काठमाडौं। खाद्य क्षेत्रको नियामक निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले डिडिसीको बदमासीलाई साथ दिइरहेका बेला वाणिज्य आपूर्ति तथा संरक्षण विभागले कारबाहिको प्रक्रिया अघि बढाउने भएको छ।
डिडिसीले ब्याच नम्बर उल्लेख नगरी आफ्ना उत्पादन बजारमा पठाएपछि गुणस्तर विभागले कारबाही गर्नुपर्ने हो। गुणस्तरको नियमअनुसार ब्याच नम्बर उल्लेख नगरी सामान बजारमा पठाउनै पाइँदैन।
डिडिसीले सूचना नै प्रकाशित गरेर ब्याच बिनाकै सामान बजारमा पठाएको थियो। तर, पछि गुणस्तर विभागले कानुनी कारबाही अघि बढाउन नसकेपछि बदमासी विरुद्ध वाणिज्य आपूर्ति तथा संरक्षण विभागले कारबाहिको प्रक्रिया अघि बढाउने भएको छ।
डिडिसीले दुधको प्याकेटमा ब्याच नम्बर, उत्पादन मिति र मूल्य प्रिन्ट नगरी बजारमा सामान पठाएपछि वाणिज्य विभागले कारबाहिको प्रक्रिया अघि बढाउने भएको हो।
डिडिसीले आफ्नो प्रिन्टर मेसिन बिग्रिएका कारण विवरण नखुलाई बजारमा सामान पठाएको सार्वजनिक सूचना जारी गरेको छ। तर, ‘उपभोक्ता संरक्षण ऐन २०७५ दफा ६’ र ‘खाद्य नियमावली २०२७ को पाँचौं संसोधन, परिच्छेद ६’ अनुसार कुनै पनि वस्तु तथा सामान उत्पादन गर्ने निकायले आफ्नो विवरण नखुलाई बजारमा सामान पठाउन मिल्दैन। साथै सार्वजनिक सूचना जारी गरे पनि विवरण बिनाका उत्पादन बजारमा पठाउन नमिल्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जन र वाणिज्य विभागका महानिर्देशक तीर्थराज चिलुवाल बताउँछन्।
डिडिसीले पुस १८ मा बजारमा गएका दुधका प्याकेटमा विवरण प्रिन्ट नभएको सूचनामा उल्लेख छ। यद्यपि प्रिन्टर मेसिनमा एक दिन मात्रै समस्या आएकाले त्यसपछिका उत्पादनमा विवरण उल्लेख गरेर बजार पठाएको डिडिसीका सहायक सूचना अधिकारी अन्जन अधिकारी बताउँछन्।
तर, वाणिज्य विभागका महानिर्देशक चिलुवाल भने नियम विपरीतको काम डिडिसीले गरेको देखिएकाले कारबाहीको प्रक्रिया अघि बढाउने बताउँछन्। ‘मेरो प्रिन्टरमा समस्या आयो, त्यसैले ब्याच नम्बर, उत्पादन मिति र मूल्य प्रिन्ट गर्न सकिनँ भनेर बजारमा सामान पठाउन पाइदैन’ महानिर्देशक चिलुवाल भन्छन्, ‘प्रिन्टर बिग्रिएपछि बनाउनुपर्छ होइन भने सधैं त्यसरी नै बजारमा पठाउने काम होला वा अरु उत्पादनकर्ताले त्यसै गर्लान्, त्यस्तै नजिर बन्ने जोखिम हुन्छ।’
साथै डिडिसी सरकारी स्वामित्वको संस्थान भनेर मान्ने हो भने पनि अरु व्यवसायले पनि त्यसै गर्न पाउनुपर्छ भन्ने कुरा आउने महानिर्देशकको भनाइ छ। व्यवसाय गर्ने सबैलाई एउटै नियम, कानुन लाग्ने हुँदा डिडिसीलाई कारबाही आवश्यक रहेको वाणिज्य विभागले जनाएको छ।
महानिर्देशक चिलुवाका अनुसार ब्याच नम्बर, उत्पादन मिति र मूल्य प्रिन्ट नभई बजारमा सामान पठाउनुलाई उपभोक्ता हित विपरीतको कार्य मानिन्छ। महानिर्देशक चिलुवालले भन्छन् ‘पुस १८ को कुरा क्यापिटल नेपालको समाचार हेरेपछि मात्रै थाहा पायौं, यसमा अविलम्ब कारबाहीको प्रक्रिया सुरु गर्छौं। मैले विभागका साथीहरुलाई डिडिसीको विषयमा हेर्नु भनिसकेको छु।’
वाणिज्य विभागले गुनासो एवं सूचना पाएमा जुनसुकै समयमा बजार अनुगमन गर्छ। तर, विभाग आफैंले भने ३ वा ६ महिनाको फरकमा बजार अनुगमन गर्ने महानिर्देशकको भनाइ छ। पछिल्लो समय तिहार पछि एक पटक अनुगमन गरेको विभागले फेरि अनुगमन गरेको छैन।
प्रिन्टरको समस्या समाधान भएपनि डिडिसीको वेबसाइटमा राखिएको सार्वजनिक सूचना १८ दिन बित्दा पनि परिवर्तन गरिएको छैन। साथै डिडिसीका सहायक सूचना अधिकारी अन्जनका अनुसार खाद्य विभागलाई आफ्नो प्रिन्टरको समस्या जानकारी गराएको साथै राष्ट्रिय पत्रिकामा पनि सूचना जारी गरेर बजारमा सामान पठाएको दाबी गरेका छन्।
तर, खाद्य विभागका प्रवक्ता महर्जन डिडिसीबाट विभागमा कुनै सूचना नआएको र सूचना आए पनि विवरण नखुलाई बजारमा सामान पठाउन नमिल्ने बताउँछन्। यद्यपि खाद्य विभागले विवरण नखुलेका सामान नभेटाएको प्रवक्ता महर्जनको भनाइ छ। तर, वेबसाइटमा राखेको सूचनासँग भने खाद्य विभागको सरोकार नहुने प्रवक्ताले बताए।