काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका आयोजनालाई समयमै सम्पन्न गर्ने गरी नीति तथा कार्यक्रममा व्यवस्था र बजेटमा यथोचित प्राथमिकता दिइने बताएका छन्।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको ‘एक्सन रुम’बाट सिक्टा सिँचाइ आयोजना र महाकाली सिँचाइ आयोजना (तेस्रो चरण) को अनुगमन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन्।
आयोजनाको भर्चुअल अनुगमन गर्दै प्रधानमन्त्रीले भने, ‘वार्षिक बजेटको ठीक ढंगले प्राथमिकीकरण हुन नसक्दा राष्ट्रिय गौरवका आयोजना र अन्य महत्त्वपूर्ण आयोजना नराम्रोसँग प्रभावित हुने गरेका छन्। पर्याप्त बजेटको व्यवस्था नहुँदा गुणस्तरीय काम हुन नसक्नुका साथै भौतिक तथा वित्तीय प्रगति सन्तोषजनक नहुने अवस्था छ। यसले आयोजनाको समय लम्बिँदै जाने र लागत पनि बढ्दै जाने अवस्था छ। यसपटक यो बेथिति अन्त्य गर्नैपर्छ।’
अनुगमनमा प्रधानमन्त्रीले नीतिगत समस्या र बजेटको अभावलाई सरकारले सम्बोधन गर्ने बताउँदै आयोजना स्थलमा परिणाममुखी काम गर्न आयोजना प्रमुखलाई निर्देशित गरे।
उनले भने, ‘नीतिगत गाँठो र बजेटको समस्या हामी फुकाउँछौं। फिल्डमा तपाईंहरू काम गर्नुस्। पटक–पटक आयोजनाको म्याद थप्ने र थप दायित्व सिर्जना गर्ने काम नगर्नुस्। यो कुरालाई गम्भीरतापूर्वक लिएर काम गर्नुहोला।’
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले अर्थतन्त्रमा सुधार आएकाले निर्माण व्यवसायीको भुक्तानीमा सहजता आएको जनाउँदै अब आयोजनाको भौतिक एवं वित्तीय प्रगतिले गति लिने बताए।
एक्सन रुम अनुगमनमा प्रधानमन्त्री र ऊर्जामन्त्रीसँगै सरकारका मुख्यसचिव डा बैकुण्ठ अर्याल, मन्त्रालयका जलस्रोत तथा सिँचाइतर्फका सचिव सुशीलचन्द्र तिवारी, प्रधानमन्त्री कार्यालयका सचिव एकनारायण अर्याल, मणिराम गेलाललगायत आयोजना प्रमुख उपस्थित थिए।