काठमाडौं। तेस्रो लगानी सम्मेलन निर्देशक समितिको दोस्रो बैठक अर्थमन्त्री डा. प्रकाशशरण महतको संयोजकत्वमा शुक्रबार सम्पन्न भएको छ।
बैठकमा अर्थमन्त्री महतले आगामी वैशाख १६ र १७ तद्अनुसार अप्रिल २८ र २९ मा काठमाडौंमा आयोजना हुने लगानी सम्मेलनका लागि नीतिगत, कानुनी एवं प्रक्रियागत सुधार र परियोजना तयारीलाई तीव्रता दिन विशेष निर्देशन दिए।
त्यस्तै, उनले लगानी सम्मेलनले विदेशी लगानीकर्ताका साथै गैरआवासीय नेपाली र स्वदेशी निजी क्षेत्रको लगानी आकर्षणलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै सम्भाव्य विदेशी लगानीकर्ता तथा परियोजना पहिचान गरी सुझाव प्रस्तुत गर्न निजी क्षेत्रलाई आह्वान गरे।
आगामी लगानी सम्मेलन निजी क्षेत्र तथा विकास साझेदारसँगको सहकार्यमा सरकारले आयोजना गर्न लागेको हो। बैठकमा लगानी सम्मेलन सचिवालयका संयोजक एवं लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले हालसम्म भएका तयारीबारे संक्षिप्त प्रस्तुतीकरण गरेका थिए।
लगानी सम्मेलन आयोजना गर्न सरकारले अर्थमन्त्रीको संयोजकत्वमा निर्देशक समिति, मुख्य सचिवको नेतृत्वमा कार्यान्वयन समिति, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको संयोजकत्वमा प्राविधिक समिति र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा सचिवालय गठन गरी काम अगाडि बढाएको छ।
नीतिगत, प्रक्रियागत र कानुनी सुधारका लागि प्रधानमन्त्री कार्यालयका सचिव(आर्थिक पूर्वाधार महाशाखा) को संयोजकत्वमा कार्यदल गठन भएको छ। यी सबै समिति र कार्यदलले आ–आफ्नो क्षेत्रमा सक्रियतापूर्वक कार्य गरिरहेका छन्।
आजको निर्देशक समिति बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति; ऊर्जा, जलस्रोत तथा सिंचाई;वन तथा वातावरण; संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र सहरी विकास मन्त्रालयका मन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्यसचिव तथा विभिन्न मन्त्रालयका सचिव, राष्ट्र बैंकका डेपुटी गभर्नर तथा निजी क्षेत्रका छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष सहभागी थिए।