काठमाडौं । बागमतीको सहायक नदी बल्खु खोला करिडोर निर्माण सुरु गरेको ११ महिनामा ५० प्रतिशत काम सम्पन्न भएको छ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत बिकास समितिले बागमतीको सभ्यतालाई जीवन्त बनाउन बल्खु खोलामा पनि करिडोर निर्माण कार्यको थालनी गरेको हो ।
समितिले बागमतीका सबै सहायक नदीमा करिडोर तथा नदी सरसफाइको काम गदै आएको छ । त्यही अनुरुप बल्खु खोलाको पनि करिडोर निर्माण गर्न लागिएको समितिले जनाएको छ ।
समितिका अनुसार बल्खु खोला करिडोरको काम दुई बर्षभित्र सम्पन्न गर्ने गरी पीएसगोल्ड समान्तर जेभी कन्ट्रक्सन प्रालीबीच २०७५ माघमा ठेक्का सम्झौता भएको हो । ४५ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न गर्ने गरी समान्तर कन्ट्रक्सन ठेकेदार कम्पनीले जिम्मा लिएको समितिका इन्जिनियर कमल अर्यालले बताए ।
उनका अनुसार कलंकी पुलदेखि अघि १८६ मिटर लम्बाइमा करिडोर निर्माण हुने छ । वि.स २०२१ सालको नापी नक्सा अनुसार बहाब क्षेत्र १३ मिटर कायम गरी खोला किनाराबाट दुबै साइटमा १०/१० मिटरको करिडोर निर्धारण गरी काम भइरहेको छ ।
अहिले खोला किनाराको दुबै साइटमा नदी कटान बहाब क्षेत्र रोक्न तटबन्ध निर्माण गर्ने ,ढलको पाइप बिच्छ्याउने कार्य भइरहेको छ,उनले भने‘ बल्खु खोलाको करिडोर काम भइरहेकै गतिमा काम भए तथा बीचमा कुनै पनि समस्या नआएमा चालु आर्थिक बर्षभित्रमा करिडोर निर्माणको काम सक्ने गरी अगाडी बढेका छौं ।’
समितिले अहिले बाग्मती नदीसहित यसका सहायक नदीहरुमा करिडोर निर्माण गरी खोला किनारा आसपासमा पार्क तथा हरियाली प्रर्बद्धन गरेर सहरी बातावरणलाई प्रदुषणमुक्त बनाउने उदेश्यले नेपाल सरकार तथा एसियाली विकास बैक (एडीबी)को सहयोगमा धेरै आयोजनाहरु अघि बढाएको आयोजना प्रमुख लीलाप्रसाद ढकालले बताए ।
उनका अनुसार करिडोर निर्माण गर्दा विविध समस्या आउने गरेकाले लक्ष्य अनुसार काम गर्न सकेका छैनौं,उनले भने‘करिडोर निर्माणको काम खोलाको भएकाले खोलामा नै समस्या आएका छन । खोला कहिले कता बग्ने, कहिले कताबाट बग्ने भएकाले वास्तविक खोला बग्ने मार्ग निर्धारण गर्न नसक्दा मुआब्जा देखि अन्य समस्या आउने गरेका छन ।’