काठमाडौं। आन्तरिक उडानका वायुसेवाप्रदायकलाई जहाजको रात्रि बिसौनी काठमाडौंबाहिरका विमानस्थलमा गराउने एक वर्षअघिको निर्णय कार्यान्वयनमा कडाइ गरिने भएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन एक वर्षअघि यस्तो निर्णय गरिए पनि आन्तरिक उडानका कम्पनीले विभिन्न वहानामा निर्णय कार्यान्वयनमा आलटाल गर्दै आएका थिए। तर, त्रिभुवन विमानस्थल प्रशासनले वर्ष दिनअघिको निर्णयलाई कडाइसाथ लागू गराउने भएको छ।
सुरुमा वायुसेवा कम्पनीले काठमाडौंबाहिरका विमानस्थलमा जहाज राखेर काठमाडौंका लागि पहिलो उडान सञ्चालन गर्दै आइरहेका थिए।, तर, पछिल्लो समय आन्तरिक उडानका कम्पनीले प्राविधिक, मौसमलगायत कारण देखाएर काठमाडौंमै रात्रि बिसौनी बनाएपछि विमानस्थले पुनः कडाइ गर्ने भएको हो।
नेपाल नागरिक उड्डयन प्राधिकरणले गत वर्ष नै काठमाडौं ‘बेस’ भएर उडान गरिरहेका वायुसेवा कम्पनीलाई काठमाडौंमा रात्रि बिसौनी नगरी बाहिरका विमानस्थलमा लैजान निर्देशन दिएको थियो।
अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रि बिसौनी नगर्न वायुसेवा कम्पनीलाई दिएको निर्देशन कार्यान्वयनमा कडाइ गर्न लागिएको विमानस्थल कार्यालयले जनाएको छ। कतिपय एयरलाइन्सले तोकेको ‘बेस’मा जहाज रात्रि बिसौनी नगरी विभिन्न कारण देखाउँदै काठमाडौंमा भीडभाड हुन थालेपछि थप कडाइ गर्न लागिएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले बताए।
‘आन्तरिक उडानका कम्पनीका जहाजलाई विभिन्न ‘बेस’ तोकिएको छ। सोहीअनुसार उनीहरुले जहाज काठमाडौंबाहिर रात्रि बिसौनीमा राख्नुपर्छ। अब एक वर्षअघिको निर्णय कार्यान्वयन गर्छौं’, उनले भने।
सुरुमा वायुसेवा कम्पनीले काठमाडौंबाहिरका विमानस्थलमा जहाज राखेर काठमाडौंका लागि पहिलो उडान सञ्चालन गर्दै आइरहेका थिए।, तर, पछिल्लो समय आन्तरिक उडानका कम्पनीले प्राविधिक, मौसमलगायत कारण देखाएर काठमाडौंमै रात्रि बिसौनी बनाएपछि विमानस्थले पुनः कडाइ गर्ने भएको हो।
विमानस्थल कार्यालयले काठमाडौंबाहिरका नेपालगञ्ज, धनगढी, चन्द्रगढी, पोखरा, भैरहवा, विराटनगर, भरतपुर विमानस्थलमा आन्तरिक वायुसेवा कम्पनीका जहाज रात्रि बिसौनीका लागि राख्न ठाउँ तोकेको छ।
उडान चाप व्यवस्थापन र जहाज पार्किङको जोखिम पनि कम हुने भएकाले काठमाडौंबाहिरका विमानस्थलमा रात्रि बिसौनी निर्णयलाई कडाइ गर्न लागिएको तिवारीको भनाइ छ।
प्राधिकरणको निर्णयअनुसार निजी क्षेत्रका बुद्ध एयरको ६, यती एयरलाइन्स र श्री एयरलाइन्सको समान दुई तथा सौर्य, सीता, तारा एयरका समान एक–एक जहाजले मात्रै काठमाडौं विमानस्थलमा रात्रि बिसौनी गर्न पाइने निर्णय भएको थियो।