काठमाडौं। नेपालमा विद्युतीय सवारी साधनको आक्रामक रुपमा बजार विस्तार भएको छ। पछिल्लो ६ महिनामा १२ अर्व २३ करोड ४४ लाख रुपैयाँको ८ हजार ७ सय ७४ साना ठूला सवारी साधन (दुई पाङ्ग्रेसमेत) आयात भएको छ।
त्यसमध्ये ११ अर्ब ८१ करोड ३८ लाख २४ हजार रुपैयाँको ५ हजार १ सय ७ वटा कार, जिप, भ्यान आयात भएको छ भने ४२ करोड ५ लाख ८७ हजारको ३ हजार ६ सय ६७ वटा स्कुटर (दुईपांग्रे विद्युतीय सवारी साधन) आयात भएको छ।
भन्सार विभागको तथ्याङ्क अनुसार चालु अर्थिक वर्षको पहिलो ६ महिनामा विद्युतीय सवारीसाधनबाट ५ अर्व ८० करोड ७६ लाख ४६ हजार रुपैयाँ राजस्व प्राप्त गरेको छ।
त्यसमध्ये जिप, कार र भ्यान आयात हुँदा ५ अर्ब ६७ करोड ३५ लाख ३६ हजार र स्कुटरबाट १३ करोड ४१ लाख १० हजार रुपैयाँ राजश्व संकलन गरेको छ। सरकारले चालू बजेटबाट ५० किलोवाट देखी १०० किलोवाट क्षमताका सवारीसाधनमा कर बढाएर त्यसभन्दा बढी क्षमताका सवारीसाधनमा कर घटाएको थियो।
जसका कारण बढी किलोवाट क्षमता सवारीसाधन भित्रिन हौसला मिलेको थियो। त्यसैको परिणाम चालू वर्षमा गत वर्षको भन्दा ३ गुणा कार, जिप, भ्यानको आयात बढेको छ। आर्थिक वर्ष २०७९÷८० मा १ हजार ७ सय ७९ वटा विद्युतीय कार, जिप र भ्यान आयात भएको थियो।
नाडा अटोमोवाइल एशोसियसन अफ नेपालका वरिष्ठ उपाध्यक्ष आकाश गोल्छाकाअनुसार अघिल्लो आर्थिक वर्ष सोच बनाएर विद्युतीय गाडी नकिनेकाहरुले चालू वर्ष किनेका कारण आयात धेरै देखिएको हो।
‘इभीको आयात बढेको अवस्य छ। तर अघिल्लो वर्ष एक सय किलोवाट माथीका गाडीमा कर धेरै भएका कारण धेरै ग्राहक होल्डमा हुनुहुन्थ्यो। बजेटपछि ठुला इभीको कर घटेका कारण होल्ड भएका ग्राहकले पनि गाडी किन्नु भयो। त्यसकारण यो पटक इभी धेरै आयात भएको हो,’ गोल्छाले भने, ‘सरकारले केही समय कर हेरफेर गर्नु हुँदैन। बढाउनै परेपनि थोरैमात्र बढाउनु पर्छ। यदी इभीमा धेरै कर लगाइयो भने महंगो भएका कारण फेरी परिस्थिति बदलिन सक्छ।’
सरकारले इभीसगैँ आईसिई इन्जिन (डिजेल÷पेट्रोल)का गाडीलाई पनि प्रोत्साहन गर्नुपर्ने गोल्छाको तर्क छ। ‘नेपालमा गाडीमा २ सय ५० देखि ३०० प्रतिशत कर लाग्छ। त्यसलाई केही घटाउन वा सहुलियत दिन सकियो भने यी गाडीको पनि आयात बढ्छ र सरकारको राजश्व पनि बृद्धी हुन्छ,’ उनले भने, ‘आइसिई इन्जिनका गाडी किन्नेका लागि ८० प्रतिशत फाइनान्सिङको व्यवस्था गरि सवारीसाधनको जोखिम भार पनि घटाउनु पर्छ।’
अहिले ग्राहकले इभि मा धेरै अप्सन पाउनु भएको छ।त्यही भएर पनि इभि ग्राहकको रोजाइमा परेको हो। पहिले १०० किलोवाट भन्दा बढिको इभिको बिक्री उच्च थियो। कर बढेपछी यसको ब्यापारमा गिरावट आयो। पछिल्लो बजेट पछि १०० किलोवाट भन्दा माथी र तल दुबै गाडि अघिल्लो आर्थिक बर्ष को अन्त्य र यो बर्ष गरि इभिको व्यापार बढेको हो।
अहिले विद्युतीय सवारीसाधनमा बैंकहरुले ८० प्रतिशतसम्म ऋण दिएपनि आईसिई इन्जिनमा भने मूल्यको ५० प्रतिशतसम्म मात्रै ऋण दिने गर्दछन्। त्यसैगरि विद्युतीय सवारीसाधनको भन्दा आईसिई इन्जिनको जोखिमभार बढी छ।
आयातित् विद्युतिय सवारीसाधनमध्ये अधिकांस चिन, भारत, इन्डोनेसिया, दक्षिण कोरिया, जर्मनी र अमेरिकाबाट भित्रिएका हुन्। तर, सबैभन्दा बढी विद्युतीय गाडी चिनबाट आयात भएको छ। पुससम्म चिनबाट मात्रै ३ हजार १ सय २१ वटा विद्युतीय गाडी भएको छ भने भारतवटा १ हजार ९ सय २२ वटा आयात भएको छ।
त्यसैगरी आर्थिक वर्ष २०७८÷७९ १ हजार १ सय ३, आर्थिक वर्ष २०७७÷७८मा ५१ र आर्थिक वर्ष २०७६÷७७ मा १ हजार ४ सय ३३ वटा विद्युतीय कार, जिप र भ्यान आयात भएको थियो।
बिवाईडीका लागि नेपालको आधिकारिक वितरक साइमेक्स इंककी निर्देशक यमुना श्रेष्ठले ग्राहकको रोजाई अनुसार विद्युतीय सवारी साधन आएका कारण विद्युतीय सवारी साधनको आयात बढेको बताइन। ‘पछिल्लो समय धेरै ब्राण्ड÷प्रकारका गाडी आइरहेका छन्। ग्राहकले रोजे अनुसारको विद्युतीय गाडी किन्न पाए। त्यसकारण यसको आयात बढेको हो,’ श्रेष्ठले भनिन्।
श्रेष्ठले ‘नाडा अटो शो’का कारण विद्युतीय सवारी साधनको बजारमा उछाल आएको बताइन। ‘अटो शोमा धेरै गाडी बुकिङ भए र ती गाडी नेपाल भित्रिएपछि आयात बढेको हो,’ उनले भनिन्।
पछिल्लो ५ वर्षमा विद्युतीय कार, जिप र भ्यान आयातको स्थिति