काठमाडौं। मुलुक आर्थिक मन्दीमा रहेको संकेत बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरणले गरेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा प्रकाशित अपरिस्कृत वित्तीय विवरणअनुसार अधिकांश वाणिज्य बैंकहरुको वित्तीय स्थीति खस्किएको छ।
सञ्चालनमा रहेका २० बैंकमध्ये ८ वटाले मात्रै सेयरधनीलाई प्रतिफल दिने क्षमता सहतिको वित्तीय विवरण प्रकाशित गरेका छन्। चालु वर्षको ६ महिनाको वित्तीय विवरणअनुसार स्ट्याण्डर्ड चार्टर्ड, नबिल, एभरेष्ट, कृषि विकास, सानिमा, नेपाल एसबिआइ, राष्ट्रिय वाणिज्य र प्राइम बैंकको मात्रै वितरण योग्य नाफा सकारात्मक छ।
चालु वर्षको ६ महिनामा सबैभन्दा बढी वितरण योग्य नाफा स्ट्याण्डर्ड चार्टर्डको १ अर्ब १३ करोड, दोस्रोमा नबिलको १ अर्ब ८ करोड, तेस्रोमा एभरेष्टको ९९ करोड ३१ लाख र चौथोमा कृषि विकास बैंकको ७५ करोड २१ लाख रुपैयाँ रहेको छ। साथै, सानिमा बैंक ६५ करोड १४ लाख, नेपाल एसबिआइ बैंकको ४९ करोड ५५ लाख, राष्ट्रिय वाणिज्य बैंकको ४० करोड ६२ लाख रुपैयाँ र प्राइम कर्मसियल बैंकको ६ करोड ४१ लाख रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेका हुन्।
चालु वर्षको दोस्रो त्रैमासको वित्तीय विवरणअनुसार १२ वटा बैंकको वितरण योग्य नाफा नकारात्मक छ। वितरण योग्य नाफा नकारात्मक रहेका बैंकहरुले उक्त अवधीको नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने क्षमता राख्दैनन्। यद्यपी लाभांश भने आगामी असारको वित्तीय विवरणको आधारमा अर्को वर्षमात्रै दिन सक्छन्।
तर, चालु वर्षको ६ महिनाको परिवेशले भने बैंकहरुको अवस्था राम्रो नभएको देखाएको हो। उक्त अवधीमा वितरण योग्य नाफा नकारात्मक भएर सेयरधनीलाई लाभांश दिन नसक्नेमात्रै नभएर अन्य सुचांकहरुको मूल्यांकनले पनि आगामी असार मसन्तसम्म अधिकांश बैंकको वित्तीय विवरण नकारत्मक हुने देखिन्छ।
अझ कतिपय बैंकको पुँजी कोष तोकिएको भन्दा तल झर्ने र खराब कर्जा अनुपात माथिल्लो सीमा पार गर्ने परिस्थीतिले लाभांश क्षमता भएको संख्या आगामी दिनमा झनै खुम्च्याउने छ। तर, चालु बर्षको बाँकी ६ महिनामा बैंकहरुले कडा मेहनत गरेर ऋण असुलीलाई तिव्रता दिए भने नाफा बढी निकाल्ने अवसर भने अझै छ।
बैंकहरुको वित्तीय विवरणअनुसार १२ वटा बैंकको खुद नाफा आर्जन सकारात्मक भएपनि सेयरधनीलाई वितरण गर्न मिल्ने वितरण योग्य नाफा भने नकारात्मक छ। चालु वर्षको ६ महिनामा हिमालयन, लक्ष्मी सनराइज, सिद्धार्थ, सिटिजन्स, नेपाल इन्भेष्टमेन्ट मेगा र कुमारी बैंकको वितरण योग्य नाफा नकारात्मक छ। साथै, उक्त अवधिमा माछापुच्छ्रे, ग्लोबल आइएमई, प्रभु, एनआइसी एशिया र नेपाल बैंकको वितरण योग्य नाफा नकारात्मक छ।
चालु वर्षको ६ महिनामा वाणिज्य बैंकहरुले कुल २८ अर्ब ७६ करोड रुपैयाँ खुद नाफा आर्जन गर्दा औषतमा वितरण योग्य नाफा भने ४७ करोड ९ अर्ब ५९ करोड १९ लाख रुपैयाँ नकारात्मक छ। गत वर्षको दोस्रो त्रैमासको तुलनामा वाणिज्य बैंकहरुको खुद नाफा औषतमा १० प्रतिशतले र वितरण योग्य नाफा औषतमा १ सय ४८.६० प्रतिशतले घटेको हो।
गत वर्षको ६ महिनामा वाणिज्य बैंकहरुको खुद नाफा कुल ३१ अर्ब ९४ करोड रुपैयाँ र विरण योग्य नाफा कुल १९ अर्ब ७३ करोड रुपैयाँ थियो। वाणिज्य बैंकहरुको वितरण योग्य नाफामा सरकारलाई एफपिओ वापतको कर तिर्नु पर्दा पनि नकारात्मक असर पर्न गएको हो।