काठमाडौं। गत साताको अन्तिम कारोबार दिन धितोपत्र दोस्रो बजारको कुल पुँजीकरण ३३ खर्ब ८६ अर्ब ३ करोड बढी कायम भएकामा यो साता ३४ खर्ब नजिक पुगेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अघिल्लो साताको तुलनामा गत साता कुल बजार पुँजीकरण १ खर्ब ४ अर्ब ९६ करोड रुपैयाँ बढेको हो।
१ हजार ८३० बिन्दुमा झरेर उकालो लागेको धितोपत्र दोस्रो बजार यतिबेला २ हजार १५५.८२ बिन्दुमा अडिएको छ। गत साताको सेयर बजार चार कारोबार दिन मात्र खुला भएकामा दुई दिन नेप्से परिसूचकमा वृद्धि देखिएको थियो भने दुई दिन घटेको हो।
नेप्से तथ्यांकअनुसार पहिलो कारोबार दिन ३१.६२, दोस्रो दिन ५४.५४ अंक बढेको सेयर बजार त्यसपछिका दुई दिन निरन्तर घटेको छ। तेस्रो कारोबार दिन १२.१० अंक र चौथो तथा अन्तिम कारोबार दिन ७.२४ अंकले बजार घटेको छ। अघिल्लो साताको तुलनामा गत साता बजार मापक नेप्से परिसूचक ३.२० प्रतिशत अर्थात् ६६.८३ अंक माथि उक्लिएको हो।
बजारमा उतारचढाव कायमै रहे पनि कारोबार रकमले भने उचाइ छोएको छ। पछिल्लो कारोबार दिन दैनिक ९ अर्ब ७६ करोड बढीको धितोपत्र कारोबार भएको छ। नेप्सेमा माघ ३ मा भएको कारोबार रकम पछिल्लो २९ महिनायताकै उच्च हो।
नयाँ लगानीकर्ताको प्रवेश दोस्रो बजारमा बढिरहेकाले आगामी दिनमा बजार थप भरिभराउ हुने यस क्षेत्रका विज्ञ बताउँछन्। धितोपत्रमा भएको लगानी मूल्य बढेसँगै सेयर धितो कर्जा थप्ने लगानीकर्ताको संख्या क्रमशः फराकिलो हुँदै गएको बैंक तथा वित्तीय संस्थाको भनाइ छ।
चार कारोबार दिनमा ३१ अर्ब ४१ करोड ८२ लाख बढीको ९ करोड ४६ लाख २६ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको छ। अघिल्लो साताको तुलनामा गत साता कारोबार रकम ५ अर्ब ९४ करोड बढी र कारोबार कित्ता १ करोड २० लाख ८८ हजार बढी भएको हो।
गत साता ७ अर्ब ८५ करोड बढीको २ करोड ३६ लाख ५६ हजार बढी कित्ता धितोपत्र कारोबार भएको छ। गत साता अन्य समूहको परिसूचक सर्वाधिक ८.९३ प्रतिशत बढेको छ भने होटल तथा पर्यटन समूहको परिसूचक १.८३ प्रतिशत र व्यापारिक समूहको परिसूचक १.३४ प्रतिशत घटेको छ।
यो साता कारोबार अवधिमा सेयर बजार २२ सय बिन्दु नाघ्न सफल भयो। यो साता कारोबारले ३१ अर्ब नाघेको छ, जुन पछिल्लो दुई वर्षमा पहिलो हो। गत साता २०८८.९९ विन्दुमा बन्द भएको बजार यो साता ६६.८३ अंकले बढेर २१५५.८२ बिन्दुमा पुगेको हो। गत साता पाँच दिन खुलेको कारोबार यो साता चार दिनमा खुम्चिँदासमेत कारोबार रकम झन्डै ७ अर्बले बढेको हो।
यो साता हिमालयन रि–इन्स्योरेन्स कम्पनीको सर्वाधिक कारोबार भएको छ। यो साता कम्पनीको २ अर्ब ४८ करोडको सेयर किनबेच भएको हो।