चितवन। चितवन राष्ट्रिय निकुञ्जमा भरतपुर भ्रमण वर्ष २०२४ को तयारी तीव्र पारिएको छ। फागुन १८ देखि सुरु हुने भरतपुर भ्रमण वर्षका लागि निकुञ्जसँगै जोडिएका मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा पनि तयारीलाई तीव्र पारिएको हो।
निकुञ्जका सहायक संरक्षण अधिकृत गणेश तिवारीका अनुसार मध्यवर्ती क्षेत्रमा रहेका सामुदायिक वन, बाटुली पोखरी, किङ फिसर ताल, बीसहजारी तालमा सरसफाइको काम भइसकेको छ।
भरतपुर भ्रमण वर्षको मुख्य पर्यटकीय गन्तव्य निकुञ्ज हो। निकुञ्जले यहाँ रहेका जिप सफारीका पुराना रुटमा पनि सरसफाइ गरिसकेको छ। निकुञ्जका सूचना अधिकारी तिवारीले पर्यटकीय स्थलमा नक्सा (म्याप) राख्ने काम गरिएको जानकारी दिए।निकुञ्जभित्र रहेका ताल, पोखरी र घाँसेमैदानलाई व्यवस्थित बनाउने निकुञ्जको वार्षिक कार्यक्रमअनुसार काम अगाडि बढाइएको उनले बताए।
मेघौली क्षेत्रका सामुदायिक वनका प्रवेशद्वारलाई शृंगारिएको छ भने निकुञ्ज मुख्यालय कसरामा सरसफाइ र रङरोगन भएको छ। भ्रमण वर्षमा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई स्वागत गर्ने गरी व्यवस्था मिलाइएको छ।
भ्रमण वर्षमा भरतपुर आउने पर्यटक लक्षित निकुञ्जभित्र हुने पर्यटन गतिविधिलाई सहज बनाउने कामलाई तीव्रता दिइएको उनको भनाइ छ। निकुञ्ज जिप तथा हात्ती सफारीको लागि प्रख्यात मानिन्छ।
यस्तै, भरतपुर ६ देवनगरमा रहेको वन्यजन्तु उद्धार केन्द्रमा बाघ राख्न मिल्ने गरी बनाइएको केज निर्माण पूरा भएको निकुञ्जले जनाएको छ।
उद्धार केन्द्रकै कम्पाउन्डमा गैंडा राख्न मिल्ने गरी तारबार अहिले भइरहेको छ। निकुञ्ज घुम्न आउने पर्यटकले पाटेबाघ र गैंडा देख्न नपाए सहज तरिकाबाट देखाउने उद्देश्यले चिडिया घर शैलीमा उद्धार केन्द्र निर्माण गरिएको हो।
निकुञ्जमा समय र परिस्थिति नमिले वन्यजन्तु नदेखि सम्भावना रहन्छ। पर्यटकलाई बाघ र गैँडा देख्न पाइयो भन्ने आभास दिलाउन केभभित्र बाघ राख्ने तयारी गरिएको हो। फागुन पहिलो साता बाघलाई केभमा राख्ने निकुञ्जको तयारी छ।
निकुञ्जले टिकट अनलाइन र डिजिटल बनाउने सम्बन्धमा विभागलाई पत्रचार गरेको छ। भ्रमण वर्षमा पर्यटकको चाप वृद्धि हुने र टिकट काट्न असहज हुने अनुमानका साथ टिकट प्रणालीलाई अनलाइन बनाउने पहल भइरहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिल पुर्जाले जानकारी दिए।