एजेन्सी। जनवरी २२ अर्थात् सोमबार भारतको अयोध्यामा निर्माण भएको राम मन्दिरको औपचारिक उद्घाटन हुँदैछ। सोमबार उद्घाटन भएपछि मंगलबारबाट यो मन्दिर सर्वसाधारणका लागि खुला गरिनेछ। यस मन्दिरको उद्घाटन सोमबार भएपनि पूर्णरुपमा निर्माण कार्य भने सन् २०२५ मा सकिने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
सन् २०२० फेब्रुअरी ५ बाट निर्माण कार्य सुरु भएको यस मन्दिरमा २०२३ मार्च ३१ सम्म आईपुग्दा ९०० करोड भारतीय रुपैयाँ खर्च भइसकेको छ। रामजन्मभूमि तीर्थ क्षेत्र ट्रस्टले सुरुमा राम मन्दिर निर्माणका लागि १८०० करोड भारतीय रुपैयाँ लागत लाग्ने अनुमान गरेको थियो। यस लागतमा मन्दिरको निर्माण लागत, सामग्री, मेसिनरी, श्रम र अन्य प्रशासनिक लागतसमेत समावेश गरिएको थियो।
तर, यहि तथ्यांक अन्तिम भने होइन। एक प्रतिवेदनले राम मन्दिर निर्माणका लागि ३२०० करोड भारतीय रुपैयाँ लाग्ने सक्ने देखाएको छ। मन्दिर निर्माणका लागि दानको रुपमा हालसम्म ठुलो रकम प्राप्त भइसकेको छ।
रामजन्मभूमि तीर्थ क्षेत्र कोषका अनुसार रामभक्तहरूले मन्दिर निर्माणका लागि सोचेभन्दा बढी रकम दान गरेका छन्, जसमा सबैभन्दा बढी दान प्रसिद्ध रामकथा वाचक मोरारी बापु (अयोध्या राम मन्दिर) ले दिएको उल्लेख छ।
भारतीय सञ्चारमाध्यमका अनुसार राम मन्दिर निर्माणका लागि हालसम्म विश्वभरबाट ५५०० करोड भारतीय रुपैयाँ चन्दा आएको संकलन भएको छ। राम मन्दिर ट्रस्टले जनताबाट ९०० करोड भारतीय रुपैयाँ उठाउने लक्ष्य राखेको थियो। रामजन्मभूमि तीर्थ क्षेत्र ट्रस्टको वेवसाइटमा दिइएको जानकारी अनुसार मोरारी बापु एक्लैले ११.३ करोड भारतीय रुपैयाँ चन्दा दिएका छन्।
अमेरिका, क्यानडा र बेलायतमा रामचरितमानसका प्रचारक तथा गुजरातका प्रसिद्ध रामकथा वाचक मोरारी बापुका अनुयायीले ८ करोड रुपैयाँ छुट्टै दान गरेको उल्लेख छ। यस मन्दिरको आयु कम्तीमा एक हजार वर्षको रहनेछ। मन्दिर निर्माणमा फलामको प्रयोग नगरेर ग्रेनाइट पत्थरको प्रयोग गरिएको छ।
प्राचीन नागर शैलीमा बनाइएको मुख्य मन्दिर ५७ हजार ४ सय वर्गफिट क्षेत्रमा बनेको छ। यसको लम्बाइ ३ सय ८० फिट र चौडाइ २ सय ५० फिट छ। मन्दिरको शिखर १ सय ६१ फिट उचाइँको छ। मन्दिरमा ३ सय ९२ वटा पिलर र ४४ वटा ढोकाहरू रहेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्।
मन्दिरका पिलर र ढोकाहरूमा विभिन्न भगवान्का मूर्तिहरू कोरिएका छन्। मन्दिर क्षेत्रको ७० एकडमध्ये ३० प्रतिशत क्षेत्रमा मात्रै भौतिक संरचनाको निर्माण गरिनेछ भने बाँकी क्षेत्र हरियाली रहनेछ। मन्दिर निर्माणलाई तीन चरणमा बाँडिएको छ । मन्दिरको गर्भगृहमा रामको मूर्ति र पहिलो तलामा रामको दरबार हुनेछ।
मन्दिरमा पाँचवटा मण्डप तयार हुनेछ जसमा नृत्य मण्डप, रंग मण्डप, सभा मण्डप, प्रार्थना मण्डप र कीर्तन मण्डप रहने उल्लेख गरिएको छ।