चितवन। भरतपुर भ्रमण वर्ष २०२४ घोषणा भएसँगै चितवनमा पर्यटकीय पूर्वाधार निर्माण क्रम बढेको छ। भ्रमण वर्षमा यहाँ आउने स्वदेशी तथा विदेशी पर्यटकलाई खाना, बस्न, पर्यटकीय स्थल घुमाउन र संस्कृति देखाउन भरतपुरबासी तयारी अवस्थामा बसेका छन्।
भ्रमण वर्षमा यहाँको रैथाने खाना पस्कन भरतपुरबासीले आवश्यक वस्तुको उचित भण्डारण गरिराखेका छन्। भरतपुर–२४ का स्थानीय नवीन श्रेष्ठले पर्यटकलाई कोदो र फापरको रोटी, गहतको दाल र पिँडालुको तरकारी पस्कन खाद्यान्न प्रशोधन गरी भण्डार गरेको बताए।
यस्तै, भरतपुर २८ गोलाघाटका सानु चौधरीले ३ सय वटा हाँसको चल्ला पाल्न सुरु गरेको जानकारी दिए। एक दिनमा १०० जना पर्यटकलाई पुग्ने गरी घुंगीको सेट पस्कन सक्ने गरी तयारी पनि गरेको उनको भनाइ छ।
भ्रमण वर्षमा आउने पर्यटकलाई राख्ने गरी पछिल्लो समय चितवनमा दर्जनौं होमस्टे खुलेका छन्। दर्जनौ होमस्टे थप भएसँगै महानगरको मेघौली गोलाघाट, पटिहानी जगतपुरलगायत पर्यटकीय गन्तव्यमा करिब २०० बेड क्षमताको होमस्टेमा आवस सुविधा रहेको छ।
भरतपुर महानगरमा दैनिक ७ हजार पर्यटकलाई आवास सुविधा दिन सकिने व्यवस्था छ भने गैंडाकोटा र सौराहालाई समेट्दा १५ हजार ७ सय पर्यटक राख्न सकिने तथ्यांक छ।
भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गरी भरतपुरमा जिप सफारीको संख्या वृद्धि गरिएको छ। पर्यटकको मुख्य रोजाइ जंगल सफारी हुने अनुमानका साथ जिप सफारी गाडी थप गरिएको हो।
भरतपुर महानगरका पर्यटन विज्ञ सल्लाहकार विश्वराज सुवेदीले यसअघि एक दर्जन मात्र जिप सफारी रहेकामा अहिले तेब्बर जिप थप गरिएको बताए।
जिप सफारी गर्न चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरबाट प्रवेश गर्ने व्यवस्था रहेको छ। भरतपुरका राप्ती र नारायणी नदीको तटिय क्षेत्रमा बनेका होटलले आफ्नै जिप सफारी सञ्चालन गर्दै आएका छन् भने अब जिप सफारीको छुट्टै व्यवस्था गर्न लागिएको छ।
कसराबाट १ घन्टादेखि ४ घन्टासम्म जिप सफारी प्याकेज रहेको छ। यस्तै, राप्ती तथा नारायणीमा डुंगा थप गर्ने तयारी भइरहेको पर्यटन विज्ञ सुवेदीले जानकारी दिए।
भरतपुरमा वार्षिक ३० हजार बाह्य पर्यटक आउने तथ्यांक रहेकामा भ्रमण वर्ष २०२४ मा २ लाख बाह्य पर्यटक र ५ लाख आन्तरिक पर्यटक भित्र्याउने महानगरले लक्ष्य लिएको छ।
यहाँ विशेषगरी चितवन राष्ट्रिय निकुञ्ज अवलोकन, हात्ती सफारी र जिप सफारीका लागि पर्यटक आउने गरेका छन्। भ्रमण वर्षमा पर्यटकलाई बाघ देखाउने गरी भरतपुर–६ देवनगरमा बाघ केज निर्माण भईसेको छ।
अबको केही दिनमा चितवन राष्ट्रिय निकुञ्जको उद्धार केन्द्रमा रहेको बाघलाई यहाँ स्थानान्तरण गर्न लागिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिल पुर्जाले जानकारी दिए। यही स्थानमा गैँडा पनि राख्न मिल्ने गरी तारबारको काम पनि अघि बढाइएको छ।