काठमाडौं। वैद्यज अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड ट्रेडिङ हाउसेज (भोइथ)ले इलेक्ट्रिक स्कुटर नेपाल भित्र्याउँदै गर्दा नेपाली बजारमा रहेका अन्य इलेक्ट्रिक स्कुटर ब्रान्डलाई आफ्नो अस्तित्व जोगाउनै हम्मे थियो।
कति आयातकर्ताले स्कुटर आयात छाडिसकेका थिए भने कतिपयले औंलामा गन्न सक्ने पनि ल्याउन सकेका थिएनन्। यस्तो प्रतिकूल समय दुईपांग्रे इभीमा हात हालेको भोइथले अहिले यसको बजारलाई नयाँ आशा जगाएको छ।
गत नोभेम्बर ५ अर्थात् ७५ दिनअघि आफ्नो पहिलो सोरुम खोलेको कम्पनीले शनिबार ललितपुरको झम्सीखेलमा प्रिमियम सोरुम सञ्चालनमा ल्याएको छ। कम्पनीले आगामी जुलाईभित्र भक्तपुर र बौद्धमा सोरुम सञ्चालनको तयारी थालेको छ।
भोइथ सोरुममा मात्र सीमित छैन। कम्पनीले गत साता तिनकुनेमा सुविधासम्पन्न सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ भने ग्राहक प्रतिक्रिया र अनुभवका लागि काठमाडौंदेखि धुलिखेलसम्मको कम्युनिटी राइड पनि सम्पन्न गरिसकेको छ।
वैद्य इनर्जीले हालसम्म नक्साल, तिनकुने, झम्सीखेल र भैंसेपाटी गरी ४ ठाउँमा चर्जिङ स्टेसन बनाइसकेको छ भने अन्य ६ ठाउँमा केही महिनामै राख्दै छ।
आगामी फेब्रुअरी १५ भित्र काठमाडौं उपत्यकाभित्र १० वटा चार्जिङ स्टेसन राख्ने तयारी भइरहेको वैद्य इनर्जीका नेटवर्क डेभलपमेन्ट हेड प्रदीप अधिकारीले जानकारी दिए।
मध्यम दूरीमा यात्रा सहज होस् भन्ने उद्देश्यले कम्पनीले राजमार्गमा पनि चार्जिङ स्टेसन राख्ने तयारी गरिरहेको उनको भनाइ छ। वैद्य इनजीले आफ्नो नेटवर्क देशैभर फैलाउने तयारी गरिरहेको अधिकारीले बताए।
‘हामी यो वर्षभित्र पोखरा, नारायणगढ, इटहरी, बुटवल, धनगढी, भैरहवालगायत देशका प्रमुख १० शहरमा सोरुम र चार्जिङ स्थापना गर्दै छौं,’उनले भने। उपत्यकाभित्र कम्पनी सोरुम मात्र राखेको वैद्य इनर्जीले उपत्यकाबाहिर भने डिलरसिप मोडलमा जाने तयारी गरेको छ।
पहिलो चरणमा यो वर्ष १० वटा सोरुम र ३० वटा चार्जिङ स्टेसन राख्ने तयारी भए पनि आवश्यकताअनुसार यसलाई बढाउँदै लगिने अधिकारी सुनाउँछन्।
‘यो हाम्रो सुरुआती काम हो। पछि पर्याप्त सर्भिस सेन्टर र प्रत्येक २० स्कुटरमा एउटा चार्जिङ स्टेसन हुने गरी व्यवस्थापन मिलाउँछौं,’ उनले क्यापिटल नेपालसँग भने।
हाल नेपाली बजारमा एथर ४५० एक्सका दुई भेरियन्ट उपलब्ध छन्। २.९ किलोवाट आवरको ब्याट्री जडान गरिएको भेरियन्टले फुल चार्जमा १ सय ११ किलोमिटर रेन्ज दिन्छ भने यसको फुल स्पिड ९० किलोमिटर प्रतिघन्टा छ। यो ३.३ सेकेन्डमा शून्यदेखि ४० किलोमिटर प्रतिघन्टाको गतिमा कुद्न सक्छ।
त्यस्तै, ३.७ किलोवाट आवर ब्याट्री क्षमता भएको भेरियन्टले फुल चार्जमा १ सय ५० किलोमिटर रेन्ज दिन्छ। ९० किलोमिटर प्रतिघन्टा टप स्पिड भएको यो स्कुटर ३.३ सेकेन्डमा शून्यदेखि ४० किलोमिटर प्रतिघन्टाको गतिमा कुद्न सक्छ।
अत्याधुनिक डिजिटल सिस्टममा बनाइएका यी स्कुटरमा ७ इन्चको टच स्क्रिन डिस्प्ले छ। यसको मद्दतमा चालकले सजिलैसँग फोन कल गर्न, गीत सुन्न, गुगल म्याप प्रयोगलगायत काम गर्न सक्छ। त्यस्तै, यसमा हिल होल्ड एसिस्ट, रिभर्स गियरलगायत फिचर छन्।
यो वर्षभित्रै कम्पनीले ४५० एस, एपेक्स ४५० एक्स र फेमेली स्कुटर ल्याउने तयारी गरेको छ।
कम्पनीले सबै स्कुटर ब्याट्रीमा ५ वर्ष वारेन्टी दिएको छ। ५ वर्षमा ब्याट्रीको हेल्थ ७० प्रतिशत कम भए कम्पनीले ब्याट्री नै नयाँ बदलिदिने अधिकारीले जानकारी दिए। त्यसैगरी मोटर, चार्जर, ड्यासबोर्डमा ३ वर्षे र प्रत्येक मेकानिकल पार्टमा १ वर्षे वारेन्टी रहेको कम्पनीले बताएको छ।