काठमाडौं। बैंक तथा वित्तीय संस्थाको कमजोर वित्तीय विवरण प्रकाशित भइरहेका बेला सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा जलविद्युत् समूहमा पहिरो गएको छ।
साताको दोस्रो दिन सोमबार सबैभन्दा धेरै सेयर मूल्य जलविद्युत् समूहको घटेको छ। यद्यपि, घटेको बजारमा केही कम्पनीको मूल्य बढेको छ। तर, विगतमा जस्तो उत्साह देखिँदैन। सेयर मूल्यमा आएको गिरावटसँगै कारोबार रकममा पनि प्रभाव परेको छ। गत बुधबार पछिल्लो समयकै सबैभन्दा धेरै कारोबार भएको थियो।
त्यस दिन ९ अर्ब ६६ करोडको कारोबार भएको थियो। यद्यपि नेप्से १२ अंकले घटेको थियो। त्यसयता तीन दिनको कारोबारमा सूचक र कारोबार रकम दुवैमा गिरावट आएको छ।
खासगरी आइतबार अधिकांश वित्तीय क्षेत्रका कम्पनीको वित्तीय विवरण प्रकाशित भयो। सेयर बजारमा प्रभाव राख्ने वाणिज्य बैंकको नाफामा १० प्रतिशतभन्दा बढीको गिरावट आयो।
कतिपय बैंकहरुको वितरणयोग्य नाफा ठूलो मात्रामा ऋणात्मक देखियो भने खराब कर्जा अनुपात (एनपिएल) बढेर पाँच प्रतिशत बिन्दु पुग्यो। त्यसको प्रभाव आइतबारको बजारमा पनि प¥यो। विगतमा वाणिज्य बैंक समूह बलियो अवस्थामा रहँदा जलविद्युत् समूहले बजारलाई चलायमान बनाउँथ्यो।
तर, पछिल्लो समय वाणिज्य बैंकको कारोबार घटेको असर समग्र सूचकमा देखिएको छ। बजार घट्दै गएपछि कारोबार रकम पनि खुम्चिन थालेको छ। यसले मंगलबारसम्म निरन्तरता पाउने देखिन्छ।
लगानीकर्तामा सकरात्मक उत्साह देखिँदा र सूचकमा निरन्तर गिरावट आएपछि लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन्। त्यसको प्रभाव सोमबारको सेयर बजारको कारोबार रकम घट्न पुगेको छ। बिहीबार ८ अर्ब कारोबार भएको बजारमा आइतबार ७ अर्ब ६४ करोडको कारोबार भयो भने सोमबार ६ अर्ब २८ करोडको कारोबार भयो।
सोमबार अन्तिम समय बजार केही फर्कन कोसिस गर्दै ३१.४९ अंकले घटेर २ हजार ९८ दशमलव ६९ अंकमा रोकिएको छ। पछिल्लो चार दिनको कारोबार प्रवृत्ति, सूचीकृत कम्पनीको खस्किएको वित्तीय विवरण र लगानीकर्ताले सेयर बिक्रीमा देखाइरहेको आनाकानीले मंगलबार बजार सुरुमा तल ओर्लने र अन्तिम समयतिर केही सुधार हुने संकेत गर्दछ।
यस्तो बेला लगानीकर्ताले सचेततापूर्वक सूचक हेरेर भन्दा आफूलाई उचित लागेको कम्पनीमा लगानी गर्नु उचित हुन्छ। कुरा सबैको सुन्ने, निर्णय आफ्नै लिन सके लगानीकर्ताले धेरै गुमाउनुपर्ने अवस्था आउँदैन।
आज समग्रमा २ सय ९ कम्पनीको सेयर मूल्य घट्दा ३६ कम्पनीको मूल्यमा सामान्य वृद्धि देखिएको छ। घट्ने कम्पनीमध्ये सबैभन्दा धेरै दोर्दीखोला जलविद्युत्को ८.३३ प्रतिशत छ। उच्च १० मूल्य घट्ने कम्पनीमा ८ कम्पनी जलविद्यूत समूहका छन्। सबैभन्दा बढी मूल्य बढ्नेमा पनि जलविद्युत् समूहकै मोलुङ र अपर स्याङ्दी हाइड्रोपावरको ९ प्रतिशतले बढेको छ।