूर्ण क्षण हो। रोलेक्स स्वीजरल्यान्डको लक्जरियस ब्रान्डको घडी हो। यो धनाढ्यहरूले प्रयोग गर्दै आएका छन्। दावा रोलेक्स कम्पनीकी कान्छी ब्रान्ड एम्बेसडर पनि बनेकी छिन्।
अबको लक्ष्य ८ हजार मिटर अग्ला १४ हिमाल चुम्ने आफ्नो कामलाई निरन्तरता दिँदै सामाजिक काममा समेत क्रियाशील हुँदै आएकी दावा जीवनमा रिटायर हुने सपना बुनेकी छैनन्। आफ्नो ज्यानले दिएसम्म हिमाली क्षेत्रकै काममा लागिरहने लक्ष्य बोकेकी दावाको अबको मिसन ८ हजार मिटरभन्दा बढी उचाइमा रहेका संसारका १४ हिमाल आरोहण गर्ने रहेको छ।
हालसम्म दावाले ८ हजार मिटर अग्ला १३ हिमालको सफल आरोहण गरिसकेकी छिन्। अब चीनको सिसापाङ्मा हिमाल आरोहणपछि लक्ष्य पूरा हुने उनी बताउँछिन्। अबको सिजनमा आरोहण लक्ष्य पूरा हुने उनको भनाइ छ। उनले २०१४ मा माउन्ट केटुमा सबैभन्दा कान्छी आरोहीका रूपमा सफल आरोहण गरिन्।
साथै, २०१७ मा क्यानेडियन माउन्टेन गाइड एसोसिएसनबाट सदस्यता प्रमाणपत्र पनि पाएकी छिन्। उनी ६ महिना नेपाल र ६ महिना अमेरिका बस्दै आएकी छिन्। व्यस्तताबीच मंसिर पहिलो साता काठमाडौंमा भेट हुँदा निकै गर्वसाथ आफ्नो यात्राबारे जानकारी दिएकी दावाले जीवनका उतारचढावबारे निकट भविष्यमा किताब प्रकाशन गर्ने तयारी रहेको बताइन्।
तेस्रो पुस्ताले आरोहण नगर्ने त्रास
आफूहरू दोस्रो पुस्ताका रूपमा हिमाल आरोहणको काम गरिरहे पनि तेस्रो पुस्ताबाट भने संकट आउनेमा चिन्ता व्यक्त गर्न थालेकी छिन्।
पहिला–पहिलाजस्तो गाउँ बसेर धेरै दुःख गर्नेका जमात अहिले सहरमुखी भइसकेकाले अब आउने पुस्ताले दुःख गरेर हिमाली क्षेत्रमा काम गर्नेको संख्या कम हुँदै जान लागेको बताइन्। हिमाल आरोहण गर्नेहरूको भविष्य ज्यानमा बल हुन्जेलमात्र भएकाले धेरैले आफ्नो बालबालिकलाई अन्य क्षेत्रमै लाग्न प्रेरित गरिहेको उनी बताउँछिन्।
अहिले धेरै आरोहीका परिवार विदेश जान थालिसकेको र गाउँमा रहेका पनि सहर पसिसकेकाले बिस्तारै गाइडका रूपमा र सहयोगीका रूपमा शेर्पाहरू पाउन समस्या हुनेतर्फ उनको संकेत छ। सरकारले नै पर्याप्त सहयोग नगरेका कारण बाध्य भएर विदेशिनुपर्ने आरोही संख्या पनि अधिक हुन थालेको बताइन्।
‘विदेशीहरूले सबैभन्दा बढी विश्वास शेर्पाहरूसँगै गर्ने भएकाले भविष्यमा आउने जनशक्ति संकटबारे सरकारले गम्भीर भएर सोच्नुपर्ने बेला आइसकेको छ,’ दावा भन्छिन्।